भियतनाममा छनोट प्रतियोगिता पार गरेर स्थान बनाएको नेपाली पब्जी टोलीले २०औँ एसियाली खेलुकद प्रतियोगिता (एसियाड) गुमाउने भएको छ । आगामी २ असोजमा जापानको नागोया र आइचीमा एसियाड हुँदै छ । नेपाल (श्रीपेच टिम)ले भियतनाममा भएको छनोट प्रतियोगिताको शीर्ष ६ स्थान रक्षा गर्दै एसियाडमा स्थान पक्का गरेको थियो ।
नेपालसँगै छनोट खेलबाट पाकिस्तान, इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, जोर्डन, उज्वेकिस्तान, नेपाल र आयोजक जापानसँगै आमन्त्रित चीन, दक्षिण कोरिया, चाइनिज ताइपेले जापानको टिकट पक्का गरेका थिए । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपालको पब्जी टोलीको नाम सम्बन्धित निकायमा अहिलेसम्म पठाएको छैन । राखेपले नाम नपठाउँदा श्रीपेच टोलीका खेलाडीले एसियाड गुमाउने अवस्थामा पुगेका छन् । राखेपले नेपाल ओलम्पिक कमिटी (एनओसी)को माध्यमबाट एसियाडमा २२ खेलको दर्ता गरेको छ ।
तर, छनोट चरण पार गरेको पब्जी भने दर्ता भएको नाममा समावेश छैन । छनोट खेलमा नेपाली टोलीमा सहभागी खेलाडीलाई कोड नाम दिइएको थियो । जसअनुसार (श्रीपेच)बाट दीपेश गुरुङ (डेल्टा), समीर कोस्टेलो (जियो), सोनु कार्की (विआ–विआ), रोहित तामाङ (जोर्डी)ले प्रतिस्पर्धा गरेका थिए । उनीहरूका म्यानेजर होमराज तामाङ हुन् । भियतनाममा खेलाडी छनोटमा आफ्नै खर्चमा पुगेका हुन् ।
पब्जी संसारमा डेल्टा नामले परिचित दीपेशले छनोट भएर पनि एसियाडमा सहभागी हुन नपाउँदा वर्षौँदेखिको मिहिनेत खेर गएको बताए । एसियाड गुमाउने आभास पाएपछि उनी अहिले मानसिक तनावमा छन् । ‘भियतनामा हामी छनोट हुँदा छनोट नहुने देशका खेलाडी रोइरहेको सम्झना अहिले पनि आइरहेको छ । हामी आफ्नै खर्चमा एसियाडमा स्थान बनाउँदा पनि राष्ट्रको प्रतिनिधित्व गर्ने नपाउने भएका छौँ,’ दीपेशले भने, ‘हामीलाई सरकारले रोक्ने काम गर्यो । सरकार भनेको नै राष्ट्रिय खेलकुद परिषद् हो । उसले अहिलेसम्म एनओसीमा हाम्रो नाम पठाएको छैन ।’ तीन वर्षअघि चीनको हाङझाउमा भएको १९औँ एसियाडमा उनी पनि नेपाली टोलीका सदस्य थिए । त्यसवेला नेपाली टोलीले पहिलोपटकको सहभागितामै फाइनल चरण पक्का गरेको थियो । परिषद्का सदस्यसचिव रामचरित्र मेहताले को–को एसियाड छनोट खेल्न गएको थाहा नभएको बताए । ‘मलाई एसियाडका लागि भनेर छनोट खेल्न गएको थाहा छैन । संघले पठाएको नाम नै आधिकारिक हो,’ मेहताले भने ।
नेपाली टोलीका म्यानेजर तामाङले अहिले सरकारले आफूलाई अलपत्र पारेको दाबी गरे । सम्बन्धित निकायमा आफ्नो गुनासो पोख्न जाँदा पनि पदाधिकारीलाई भेट्न समय नदिएको उनले बताए । ‘मैले खेकलुदमन्त्री सस्मित पोखरेलदेखि राखेपका सदस्यसचिव रामचरित मेहतालाई समेत भेट्ने र समस्या बुझाउने प्रयास गरे । तर, उहाँहरूले खासै समय दिनुभएन । माथिल्लोस्तरमा हाम्रो केही लाग्ने रहेनछ,’ तामाङले भने ।
दुई संघभित्रको विवादले मर्का
अहिले पब्जी टोलीले एसियाड गुमाउनुपर्ने अवस्था आउनुको पछाडि दुई समानान्तर संघका कारण हो । पब्जीको राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ छन् । अन्तर्राष्ट्रियतर्फ ध्रुव डंगोलको अध्यक्षतमा नेपाल इ–स्पोर्टस् एसोसिएसन (नेसा) संघ छन् । अञ्जन धमलाको अध्यक्षमा राष्ट्रिय मान्यता प्राप्त इ–स्पोर्टस् संघ (इसान) रहेको छ । डंगोलको नेसाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिरहँदा २०८० सालमा तत्कालीन परिषद्का सदस्यसचिव टंकलाल घिसिङले धमलाको अध्यक्षतामा इसान संघ गठन गरेका थिए ।
इसान गठन भएसँगै ई, स्पोर्टस् विवाद आएको हो । धमला आइटिएफ तेक्वान्दो महासंघको वरिष्ठ उपाध्यक्षसमेत हुन् । इशानका वरिष्ठ उपाध्यक्षमा हिमविक्रम केसी रहेका छन् । उनी वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको सचिवालयमा छन् । खेलकुदमन्त्री पोखरेलका सल्लाहकार सिद्धी व्यञ्जनकार, धमला र केसीले इ–स्पोर्टस्लाई आसन्न २०औँ एसियाडमा सहभागी नगराउने दबाब दिइरहेको स्रोतले बताए ।
डिआरएस र होरासँगको प्रतिस्पर्धा
पब्जीमा डिआरएस र होरा चर्चित खेलाडी हुन् । सरकारका केही मन्त्री तथा सचिवालयसँग उनीहरूको निकट राम्रो छ । पछिल्लो समयमा श्रीपेचले अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको थियो । अहिले सम्बन्धित निकायले श्रीपेचमा आबद्ध खेलाडीलाई एसियाडमा सहभागी हुन नदिने लागेको स्रोतले बताए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले छनोट प्रतियोगिताबाट छनोट भएर आएका टिमलाई बढी प्राथमिकतामा राख्ने गरेको छ । आइओसी र ओसिएले नेपाल ओलम्पिक कमिटीको माध्यमबाट सहभागी हुन भनेका छन् ।
एनओसीले परिषद्बाट आएका खेल र खेलाडीले भाग लिन पाउने भनेको छ । एसियाड नजिकिँदै जाँदा राखेपले इ–स्पोर्टस्को नाम एनओसीमा पठाएको छैन । यस पक्षमा राखेका सदस्यसचिव मेहताले आफूलाई अहिलेसम्म संघले नाम नपठाएको दाबी गरेका छन् । ‘संघले ‘लङलिस्ट’ बनाएर आए मात्रै टिम छनोट गराएर प्रतियोगितामा सहभागी हुन दिनेछ । कुन टिम, कहिले, कहाँ, छनोट भयो, हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘हामीलाई संघमार्फत ‘लङलिस्ट’ आएको अवस्थामा छनोट गरेर एसियाली खेलकुदका लागि नाम र टिम दर्ता पठाउने हो ।’