मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार १o:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिनगरबाट २९ अर्बको आयात, सवा अर्बको निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १o:५६:oo
  • आयात मूल्यको ठुलो हिस्सामा पेट्रोलियम पदार्थ छ भने निर्यातको सूचीमा कच्चा पदार्थ र वनजन्य उत्पादन
  • सबैभन्दा धेरै ११ अर्ब आठ करोड १८ लाखको डिजेल आयात हुँदा २१ करोडको खरीको निर्यात सबैभन्दा धेरै 

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाका गौरीफन्टाबाट एक वर्षको अवधिमा २९ अर्ब ४० करोड मूल्यको वस्तु आयात भएको छ । आयातको तुलनामा निर्यात भने न्यून छ । गत आर्थिक वर्ष ०८२/०८३ मा एक अर्ब २९ करोड ७७ लाख मूल्यबराबरको वस्तु निर्यात भएको त्रिनगर भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार निर्यात हुने वस्तुमा कच्चा पदार्थ र वनजन्य उत्पादन मात्र छन् । त्यस्तै, आयात मूल्यको ठुलो हिस्सा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, ‘जंक फुड’, दालमोठ, पापड, बिटुमिनलगायतका वस्तुले ओगटेको छ । त्रिनगर नाकाबाट एक वर्षमा ११ अर्ब आठ करोड १८ लाख मूल्यको डिजेल, तीन अर्ब ३७ करोड ८५ लाख मूल्यको पेट्रोल, एक अर्ब ८६ करोड ७२ लाख मूल्यको एलपिजी ग्यास र ३६ करोड ९७ लाख मूल्यको हवाई इन्धन आयात भएको छ ।

त्यस्तै, एक अर्ब २३ करोड ४८ लाख मूल्यको कागज, एक अर्ब ९३ करोड ९९ लाख मूल्यको दालमोठ, पापड, भुजिया, एक अर्ब ५१ करोड ४६ लाख मूल्यको जंकफुड तथा ३९ करोड ६९ लाख मूल्यको तोरी आयात भएको त्रिनगर भन्सारका कम्प्युटर अधिकृत यज्ञराज जोशीले जानकारी दिए । ४४ करोड २७ लाख मूल्यको रोजिन, २१ करोड ६६ लाख मूल्यको कत्था, १२ करोड ७८ लाख मूल्यको ‘लिक्विड’ कत्था निर्यात भएको तथ्यांक छ ।

२१ करोड ५४ लाख मूल्यको खरी, ३२ करोड ९० लाख मूल्यको खयरको कच्चा पदार्थ, १३ करोड मूल्यको पिना र १२ करोड मूल्यको टर्पेन टाइन तेल निर्यात भएको जोशीले जानकारी दिए । सुदूरपश्चिममा निर्यातमुखी उद्योग नहुँदा आयात–निर्यातबिच ठुलो खाडल देखिएको हो । निर्यात हुने वस्तु कच्चा पदार्थ र वनजन्य वस्तुमा सीमित रहेकाले व्यापार घाटा बर्सेनि बढ्दो क्रममा छ ।

पूरा भएन राजस्व संकलनको लक्ष्य
त्रिनगर भन्सार कार्यालयलाई गत आर्थिक वर्ष ०८२/८३ मा नौ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । कार्यालयले आठ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको त्रिनगर भन्सारका सूचना अधिकारी तथा भन्सार अधिकृत प्रकाश तिमिल्सिनाले जानकारी दिए, जुन लक्ष्यको ८६.४८ प्रतिशत मात्र हो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलनको लक्ष्य प्राप्तिमा सुधार देखिए पनि समग्र राजस्व संकलन भने घटेको हो । आर्थिक वर्ष ०८१/८२ मा आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांक छ । उक्त वर्ष राजस्व संकलन पनि लक्ष्यको ७७.६७ प्रतिशत मात्र हो । 

भन्सार अधिकृत तिमिल्सिनाले राजस्वको करिब ६५ प्रतिशत हिस्सा डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यास आयातबाट प्राप्त हुने गरेको जानकारी दिए । भन्सारले गत वर्ष पेट्रोल आयातबाट तीन अर्ब ३८ करोड ६० लाख, पेट्रोलबाट एक अर्ब ६५ करोड ५० लाख, एलपिजी ग्यासबाट ३४ करोड ८२ लाख र हवाई इन्धन आयातबाट पाँच करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । भन्सार कार्यालयको तथ्यांकअनुसार निर्यात हुने वस्तुबाट एक करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।