आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्ष ०८२/८३ सम्ममा सक्रिय करदाताको संख्या ७९ लाख १० हजार नौ सय ६४ पुगेको छ । विभागका अनुसार गत आवमा स्थायी लेखा नम्बर (प्यान), मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दर्ता हुने नयाँ करदाता नौ लाख ११ हजार ६ सय १४ जना थपिएका हुन् ।
राजस्व प्रशासनले प्रविधिको प्रयोग बढाउँदै लगेको, करदाता सेवा कार्यालयहरू र स्थानीय तहहरूमार्फत करदाता दर्ता प्रक्रिया सहज बनाएको र राजस्वको दायरा विस्तार गर्ने नीति लिएका कारण प्रत्येक वर्ष करदाताको संख्यामा उल्लेख्य वृद्धि भइरहेको विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्म देशभर ६९ लाख ९९ हजार तीन सय ५० जना सक्रिय प्यानमा आबद्ध करदाता थिए । गत आव ०८२/८३ मा मात्रै नौ लाख ११ हजार ६ सय १४ जना नयाँ करदाता थपिएका हुन् ।
व्यावसायिकभन्दा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको बाहुल्य
सरकारले बैंक खाता खोल्न, सेयर कारोबार (डिम्याट) गर्न, सवारीसाधन किन्न र सरकारी सेवा–सुविधा लिन व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत प्यान) अनिवार्य गरेसँगै यसमा सर्वसाधारणको उपस्थिति बढेको छ । व्यक्तिगत प्यानमा दर्ता हुने असार मसान्तसम्म कुल ५६ लाख ९६ हजार सात सय आठ जना पुगेका छन् । गत एक वर्षमा मात्रै सात लाख ९३ हजार नौ सय ८६ जना सर्वसाधारणले नयाँ व्यक्तिगत प्यान लिएका छन् । व्यावसायिक प्यान लिने व्यावसायिक फर्म तथा कम्पनीहरूतर्फ २१ लाख ७५ हजार ९२ दर्ता भएका छन् । गत वर्ष एक लाख १४ हजार तीन सय ३४ नयाँ व्यावसायिक करदाता थपिएका हुन् ।
अग्रिम कर कट्टी प्यानतर्फ सरकारी तथा गैरसरकारी निकायहरूले कर कट्टी प्रयोजनका लागि लिने डब्लु प्यानको संख्या ३९ हजार एक सय ६४ पुगेको छ । यसमा गत वर्ष तीन हजार दुई सय ९४ थपिएका हुन् । वस्तुको प्रकृतिअनुसार अनिवार्य मानिने मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क दर्तामा पनि सकारात्मक वृद्धि देखिएको छ । भ्याटमा दर्ता हुने करदाताको कुल संख्या तीन लाख ७८ हजार दुई सय ६८ पुगेको छ । यसमा गत आर्थिक वर्षमा मात्रै २६ हजार पाँच सय ३३ नयाँ व्यवसायी जोडिएका छन् । त्यसैगरी, मदिरा, सुर्तीजन्य र निश्चित वस्तुको कारोबारका लागि लिइने अन्तःशुल्क अनुमति लिने करदाताको संख्या एक लाख ३२ हजार ६ सय ७२ पुगेको छ । यसमा गत वर्ष सात हजार ६ सय ७५ नयाँ करदाता थपिएका छन् ।