जग्गाको बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरमा कार्यरत तीन जना नायब सुब्बा (नासु) सहित पाँच जना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले भूमि प्रशासन कार्यालय लगनखेलका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरका साथै लेखापढी व्यवसायीहरु शैलेन्द्र रानामगर र समिर कटवाललाई नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग जग्गा बकसपत्रको काममा दुःख-हैरानी दिई रकम माग गरेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको टोली खटिएको थियो।
उनीहरूलाई ललितपुर महानगरपालिका वडा नं. ४ स्थित एक होटलबाट सेवाग्राहीबाट घुस बापतको तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा साउन १५ गते नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट घुस बापतको रकमका साथै श्रोत नखुलेको थप २४ हजार ८९० रूपैयाँ समेत बरामद गरिएको छ। नियन्त्रणमा लिइएका सबै पाँच जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।