सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहकाे प्रयास गरेका छन्। गोडैता नगरपालिका– १० का ३४ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी ओमप्रसाद अधिकारीका अनुसार उनको हाल स्थानीय अस्पतालमा उपचार भइरहेकोमा हेलिकोप्टरमार्फत काठमाडौं लैजाने प्रयास भइरहेको छ । ‘घरायसी विवादपछि उनले शरीरमा आगो लगाएर आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा बुझिएको छ,’ उनले भने। घरायसी विवादमा उनले यसरी शरीरमा आगो लगाएको अनुसन्धानमा खुलेको छ । घरमा विवाद भएपछि निस्किएर सडकमा गई उनले आगो लगाएका हुन्। स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याएका थिए।
काठमाडौंमा बिहीबार नगर प्रहरीसँगको विवादपछि शरीरमा पेट्रोल छर्किएर मुगुका गणेश नेपालीले आगो लगाएका थिए। उपचारको क्रममा उनको शुक्रबार निधन भएको थियो। भोलिपल्टै सर्लाहीमा पनि अर्का युवकले शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।