नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको कथित ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको जनाएको छ।
सिआइबीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल बाल संगठन तथा बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन, प्रहरी प्रतिवेदन तथा प्राप्त जाहेरीका आधारमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो।
प्रहरीका अनुसार नेपाल बाल संगठनबाट अनियमित रूपमा रकम लिएको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर असार २४ गते विभिन्न स्थानबाट तीनजनालाई पक्राउ गरिएको हो। पक्राउपछि अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन, जिल्ला कार्यसमिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य तथा नेपाल बाल संगठन, जिल्ला कार्यसमिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन्।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले मुद्दासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। प्रहरीले अनुसन्धानको निष्कर्ष नआउँदासम्म पक्राउ परेका व्यक्तिहरू आरोपित मात्र भएको र उनीहरूको कानुनी अधिकार सुरक्षित रहने जनाएको छ।