फिफाले अमेरिका, मेक्सिको र क्यानडामा विश्वकप २०२६ चलिरहँदा नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । बिहीबार बिहान फिफाले पछिल्लो घटनाक्रमपछि अनिश्चितकालीन निलम्बन गरेको जनाएको छ । फिफाले निलम्बन गर्नुको कारण तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भनेको छ ।
फिफाको निलम्बनसँगै नेपालले पाउँदै आएको अनुदान रोकिनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय फुटबलहरू नेपालले खेल्न पाउँदैन । पछिल्लो समय जिल्ला र प्रदेश तहगत निर्वाचन नभएपछि एन्फाको विवाद सतहमा आएको थियो । त्यसपछि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बारम्बार एन्फालाई देशको कानुनअनुसार अगाडि बढ्न निर्देशन दिए पनि एन्फा नेतृत्वले अटेरी गरेको थियो ।
त्यसपछि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि फुकुवा गरे पनि पछिल्लो विवाद समाधान भएको थिएन । पंकजविक्रम नेम्वाङ नेतृत्वको चारवर्षे कार्यकाल पनि गत ५ असारबाट सकिएको थियो ।