मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ कार्तिक १७ सोमबार
  • Friday, 14 August, 2026
शशी थरुर
२o८२ कार्तिक १७ सोमबार o९:१o:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतीय राजनीतिमा वंशवाद

जब राजनीतिक नेतृत्व क्षमता, प्रतिबद्धता वा तल्लो तहको सक्रियताभन्दा कुनै निश्चित परिवारसँग जोडिएका आधारमा तय हुन्छ तब देशको शासनको गुणस्तरमै असर पर्छ 

Read Time : > 3 मिनेट
शशी थरुर
नयाँ पत्रिका
२o८२ कार्तिक १७ सोमबार o९:१o:oo

भारतीय राजनीतिमाथि दशकौँदेखि एउटा परिवार हाबी देखिन्छ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू, देशको पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धी, अर्का प्रधानमन्त्री राजीव गान्धी र वर्तमान विपक्षी नेता राहुल गान्धी तथा सांसद प्रियंका गान्धी वाड्रा सोही परिवारका सदस्य हुन् । उसो त राजनीतिमा नेहरू–गान्धी परिवारको प्रभाव भारतको स्वतन्त्रता संघर्षको इतिहाससँग जोडिएको छ । तथापि, यस परिवारको विरासतले भारतभर राजनीतिक नेतृत्व कुनै परिवारको जन्मसिद्ध अधिकार हो भन्ने विचारलाई बलियो बनाउन सघायो । अहिले यसले भारतीय राजनीतिमा सबैजसो पार्टी, क्षेत्र र तहमा प्रवेश गरिसकेको छ ।

नेहरू–गान्धी परिवार भारतीय राष्ट्रिय कंग्रेससँग जोडिएको छ भने अन्य दलमा अलग–अलग परिवारको प्रभाव छ । जनता दल पार्टीको गठनमा प्रभावशाली रहेका विजयानन्द (बिजु) पटनायकको निधनपछि रिक्त  लोकसभा सिटमा छोरा नवीनले प्रतिनिधित्व गर्न थाले । पछि नवीनले आफ्नो बुबाको सम्मानमा नामकरण गरिएको बिजु जनता दलको स्थापना गरे र पितालाई पछ्याउँदै ओडिसा राज्यको मुख्यमन्त्रीसमेत बने । त्यस पदमा उनी दुई दशकभन्दा बढी समयसम्म रहेर भर्खरै बाहिरिएका छन् ।

उता महाराष्ट्र राज्यकेन्द्रित शिव सेना पार्टीका संस्थापक बाल ठाकरेले जीवनको उत्तराद्र्धमा पार्टी नेतृत्व आफ्ना छोरा उद्धवलाई सुम्पिए । उद्धवले अहिले आफ्ना छोरा आदित्यलाई पार्टीको भावी नेतृत्वका लागि तयार गरिरहेको मानिन्छ । उता समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवपछि गएर उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री बने । उनका छोरा अखिलेश यादव पछि सोही पदमा पुगे । अखिलेश अहिले सांसद र समाजवादी पार्टीका अध्यक्ष हुन् । उता उत्तर प्रदेशको छिमेकी राज्य बिहारमा लोक जनशक्ति पार्टीका नेता रामविलास पासवानको उत्तराधिकारी उनका छोरा चिराग पासवान थिए ।

हिन्दीभाषी क्षेत्रबाहिर जम्मु–कस्मिरमा अब्दुल्लाह परिवारका तीन पुस्ता मुख्यमन्त्री भए । जबकि, त्यहाँको प्रमुख विपक्षी दलको नेतृत्वमा मुफ्ती परिवारले दुई पुस्तादेखि प्रभुत्व जमाएको छ । त्यस्तै पञ्जाबमा प्रकाश सिंह बादल प्रमुख रहेको शिरोमणि अकाली दल अहिले उनका छोरा सुखवीरले सम्हालिरहेका छन् । उता दक्षिणको तेलंगना राज्यमा हाल ‘भारत राष्ट्र समिति’ पार्टीको नेतृत्वका लागि यसका संस्थापक के चन्द्रशेखर रावका छोरा र छोरीबिच लडाइँ चलिरहेको छ । तमिलनाडुमा सत्तारुढ ‘द्रविड मुन्नेत्र कझगम पार्टी(डिएमके)’ स्वर्गीय एम करुणानिधिको परिवारको नियन्त्रणमा छ । करुणानिधिका छोरा एम के स्टालिन अहिले पार्टीका नेताका रूपमा राज्यका मुख्यमन्त्री छन् भने नातिलाई पार्टीको उत्तराधिकारीको रूपमा अभिषेक गरिसकिएको छ ।

भारतीय राजनीतिमा वंशवाद अहिले राजनीतिको माथिल्लो तहमा मात्र व्याप्त नभई भारतीय शासनको तल्लो संरचनासम्मै गहिरोसँग गाँसिइसकेको छ । गाउँ परिषद्को तल्लो तहदेखि संसद्को माथिल्लो पदसम्म नेताको नाताका आधारमा चुनिन थालेको छ । 

हालै गरिएको एक अनुसन्धानले देशका ११ केन्द्रीय मन्त्री र नौ मुख्यमन्त्री राजनीतिक वंशबाट आएको देखायो । त्यस्तै, सन् २००९ को संसदीय चुनाव जित्ने ४५ वर्षमुनिका दुईतिहाइ सांसदको कोही न कोही नातेदार पहिले नै राजनीतिमा रहेको पाइएको थियो । सांसद जति कम उमेरका हुन्छन्, त्यति नै ती राजनीनिक वंशका हुने सम्भावना पाइयो । सबै दलका ७० प्रतिशत महिला सांसद वंशवादी पृष्ठभूमिका पाइए । ममता बनर्जी र मायावतीजस्ता वंश–परिवारको फेरो नसमाई आफ्नै मिहिनेतले राजनीतिमा स्थान बनाएका महिला राजनीतिज्ञले समेत अहिले आफ्ना भतिजाहरूलाई आफ्नो उत्तराधिकारीको रूपमा छनोट गरेका छन् । 

उसो त राजनीतिमा वंश–परम्परा भारतमा मात्र होइन, दक्षिण एसियाभर नै व्याप्त देखिन्छ । पाकिस्तानमा भुट्टो र सरिफ परिवार, बंगलादेशमा शेख र जिया परिवार र श्रीलंकामा बन्दरानायके र राजपक्षे परिवार त्यसैका उदाहरण हुन् । तर, भारतजस्तो जीवन्त लोकतन्त्रसँग भने यो असंगत देखिन्छ । त्यसो भए आखिर भारतले राजनीतिमा वंशवादी मोडेललाई यति बलियोसँग किन अँगालेको छ ? एउटा कारण यो हुन सक्छ कि परिवारको नामले ब्रान्डको काम गर्न सक्छ । अर्थात्, नाम कहलिएका परिवारका उम्मेदवारले मतदाताको ध्यान तान्न वा उनीहरूको विश्वास निर्माण गर्न त्यति कठोर परिश्रम गर्नुपर्दैन । 

मतदाताले विगतमा उम्मेदवारको बुबा, काकी, वा दाजुभाइलाई स्विकारे भने सम्भवतः तिनले सोही परिवारबाट आएका अहिलेका उम्मेदवारलाई स्विकार्नेछन् भन्ने भावना व्याप्त भयो । तर, यस्तो सोच विगतमा न्यून साक्षरता दर र मिडियाको कम प्रभाव रहेको समयमा काम लाग्नुपर्ने हो । अहिले भारतको साक्षरता दर ८१ प्रतिशतनजिक पुगेको छ भने ९५ प्रतिशतभन्दा बढीमा मोबाइल–इन्टरनेटको पहुँच छ । भारतमा वंश–परम्परालाई प्रश्रय दिने सबैभन्दा महत्वपूर्ण पक्ष सम्भवतः आन्तरिक पार्टी गतिशीलताबाट उत्पन्न भएको हुन सक्छ । केही अपवादबाहेक भारतका अधिकांश राजनीतिक पार्टी व्यक्तित्व–निर्देशित छन् ।

पार्टीका विभिन्न तहको नेतृत्व छनोट प्रक्रिया प्रायः अपारदर्शी हुन्छन् । यसको निर्णय सानो गुट वा अझ कतिपय अवसरमा एकल नेताले नै गर्छन् । फलस्वरूप, नातावाद सामान्यतया क्षमतामाथि हाबी हुन्छ । त्यसमाथि भारतमा नेतृत्वको प्रतिस्पर्धामा ठुलो स्रोत चाहिन्छ । पुराना परिवारसँग सामान्यतया पर्याप्त वित्तीय पुँजी हुन्छ, जुन उनीहरूले वर्षौंदेखि सत्तामा रहँदा जम्मा गरेका हुन्छन् । यसबाहेक, उनीहरूसँग लामो चिनजान भएका चन्दादाता, पार्टी कार्यकर्ता र स्थानीय गुन्डाहरूको सञ्जालमाथि पहुँच हुने गर्छ । यसले गर्दा उनीहरूलाई राजनीतिका नवप्रवेशीलाई भन्दा बढी लाभ हुने गर्छ । 

भारतको राजनीतिक वंश–परम्परापछाडि सांस्कृतिक कारण पनि जिम्मेवार हुन सक्छ । भारतले आधुनिकीकरणमा ठुलो फड्को मारे पनि भारतीय समाजमा अझै पुरानो सामन्ती बफादारिताको भावना कायम राखेको देखिन्छ । पहिले यो स्थानीय जमिनदार वा राजपरिवारप्रति कायम थियो, अहिले यो राजनीतिक नेतामा सरेको मात्र हो । यसले राजनीतिक एलिट कुनै न कुनै रूपमा फरक हुन् भन्ने धारणालाई बलियो बनाउन सघाएको छ । साथै यसले उनीहरू र तिनका परिवारहरू शक्तिका लागि उपयुक्त हुन्छन् भन्ने भावनालाई पनि प्रश्रय दिन्छ । यो भावना यति शक्तिशाली छ कि यसले नेताका खराब विगतलाई समेत छायामा पार्न सक्छ । यसैले गर्दा कुनै निश्चित परिवारका नेताले लगातार चुनावी पराजय भोग्दासमेत ती नेतृत्वमा कामय रहन्छन् ।

वंशवादी राजनीति अभ्यास भारतीय लोकतन्त्रका लागि गम्भीर खतरा हो । जब राजनीतिक नेतृत्व क्षमता, प्रतिबद्धता वा तल्लो तहको सक्रियताभन्दा कुनै निश्चित परिवारसँग जोडिएका आधारमा तय हुन्छ, देशको शासनको गुणस्तरमै असर पर्छ । सानो समूहबाट आएका मानिसले सबै क्षमता देखाउन सक्दैनन् । भारतमा हुने चुनावमा उम्मेदवारहरूको मुख्य योग्यता नै उनीहरूको थर हुनु समस्याको विषय हो ।

राजनीतिक वंशका सदस्यहरू प्रायः आममानिसले सामना गर्ने चुनौतीबारे बेखबर हुने सम्भावना रहने भएकाले उनीहरू आफ्ना निर्वाचन क्षेत्रका आवश्यकताप्रति प्रभावकारी रूपमा प्रतिक्रिया दिन अक्षम हुन्छन् । विगतमा खराब प्रदर्शन गर्दासमेत उनीहरू जवाफदेही बन्ने कुनै ग्यारेन्टी छैन । भारतले राजनीतिमा वंशलाई त्यागेर क्षमता छान्नुपर्ने समय आएको छ । 
– प्रोजेक्ट सिन्डिकेटबाट