मुलुकमा सीमित अवसरका कारण धेरै युवा ‘डंकी रुट’ भनिने खतरनाक मार्गबाट गरिने अमेरिकी यात्रामा आकर्षित भएका छन्
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने वाचा गरेका छन् । ट्रम्पले यो वाचा गर्दा भारत पनि आप्रवासीका स्रोत मुलुकका रूपमा सतहमा देखिन्छ । अप्रिय वास्तविकता के हो भने सुखद जीवनको खोजीमा अमेरिका पुगेका आप्रवासीमध्ये उल्लेखनीय हिस्सा हाम्रा नागरिकको छ । जनवरी २०२२ मा अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने चार भारतीयले अमेरिकी सिमानाबाट ४० फिटभन्दा कम दूरीमा रहेको क्यानडेली भूमिमा चिसोले ज्यान गुमाएका थिए । गुजरातजस्तो भारतको सम्पन्न राज्यका दुई शिक्षित अभिभावक एवं सहरमा घर भएका मध्यमवर्गीय परिवारले यस्तो जोखिमपूर्ण यात्रा किन रोजे ? सम्झिँदा अनौठो लाग्न सक्छ । तर, यस्ता घटना अस्वाभाविक भने होइनन् ।
गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो, जहाँ उनले १३ वर्षसम्म मुख्यमन्त्री भई नेतृत्व गरेका थिए । राज्यको आर्थिक सफलताकै आधारमा उनले राष्ट्रिय सरकारको नेतृत्वका लागि लोकप्रियता हासिल गरेका थिए । तर, धेरै गुजराती राज्य छोड्न आफ्नो सबै जायजेथा र सम्बन्धलाई दाउमा राखिरहेका छन् । यसले गुजरात राज्यको समृद्धिको प्रचलित कथालाई चुनौती दिन्छ । त्यसैगरी भारतको ‘अन्नको भण्डार’भनेर चिनिने पन्जाबका मानिस पनि सुखद जीवनको खोजीमा देश छोड्ने दौडमा छन् । उर्वर कृषि राज्य भए पनि पन्जाबमा बेरोजगारी राष्ट्रिय औसतभन्दा बढी छ र लागुपदार्थको दुरुपयोग पनि तीव्र रूपमा बढिरहेको छ । पन्जाबका कृषि फार्मले भारतका अन्न उत्पादनमा ठुलो हिस्सा ओगटे पनि यिनले युवालाई आवश्यक रोजगार दिन सकिरहेका छैनन् ।
मुलुकमा सीमित अवसरका कारण धेरै पन्जाबी युवा ‘डंकी रुट’ भनिने खतरनाक मार्गबाट गरिने अमेरिकी यात्रामा आकर्षित भएका छन् । अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीको यो अवैध एवं जोखिमयुक्त बाटोका सन्दर्भमा बलिवुडले डंकी भन्ने चलचित्रसमेत बनाएको छ । यी आप्रवासीले दलाललाई अमेरिका प्रवेशका लागि झन्डै एक लाख डलरसम्म तिर्छन् । यी आप्रवासी कहिलेकाहीँ मध्य वा दक्षिण अमेरिकी देशमा कानुनी यात्रा गर्दै अमेरिकातर्फको गैरकानुनी यात्रा सुरु गर्छन् । त्यसैगरी केहीले क्यानडालाई प्राथमिकता दिन्छन्, किनभने अमेरिका–मेक्सिको सीमाभन्दा उत्तरी सीमामा सुरक्षा व्यवस्था फितलो छ, तर अँध्यारोमा हिउँ र बरफ पार गर्नु विशेषतः चिसोसँग अपरिचित मानिसका लागि घातक हुने गर्छ ।
अक्टोबर २०२० यता अमेरिकी सीमा सुरक्षा अधिकारीले क्यानडा वा मेक्सिकोबाट गैरकानुनी रूपमा सीमापार गर्न खोज्ने झन्डै एक लाख ७० हजार भारतीय आप्रवासीलाई पक्राउ गरेका छन् । यी आप्रवासीमा अधिकांश युवा पुरुष देखिन्छन् । अब अवसर खोज्ने युवा पुरुष मात्र नभई मध्यम वर्गीय परिवारले पनि भारतमा भविष्य देखिरहेका छैनन् । र, केही आप्रवासी जोखिमपूर्ण यात्रा पूरा गर्न सफल पनि हुन्छन् । प्यु रिसर्चका अनुसार सन् २०२२ सम्म अमेरिकामा सात लाख २५ हजार गैरकानुनी भारतीय आप्रवासी थिए । यसले अमेरिकामा अवैध प्रवेश गर्न खोज्ने आप्रवासीमा मेक्सिको र एल साल्भाडोरपछि भारतले तेस्रो स्थान बनाएको छ । र, यी आप्रवासीको भविष्य अझै अन्योलपूर्ण छ । अमेरिकी गृह सुरक्षा विभागका सहायक सचिव रोइस बर्नस्टाइन मुरेले हालैका वर्षमा भारतीय नागरिकलाई गरिने ‘निर्वासन’ लगातार बढ्दै गएको र गत आर्थिक वर्षमा मात्रै एक हजार एक सय भारतीय आप्रवासीलाई देशनिकाला गरिएको बताएका थिए ।
यो प्रवृत्तिमा रोक लागेको कुनै संकेत देखिन्न । अक्टोबरमा जारी अमेरिकी गृह सुरक्षा विभागको प्रेस विज्ञप्तिमा कानुनी रूपमा अमेरिका बस्ने आधार नभएका भारतीय नागरिकलाई ‘ठुलो चार्टर उडान’मार्फत फिर्ता पठाइएको विवरण थियो । यस्तो उडान पहिलोपटक भएको होइन र थप उडान हुने संकेत देखिन्छन् । यो सबै ट्रम्पको पदग्रहणअघि नै भइरहेको छ । पुनर्स्थापनामा सहकार्य गरेको भारतीय सरकारले यसलाई कानुनी आप्रवासनलाई प्रोत्साहन गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ । तर, भारतका नेताले आफ्ना नागरिक किन विदेश जान बाध्य भइरहेका छन् भन्नेमा गहिरो आत्ममूल्यांकन गर्नुपर्छ ।
अधिकांश भारतीय आप्रवासी राम्रो आर्थिक अवसरको खोजीमा छन् र यिनले यदि आफू प्रमुख अमेरिकी सहरमा पुग्न सके भिडमा हराएर राम्रो काम पाउन सक्ने आशा पालेका हुन्छन् । तर, केही आप्रवासीले देश छाड्नुका कारण अन्य पनि छन् । पन्जाबका केही सिखले खालिस्तानी प्रिथकतावादी आन्दोलनको दमनका कारण भारतीय सरकारबाट उत्पीडनको डर देखाउँदै शरणार्थी हैसियतको आवेदन दिन पनि गएका छन् । भारतीय अधिकारीले प्रायः यस्ता आरोपलाई अस्वीकार गर्दै यी शरण माग्नेले अमेरिकामा बस्ने मौका बढाउन झुटा कथा बनाइरहेका छन् भन्ने दाबी गर्छन् । अमेरिकी शरणार्थी कानुनले आवेदन प्रक्रिया चलिरहँदा अस्थायी रूपमा बस्न अनुमति दिन्छ र यसबिच अमेरिकी नागरिकसँग विवाह गर्दा कानुनी आवासको अर्को बाटो खुल्छ । भारतीय अधिकारीले आप्रवासीका मुलुक छाड्ने कारणलाई गम्भीरतासाथ लिनुपर्छ ।
भारतलाई फेरि आशाको भूमि बनाउनु आवश्यक छ । विडम्बना, मोदी सरकारका तमाम प्रोपगान्डाका बाबजुद भारतको बहुचर्चित आर्थिक सफलता बेरोजगार वृद्धि, युवा बेरोजगारीको नयाँ कीर्तिमान र अधिकांश भारतीयको खस्कँदो जीवनस्तरका कथामा सीमित छ । अर्थतन्त्र तब मात्रै पुनरुत्थान भएको मानिनेछ, जब भारतमा समान अवसर, युवा पुस्ताका लागि पर्याप्त रोजगारी र सबैका अधिकार एवं हितको रक्षा गर्ने सरकार हुनेछ ।
(थरुर भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट