मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २९ शुक्रबार
  • Thursday, 19 December, 2024
शशी थरुर
२o८o मङ्सिर २९ शुक्रबार o८:३६:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

विदेशमा शिख नेताको हत्यापछि भारतको बिग्रिएको छवि

Read Time : > 2 मिनेट
शशी थरुर
नयाँ पत्रिका
२o८o मङ्सिर २९ शुक्रबार o८:३६:oo

अमेरिकाले भारतीय नागरिक निखिल गुप्तामाथि शिख पृथक्तावादी नेता तथा अमेरिकी नागरिक गुरपतवन्त सिंह पन्नुनलाई न्युयोर्कमा मार्ने योजना बनाएको आरोप लगाएको छ । ५२ वर्षीय आरोपित गुप्ता लागुऔषध तथा हतियार व्यापारी हुन् । अभियोगमा नयाँदिल्लीका एक भारतीय सरकारी अधिकारीले गुप्तालाई हत्याको व्यवस्था गर्न पैसा दिएको भनिएको छ । यस प्रकरणले अमेरिकासँगको भारतको सम्बन्ध र देशको विश्वव्यापी छविमाथि नै असर परेको छ । 

केही महिनाअघि मात्रै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुन महिनामा क्यानडामा मारिएका क्यानेडेली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको ‘हात रहेको’ ‘विश्वसनीय आरोप’ आफूहरूकहाँ आएको बताएका थिए । ट्रुडोको उक्त भनाइले भारत र क्यानडाबीच कूटनीतिक तनाव निम्त्याएको थियो । भारतले क्यानडाको आरोपलाई गलत भन्दै नयाँदिल्लीस्थित क्यानेडेली नियोगमा काम गर्ने ४१ क्यानेडेली कूटनीतिज्ञलाई देश फर्किन आदेशसम्म दियो । ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको ठोस प्रमाण पेस गर्न नसके पनि अमेरिकी न्याय मन्त्रालय भने अदालतमा प्रमाण पेस गर्न तयार छ ।

अमेरिकी सरकारसँग रहेको भनिएका विवरणमध्ये एउटा सामग्रीले दुइटा घटनाबीच सम्बन्ध रहेको देखाएको बताइन्छ । नयाँदिल्लीमा बसेर गुप्तालाई निर्देशन दिने अधिकारीले गुप्तालाई पठाएको भनिएको एउटा भिडियो क्लिपमा ‘निज्जरको रगतले लतपतिएको शरीर गाडीमा बाहिर झरेको देखाएको’ बताइन्छ । सो भिडियो गुप्ताले लापरबाहीपूर्वक उनले भाडामा लिएका बन्दुकधारीलाई(हिटम्यान) पठाउँदा अमेरिकी अधिकारीको हातमा पुगेको थियो ।

रोचक के भयो भने गुप्ताले गरपतवन्तलाई मार्न भाडामा लिएका बन्दुकधारी(हिटम्यान) अमेरिकाको लागुऔषध नियन्त्रणसम्बन्धी निकाय ‘युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसन (डिइए)’ का गुप्त एजेन्ट (अन्डरकभर एजेन्ट) निस्किए । ती एजेन्टले गुप्ताबाट थप प्रमाण चुहाउन सावधानीपूर्वक उनीसँग काम गरेको नक्कल गरे । यस क्रममा एजेन्टले गुप्ताको लापरबाहीपनबाट यति धेरै प्रमाण फेला पार्न सफल भए कि त्यसबाट संलग्न सबैलाई मुद्दा लगाउन पर्याप्त हुने बताइएको छ । नयाँदिल्लीमा बसेर गुप्तालाई भिडियो, सन्देश र विस्तृत योजना प्रदान गर्ने अधिकारीले पनि पर्याप्त सावधानी नअपनाइएको देखिएको छ । हालसम्म प्राप्त प्रमाणका आधारमा अमेरिकी अधिकारीले सहजै गुप्तालाई दोषी ठह¥याउन सक्छन् । 

क्यानडा र अमेरिकामा शिख पृथक्तावादी नेताको हत्या योजनामा भारतको नाम जोडिएपछि अमेरिकासँगको भारतको सम्बन्ध र देशको विश्वव्यापी छविमाथि नै असर परेको छ

यो प्रकरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बाहिर प्रचार गरिएको प्राथमिकतासँग असंगत देखिन्छ । वर्तमान मोदी सरकारले भारतलाई जिम्मेवार विश्वव्यापी शक्ति, जी–२० को प्रभावशाली आवाज र ग्लोबल साउथ (मुख्यतः दक्षिण गोलाद्र्धमा रहेका विश्वका विकासोन्मुख मुलुक)को नेताको रूपमा प्रवद्र्धन गर्न ठूलो मिहिनेत लगाएको छ । यस सरकारले देशवासीमाझ तिनको देश ‘विश्वगुरु’ बनिसकेको दाबी गर्ने गरेको छ ।

मोदीको नेतृत्वमा, भारतले अमेरिकासँगको सम्बन्धलाई थप घनिष्ठ बनाएको छ, जसलाई चीनको बढ्दो आक्रामकताप्रति दुई देशका साझा चिन्ताले थप प्रेरित गरेको छ । मित्र राष्ट्रको सार्वभौमसत्ताको उल्लंघन गर्दै विधिको शासन र स्थापित अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गर्दै तिनका नागरिकको हत्याको योजनाले भारतका उद्देश्यमा नकारात्मक असर गर्नेछ । के भारत सरकारभित्रका तत्वले मोदीको त्यो छविलाई थप अटुट राख्न माथि जानकारी नदिई आफैँले हत्या योजना अघि बढाए त ? गुप्ता एक अप्रशिक्षित अपरेटिभ हुनु वा उनी सक्षम अपराधी नभएको तथ्यले पन्नुनको हत्या गर्ने योजना माथिल्लो निकायमा नबनेको संकेत भेटिन्छ ।

गुप्ता प्रकरणले शिख पृथक्तावादीहरूलाई निसाना बनाउनु भारतको उच्च प्राथमिकता परेको संकेत गर्छ । सन् १९८० को दशकमा छुट्टै ‘खालिस्तान (पञ्जाबी धर्मावलम्बी बस्ने राज्य)’ को माग गर्दै एउटा हिंसात्मक आन्दोलन चलेको थियो । यसका सदस्यहरूले एयर इन्डियाको विमान विस्फोट गराएका थिए, जसमा विमानमा सवार सबै ३२९ जनाको ज्यान गएको थियो । तर, अहिले पृथक्तावादले भारतमा, यहाँसम्म कि भारतको शिख बहुल राज्य पञ्जाबमा पनि कुनै प्रभाव पारेको छैन । पछिल्लो समय भारतले शिख प्रधानमन्त्री (मनमोहन सिंह) र सेना प्रमुख पाइसकेको छ ।

अमेरिकाका लागि भारतका पछिल्ला तीन राजदूतमध्ये दुईजना शिख थिए । खालिस्तान मुद्दा अहिले शिख डायस्पोराको एक सानो अल्पसंख्यक समुदायले पालनपोषण गरिरहेको कल्पनामा सीमित भएको । यति कमजोर अभियानलाई देखाएर भारतको अमेरिकासँगको बढ्दो घनिष्टतालाई प्रभावित बनाउने वा भारतको विश्वव्यापी नेतृत्वको महत्वाकांक्षालाई जोखिममा पार्नु तर्कसंगत मान्न सकिँदैन । सम्भावना यो पनि छ कि चीनलाई सन्तुलनमा राख्न अमेरिकाले भारतलाई खुला रूपमा स्विकारेको देखेका केही भारतीय अधिकारीले अब जे गरे पनि उन्मुक्ति पाइन्छ भन्ने मूर्खतापूर्ण निचोड निकालेका हुन सक्छन् । यदि त्यसो हो भने उच्च जवाफदेहिता निकै महत्वपूर्ण हुन्छ । यस संकटलाई छिटोभन्दा छिटो साम्य गरिनुपर्छ र अमेरिका–भारतबीचको द्विपक्षीय सम्बन्धमा पर्न सक्ने थप हानिलाई न्यूनीकरण गर्नुपर्छ ।

भारत सरकारले ट्रुडोको आरोपपछि देखाएको जस्तो अडान अमेरिकालाई व्यक्त गरेको छैन । मोदी सरकारका प्रवक्ताले विदेशी भूमिमा गरिने हत्या ‘सरकारको नीतिविपरीत भएको’ भन्दै स्पष्टीकरण दिएका छन् । अमेरिकाले भारतलाई यस प्रकरणको अनुसन्धानका लागि दबाब दिए पनि उसले यस घटनाबाट दुई देशबीचको कूटनीतिक सम्बन्ध थप प्रभावित नहोस् भन्ने चाहेकोजस्तो देखिन्छ । तर, अहिले द्विपक्षीय सम्बन्धमा पुगेको क्षतिले पनि मोदीलाई हानि गर्न सक्छ ।

त्यस्तै यस घटनापछि विश्वको केही हिस्सामा भारत एक ‘लापरबाह विश्वशक्ति’को रूपमा चित्रण हुन थालेको छ, जो मार्नुपर्ने विदेशी नागरिकको सूची (हिट–लिस्ट) बोकेर हिँडेको छ । यसले आफू ‘विश्वमा शीर्ष स्थान लिन हिँडेको एक जिम्मेवार शक्तिको’ रूपमा देखाउने भारतको दशकौँको प्रयासमा हानि पुर्‍याउँछ । गुप्ता प्रकरण समाधान भएपछि अब भारतले संसारसामु आफू साँच्चै देशभित्र र बाहिर विधिको शासनप्रति प्रतिबद्ध देश रहेको देखाउनुपर्छ ।
–प्रोजेक्ट सिन्डिकेटबाट