मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Thursday, 19 December, 2024
शशी थरुर
२o७९ कार्तिक २५ शुक्रबार o७:४२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतीय प्रवासीको उदय र भारतको वास्तविकता 

विश्वभरमा प्रशंसा हुने भारतीय गुण भारतभन्दा बढी भारतीय प्रवासीमा झल्किनुले परिस्थिति गम्भीर छ भन्ने स्पष्ट हुन्छ

Read Time : > 2 मिनेट
शशी थरुर
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार o७:४२:oo

बेलायती राजनीतिको सर्वोच्च स्थानमा ऋषि सुनकको उदयले भारतभरि उत्सव छाएको छ । सुनकको उदय एक विशाल एवं दीर्घकालीन परिघटना हो, अर्थात् यसले पश्चिमा जगत्मा भारतीय प्रवासीको प्रभाव उल्लेखनीय बनेको देखाउँछ । गहुँगोरो वर्णका एक धार्मिक हिन्दू बेलायतको नेतृत्वमा पुग्नु निःसन्देह उपलब्धि हो ।
यो प्रवृत्ति हाल विशेषतः निजी क्षेत्रमा उल्लेखनीय ढंगले देखापरिरहेको छ, अर्थात् भारतीय मूलका अधिकारीले महŒवपूर्ण अमेरिकी बहुराष्ट्रिय निगमका कार्यकारी पदमा स्थान बनाउन सफल हुँदै छन् ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी निर्देशक (सिइओ) सत्य नडेला, अल्फाबेटाका सिइओ सुन्दर पिचाई र पेप्सिकोका पूर्वसिइओ इन्द्रा नुयी केही उल्लेखनीय नाम हुन् । यीबाहेक अन्य उदाहरण पनि भेट्न सकिन्छ । एस एन्ड पी ग्लोबल रेटिङ्सका अनुसार पाँच सय ठूला व्यवसायमध्ये ५८ भन्दा बढीका सिइओ अहिले भारतीय मूलका छन् । यो सूचीमा सन् २०१८ मा सेवानिवृत्त भएका नुयी र गत महिना एलन मस्कले ट्विटर अधिग्रहण गरेपछि निकालिएका पूर्वसिइओ पराग अग्रवाल पर्दैनन् । तैपनि, सूची अझै फराकिलो र विविध छ, अर्थात् सूचीले स्टारबक्सजस्तो कफी उद्योगका लक्ष्मण नरसिंहा र प्रविधि कम्पनी एडोबका शान्तनु नारायण र आइबिएमका अरविन्द कृष्णलाई समेट्छ । 

सुनकको उदय भारतीय मूलका मानिसको प्राभाव राजनीतिमा पनि परेको छ भन्ने प्रमाण हो । निक्की हेली राष्ट्र संघका लागि पूर्वअमेरिकी राजदूत एवं सन् २०२४ का सम्भावित राष्ट्रपति उम्मेदवार भारतीय पन्जाबी शिख आमाबाबुकी छोरी हुन् । त्यसैगरी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी आमा भारतीय हुन् । सन् २०१५ देखि पोर्चुगलमा प्रधानमन्त्री एन्टोनियो कोस्टा छन् र उनका बुबा भारतीय मूलका हुन् । चक्रीय प्रणालीका कारण पदमा नरहेका आयरल्यान्डका भारतीय मूलका पूर्वप्रधानमन्त्री लियो वराडकर यो वर्षको अन्त्यसम्ममा पदमा पुनर्वहाल हुने अपेक्षा गरिएको छ । भारतीय मूलका दुई नेता (सुनक र वराडकर) ले छिट्टै इंग्ल्यान्ड र आयरल्यान्डबीच ब्रेक्जिटपछिको कठिन वार्ताको नेतृत्व गर्न सक्छन् ।

यो प्रवृत्तिको कारण के हो ? किन भारतीय आप्रवासी र तिनका सन्तान पश्चिमा प्रणालीमा फस्टाइरहेका छन्, जबकि त्यहाँको व्यवस्था पश्चिममै जन्मेका र त्यहीँ शिक्षा–दीक्षा पाएका मूल निवासी स्थानीयका फाइदाका लागि बनाइएको हो ?

दुई शताब्दीको बेलायती औपनिवेशिक शासनका कारण भारतीयको अंग्रेजी भाषासँग परिचिततालाई भारतीय मूलको सफलताको एउटा कारण मान्न सकिन्छ । तर, सफलता भाषिक निपुणताले मात्रै सुनिश्चित हुँदैन । र, भाषिक निपुणताले गैरअंग्रेजीभाषी युरोपेली राष्ट्रमा भएको भारतीयको सफलतालाई पुष्टि गर्दैन । उदाहरणका लागि, जर्मनीमा भारतीय मूलका ५८ प्रतिशत कर्मचारी उन्नत शिक्षा वा तुलनात्मक विशेषज्ञताका सीप आवश्यक पर्ने पेसामा काम गर्छन् ।

अर्को सिद्धान्तअनुसार भारतीय आप्रवासी काम गर्न बढी प्रेरित छन् । भारतीय मूलका मानिस लामो समयदेखि अमेरिकाका सबै राष्ट्रिय र जातीय समूहमा सबैभन्दा बढी प्रतिव्यक्ति आय भएका समूह हुन् । पहिलो पुस्ताका भारतीय आप्रवासी दुर्लभ स्रोत, सरकारी नियमन र कर्मचारीतन्त्रको सुस्तताजस्ता चुनौती पार गर्दै सम्पत्तिलाई सामान्य रूपमा नलिई हुर्केका थिए । धेरैजसो भारतीयले व्यक्तिगत रूपमा अभाव अनुभव गरेका थिए वा विदेशी भूमि छोड्ने मनस्थिति नै बनाएका थिए । यद्यपि ती भारतीयसँग अझै पनि ‘दृढ संकल्प’ थियो, जुन धेरै स्वतन्त्र र समृद्ध परिस्थितिमा हुर्केका पश्चिमामाझ देखिँदैन । 

त्यसबाहेक भारतको इतिहास र विविधताले भारतीयलाई धेरै भाषा, धर्म र सभ्यताका व्यक्तिसँग जोडिने अवसर उपलब्ध गराएको थियो । ‘अन्य’सँग समायोजन गर्ने खुबी हामी भारतीयमा छ । तसर्थ, भारतीय प्रवासीले बहुराष्ट्रिय कम्पनीमा काम गर्दा घरमै बसेर काम गरेको महसुस गर्छन् ।

भारतीय मूलका पेसेवरले लोकतान्त्रिक राष्ट्रमा हुर्केका कारण आत्मबल, आलोचनात्मक चेत र अभिव्यक्तिको स्वतन्त्रताजस्ता बानी र विशेषताहरू हासिल गरेका छन्, जसलाई व्यापारिक विश्वमा आवश्यक मानिन्छ । यसबाहेक भारतीयलाई जोखिम निम्त्याउने वा विद्रोहीका सट्टा आविष्कारशील एवं रचनात्मकता भएका मानिस मान्ने गरिन्छ किनभने भारतीयले पदानुक्रमको सम्मान गर्छन्, जसले भारतीयलाई नयाँ समाजमा बढी स्वीकार्य र कार्यस्थलमा बढी सफल बनाउँछ ।

भारतको विविधताको प्रोत्साहन र अतिवादको अस्वीकृतिका कारण प्रतिस्पर्धात्मक परिस्थितिमा समायोजन हुन भारतीयलाई सजिलो हुन्छ । भारतीयले बलियो व्यावसायिक नैतिकता, घनिष्ठ परिवारिक सम्बन्ध र शिक्षा एवं सिकाइमा हुने सांस्कृतिक जोडबाट लाभ उठाउँछन् । मध्यम–वर्गीय पालनपोषणबाट हुर्केका बहुसंख्यक भारतीयले कडा परिश्रमको मूल्य सिकेका छन् र यसलाई अनुकरण गर्ने प्रयास गरेका छन् । पहिलो पुस्ताका आप्रवासीले प्रदर्शन गर्ने भारतीय विशेषता सुनक, वराडकर र ह्यारिसजस्ता दोस्रो वा तेस्रो पुस्ताका भारतीयमा सारेका छन् । विशेषतः ‘नयाँ भारत’को अनुहारका रूपमा प्रशंसा गरिएका सुनकले धेरै भारतीयका आदर्श एवं आकांक्षाको प्रतिनिधित्व गर्छन् । 

विडम्बना, भारतीयले आफ्नो प्रवासका उपलब्धिको हर्षबढाइँ गरिरहँदा प्रवासमा भारतीयले प्रदर्शन गर्ने विशेषतालाई भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले उन्मूलन गर्न खोजिरहेको छ । भाजपाशासित भारतमा सर्वोच्चतावादी हिन्दुत्व उग्र–राष्ट्रवादले विविधतालाई खतरामा पारेको छ र नयाँ राष्ट्रिय भाष्यमा एकरूपता र आज्ञाकारिताले व्यक्तिगत पहल र वैचारिक स्वतन्त्रतालाई उछिनेको छ । विश्वभर प्रशंसा हुने भारतीय गुण भारतभन्दा पनि भारतीय प्रवासीमा झल्किनुले परिस्थिति गम्भीर छ भन्ने स्पष्ट हुन्छ । 

(थरुर भारतीय कंग्रेसका वरिष्ठ नेता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट