अहिले दुई अर्ब मानिस विश्वकपको ज्वरोले ग्रस्त छन् भनेर ब्रिटिस कमनवेल्थबाहिरका कुनै पनि व्यक्तिलाई भनियो भने उसले तपाईंलाई अचम्म मानेर हेर्ने सम्भावना छ । विश्वका अधिकांश मुलुकका लागि फुटबल नै विश्वकप हो जुन गत वर्ष कतारमा भएको थियो र सन २०२६ मा उत्तर अमेरिकामा नहुँदासम्म फेरि हुनेछैन । तर, हामी बाँकीका लागि विशेष गरी, भारतीय उपमहाद्वीपका करिब दुई अर्ब मानिसका लागि अहिले भारतमा भइरहेको पुरुष क्रिकेट विश्वकप वास्तवमै महत्वपूर्ण छ ।
यो प्रतियोगिता इंग्ल्यान्डमा सम्पन्न सन् २०१९ को विश्वकपका दुई फाइनलिस्टबीच एक खेलका साथ ५ अक्टोबरबाट सुरु भएको छ । उक्त फाइनलमा हारेको न्युजिल्यान्डले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा इंग्ल्यान्डलाई पराजित गरेर बदला लियो । भारतीय प्रधानमन्त्रीको नामधारी यो रंगशाला रहेको अहमदाबादलाई भारतको नयाँ क्रिकेट राजधानीका रूपमा हेरिन थालेको छ । १९ नोभेम्बरमा हुने फाइनल खेलमा मोदी स्वयं पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
मोदीले अर्काे वर्ष हुने आमचुनावमा तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने तयारी गरिरहँदा भारतको सबैभन्दा लोकप्रिय प्रतियोगिताको फाइनलमा आफूलाई र आफ्नो भारतीय जनता पार्टी (भाजपा)लाई केन्द्रबिन्दुमा राख्ने उनको योजना सुनियोजित राजनीतिक कदम हो । विश्वकपको फाइनलमा भारतको जितले चन्द्रमाको दक्षिणी ध्रुवमा गत अगस्टमा लुनार रोभरको अवतरण र सेप्टेम्बरको जी–२० शिखर सम्मेलनलगायत हालैका अन्तर्राष्ट्रिय सफलताको शृंखलालाई अगाडि बढाउनेछ । (भारत जित्ने देश हो, तर यस प्रतियोगितामा प्रतिस्पर्धा सधैँ कडा हुन्छ ।)
भारतीय राजनीतिज्ञहरूले क्रिकेटसँग आफूलाई जोड्दा भोट बढ्छ भन्ने कुरा बुझ्न थालेको दशकौँ भयो । फलस्वरूप, भारतीय राजनीति र क्रिकेट कर्मचारीतन्त्रबीच घनिष्ठ सम्बन्ध रहेको छ । भारतीय क्रिकेटको सर्वाेच्च निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का शक्तिशाली सचिव जय शाह देशका दोस्रो शक्तिशाली राजनीतिज्ञ एवं मोदीका शक्तिशाली गृहमन्त्री अमित शाहका छोरा हुन् । मोदीका दिवंगत वित्तमन्त्री अरुण जेट्ली दिल्लीका शीर्ष क्रिकेट प्रशासक थिए । जेट्लीको निधनपछि संघीय राजधानीस्थित मुख्य क्रिकेट रंगशालाको नाम नै परिवर्तन गरियो र जेट्लीको नामबाट उक्त रंगशालाको नाम राखियो । एक समय आफ्नो गृहराज्य गुजरातमा क्रिकेट संघको नेतृत्व मोदी स्वयंले गर्ने गर्थे ।
भोटबाहेक क्रिकेटमा अथाह पैसा र विश्वव्यापी प्रभाव पनि छ । भारतले क्रिकेट खेलको विश्वव्यापी आयको लगभग ९० प्रतिशत हिस्सा ओगटेको छ । यस मामलामा भारतले क्रिकेट खेलका पुराना र स्थापित देशहरूलाई निकै पछाडि पारेको छ । सन् २०२१–२२ मा वार्षिक ७७ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको बिसिसिआई विश्वकै सबैभन्दा धनी क्रिकेट संस्था हो ।
भारतमा क्रिकेट एउटा खेल मात्रै होइन । यो एउटा राजनीतिक उपकरण, एउटा आकर्षक उद्योग, प्रतिष्ठाको एउटा स्रोत हो र विश्वव्यापी प्रभाव पार्ने भारतको शक्तिशाली उत्तोलकमध्ये एक पनि हो । अर्काे वर्ष पुनः चुनाव लड्ने तयारी गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई प्रयोग नगर्ने कुरै भएन ।
भारत विश्व क्रिकेटमा ट्वान्टी–२० (टी–२०) क्रान्तिको नेतृत्वकर्ता मुलुक पनि हो, जसले खेलको समयलाई संक्षिप्त (तीन घन्टा) बनाएर अझ ठूलो संख्यामा दर्शकहरू आकर्षित गर्यो । टी–२० अहिले क्रिकेटको सबैभन्दा नाफादायी स्वरूप भएको छ । अत्यन्त लोकप्रिय इन्डियन प्रिमियर लिग (आइपिएल)ले करोडौँ डलरको सम्झौताका साथ विश्वका उत्कृष्ट खेलाडीहरूलाई आकर्षित गरिरहेको छ । जुन भारतको विशाल टेलिभिजन दर्शकहरू र आकर्षक प्रायोजनबाट सम्भव भएको हो । बिसिसिआईले आइपिएलको पाँच वर्षको प्रसारण अधिकार बिक्रीको सम्झौता ६ अर्ब २० करोड डलरमा गरेको छ ।
विश्वकप सुरु हुँदै गर्दा भारतीय सेयर बजारमा उछाल आउन थालेको छ । प्रतियोगिता सुरु हुनुभन्दा तीन महिनाअघि प्रतियोगितासँग सम्बन्धित कम्पनीका सेयरको ब्लुमबर्ग इन्डेक्स २० प्रतिशतले बढिसकेको थियो । प्रतियोगिताका दिनहरूका लागि भारतले खेल्ने सहरहरूमा हवाई भाडा दोब्बर भएको छ भने अहमदाबादको भाडा ४१५ प्रतिशतले बढेको छ । यो विश्वकपले भारतीय अर्थतन्त्रलाई दुई अर्ब ६० करोड डलरले उकास्न सक्छ ।
क्रिकेटमा भारतको आर्थिक प्रभुत्वले यस खेलमाथि विश्वव्यापी रूपमा भारतको असमान प्रभाव पारेको छ । जेट्लीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा भारतको प्रभाव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा संयुक्त राज्य अमेरिकाको प्रभावजस्तै छ भनेर एकपटक मलाई भनेका थिए ।
बिसिसिआईले भारतको हितअनुसार विश्व क्रिकेटको समय तालिका बनाउन सफल भएको छ, विशेषगरी आइपिएलको लागि सबै खेलाडीहरू उपलब्ध हुने सक्ने गरी समय तालिका बनाउन सकेको छ । भविष्यको योजना, खेलका नयाँ नियम र आम्दानीको विश्वव्यापी वितरणसम्बन्धी अन्तर्राष्ट्रिय छलफलहरूमा भारतको निकै ठूलो प्रभाव हुन्छ । आइसिसीले हालै गरेको तीन अर्ब डलरको मिडिया राइट्स सम्झौताको ३८.५ प्रतिशत भारतले पाउनेछ ।
यसैगरी, भारतले यस वर्षको एसिया कपमा भाग लिन आफ्ना खेलाडी पाकिस्तान पठाउन अस्वीकार गरेपछि पाकिस्तानी क्रिकेट बोर्डसँग अधिकांश खेल श्रीलंकामा सार्नुपर्ने भारतको मागलाई स्वीकार गर्नुको विकल्प रहेन । पाकिस्तान प्रतियोगिताको आयोजक राष्ट्र त रह्यो, तर नाम मात्रको ।
यो खेलका दुई महाशक्ति मुलुक भारत र पाकिस्तानबीचको क्रिकेट सम्बन्ध सन् २००८ मा मुम्बईमा पाकिस्तानका आतंककारीहरूले आक्रमण गरेपछि रोकिएको छ । सन् २०१२–१३ मा भारतमा एउटा द्विपक्षीय शृंखला भए पनि भारतले आफ्ना खेलाडी पाकिस्तान पठाउन अस्वीकार गर्दै आएको छ ।
यसबाहेक, सन् २००८ देखि पाकिस्तानी खेलाडीले पनि आइपिएल खेलेका छैनन् र भारतसँगको सम्बन्धमा सुधार नआएसम्म उनीहरूलाई आइपिएलमा आमन्त्रण गर्ने सम्भावना न्यून छ । पाकिस्तानले भारतसँग खेल्दा प्राप्त हुने ठूलो राजस्वलाई गुमाउन चाहँदैन त्यसैले यी दुई देशको भेट अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र हुने गरेको छ ।
यसर्थ, भारत र पाकिस्तानबीचको योपटकको विश्वकपको खेल यस वर्षको सबैभन्दा चर्चित खेल हो । यो खेल नरेन्द्र मोदी स्टेडियममा हुनु कुनै आश्चर्यको होइन । अहमदाबादमा होटेलको कोठाको दर प्रतियोगिताआसपासका दिनहरूका लागि तीन सय प्रतिशत सम्मले बढ्यो । मानिसहरूले म्याचको दिनहरूमा सुत्न होटेल खोज्नुभन्दा अस्पतालका आकस्मिक चेकअपको बहनामा रातभर अस्पतालमा बस्नु सस्तो पाए । उडानहरू पूरै प्याक थिए ।
त्यस खेलमा भारतको जितलाई मोदी अर्काे जित र भारतको अदम्य उदयको अर्काे संकेतको रूपमा हेरिएको छ । भारतले हारेको भए त्यसले भाजपाका हिन्दू–राष्ट्रवादी समर्थकलाई भड्काउने थियो । १५ सदस्यीय टोलीमा रहेका दुईजना भारतीय मुस्लिम खेलाडीले राष्ट्रिय हितका लागि पर्याप्त निष्ठा नदेखाएको आरोप लाग्न सक्थ्यो ।यसमा कसले राम्रो खेल्यो भन्नेभन्दा पनि अरू धेरै कुरा छन् । किनकि भारतमा क्रिकेट एउटा खेल मात्रै होइन । यो एउटा राजनीतिक उपकरण, एउटा आकर्षक उद्योग, प्रतिष्ठाको एउटा स्रोत हो र विश्वव्यापी प्रभाव पार्ने भारतको शक्तिशाली उत्तोलकमध्ये एक पनि हो ।
– प्रोजेक्ट सिन्डिकेटबाट (संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव तथा भारतका पूर्वविदेश एवं मानव संसाधन विकास राज्यमन्त्री थरुर भारतीय राष्ट्रिय कंग्रेसका संघीय सांसद हुन् ।)