मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Thursday, 19 December, 2024
शशी थरुर
२o८o पौष २४ मंगलबार o९:o८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतका ‘हिन्दू सम्राट्’ तेस्रो कार्यकाल ताक्दै

Read Time : > 2 मिनेट
शशी थरुर
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार o९:o८:oo

भारतमा नयाँ वर्ष चुनावी चासोसाथ सुरु भएको छ । चुनावी मोर्चाबीचको प्रतिस्पर्धा स्पष्ट भइसकेको छ । चुनावमा एकातिर प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) छ भने अर्कातिर अधिकांश विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसनजिक रही इन्डिया गठबन्धनमा एकत्रित भएका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा एक दशक शासन गरिसक्दा भाजपाको भाष्य परिवर्तन हुँदै गएको छ । सन् २०१४ को चुनावी अभियानताका ‘अच्छे दिन आने वाले है’ अर्थात् राम्रा दिन आउनेछन् भनेर नारा उछालिएको थियो । समृद्ध गुजरातका मुख्यमन्त्री एवं आर्थिक विकासका अवतार भनेर चिनिएका मोदीले प्रधानमन्त्री भएपछि प्रत्येक वर्ष दुई करोड रोजगारी सिर्जना गर्ने वाचा गरेका थिए । यी वाचा त परका कुरा भए, मोदीको पहिलो कार्यकालमा घातक डिमोनिटाइजेसन भयो, जहाँ एक झट्कामा ८६ प्रतिशत भारतीय मुद्रा निष्क्रिय भयो ।

जनताले दुःख भोगे र आमबेरोजगारी फैलियो । यो अवस्थामा सन् २०१९ को चुनावका लागि नयाँ भाष्य आवश्यक थियो । चुनावको ठीक दुई महिनाअगाडि पाकिस्तान आधारित लडाकु समूहले कस्मिरको पुलावामामा आत्मघाती हमला गरेर ४० भारतीय अर्धसैन्य बलका लडाकुको ज्यान लियो । भाजपाले त्यसवेला चुनावलाई राष्ट्रिय सुरक्षा जनमतसंग्रह बनाइदियो, जहाँ पहिले गुजरात विकासका नायक भनेर चिनाइएका मोदीलाई पाकिस्तानको घुसपैठविरुद्ध लड्ने ५६ इन्चको छाती भएको योद्धाका रूपमा प्रस्तुत गरियो । पुलवामा हमलालगत्तै भारतका तर्फबाट पाकिस्तानको सैन्य आधारमा हमला गरियो र यसको ठूलो प्रचार गरियो । यसले मोदीलाई उत्तर भारतीय राज्यमा ठूलो फाइदा गरायो ।

तर, दोस्रो कार्यकालमा मोदीले योद्धा बनाइएको आफ्नो छविलाई पोस्ने भाष्यलाई जोगाउन सकेनन् । यो योद्धा छवि चीनले हिमालय क्षेत्रको विवादित भूमिमा अतिक्रमण गर्दा लल्याकलुलुक भयो । मोदीकै कार्यकालमा ४५ वर्षमा पहिलोपटक चीनसँगको हिंसात्मक टकरावमा २० भारतीय सेना मारिए । मोदीकै कार्यकालमा भारत र चीन दुवैले पहरेदारी गर्ने ६५ चौकीमध्ये २६ बाट चीनले भारतलाई बेदखल गर्‍यो । मोदी चिनियाँ आक्रमण र आफ्नो योद्धा छवि जोगाउन असफल भए । तसर्थ, अहिले सन् २०१९ को राष्ट्रिय सुरक्षा भाष्य फिका बनेको छ र भाजपा आउँदो चुनावका लागि नयाँ भाष्य निर्माण गर्न बाध्य बनेको छ । 

मोदी नेतृत्वको भाजपा धर्मका नाममा हुने चुनावी हतकन्डामा बलियो छ, मोदीको हिन्दू सर्वोच्चतावादी अस्त्रसामु विपक्षीको धार्मिक प्रत्याक्रमण विजयी हुन सक्नेछैन

अहिले सन् २०२४ मा भाजपाले मोदीलाई ‘हिन्दू हृदय सम्राट्’का रूपमा प्रस्तुत गर्न खोजिरहेको छ । वास्तवमा अहिले भाजपाले आफ्नो वास्तविक लय समात्न खोजिरहेको छ । भाजपाको हिन्दू राष्ट्रवाद नौलो होइन । र, सन् २००२ मा गुजरातमा करिब दुई हजार मानिसको हत्या हुने गरी भएको कुख्यात मुसलमानविरोधी सफायामा मोदी आफैँ जोडिएका छन् । यसैकारण सन् २०१४ को चुनावी प्रचारमा मोदीको हिन्दू राष्ट्रवाद त्यति धेरै प्रचारमा आएन । कुख्यात गुजरात मुसलमानविरोधी सफायाले बिगारेको छविलाई सुधार्न सन् २०१४ मा मोदीलाई आर्थिक नायकका रूपमा प्रस्तुत गरिएको थियो । 

आफ्नो दशकीय कार्यकालमा मोदीले मुलुकमा ८० प्रतिशतको संख्या रहेको हिन्दू समुदायलाई ग्राह्यता दिए । भाजपा सरकारले भारत स्वतन्त्र भएयताको भारतीय राजनीतिको वैश्विक धर्मनिरपेक्षतालाई हमला गर्ने गरी कार्यक्रमको शृंखला ल्याएको छ । अहिले भाजपाले मोदीको सच्चा हिन्दू छविलाई दुई गुणाले बढाएको छ । मोदीलाई वाम झुकाव राख्ने धर्मनिरपेक्षतावादीले भन्ने गरेको ‘जनता’को वास्तविक प्रतिनिधि बनाइएको छ । सच्चा हिन्दू बनाउने प्रयासको चरम अवस्था २२ जनवरीमा देखिनेछ, जब मोदीले अयोध्यामा राम मन्दिरको उद्घाटन गर्नेछन् ।

भाजपाले सन् १९९२ मा हिन्दू अतिवादी र कैयौँ आमहिन्दूलाई परिचालन गरी ध्वस्त बनाएको बाबरी मस्जिद क्षेत्रमा विशाल राम मन्दिर बनाउने उहिल्यै वाचा गरेको थियो । राम मन्दिर उद्घाटनले वाचा पूरा गरेको देखाउनेछ र यसले मुलुकभर विशेषतः उत्तर भारतीय राज्यमा भाजपाको चर्चा चुलिनेछ । यो सबले पार्टीको हिन्दूत्ववादी विचारधारालाई बलियो बनाउनेछ । 

राम मन्दिर उद्घाटनलगत्तै १४ फेब्रुअरीमा मोदीले युएईको अबुधाबीमा रहेको हिन्दू मन्दिर उद्घाटन गर्नेछन् । मोदी भारतको स्वतन्त्र विदेश नीति र भारतको बढेको सम्मानको डिङ हाँक्छन् । अबुधाबीको मन्दिर उद्घाटनले मोदीले भारतबाहिर हिन्दू धर्मको सम्मान फैलाएको भाष्य निर्माण गर्नेछ । सम्भवतः अबुधाबी उद्घाटनलगत्तै चुनाव घोषणा हुनेछ । यी घटनाक्रमले चुनावका सम्मुखमा मोदी हिन्दू नायक हुन् भन्ने भाष्य निर्माण हुनेछ । त्यसवेला मोदीलाई भोट हाल्नु भनेको हिन्दू पहिचानका लागि भोट हालेको ठहरिनेछ । 

इन्डिया गठबन्धनले मोदीविरुद्ध धर्मका नाममा प्रतिस्पर्धा गर्नुहुँदैन । किनभने मोदी नेतृत्वको भाजपा धर्मका नाममा हुने चुनावी हत्कण्डामा निकै बलियो छ, मोदीको हिन्दू सर्वोच्चतावादी अस्त्रसामु विपक्षीको धार्मिक प्रत्याक्रमण विजयी हुन सक्नेछैन । बरु इन्डिया गठबन्धनले सन् १९९२ को अमेरिकी चुनावबाट पाठ सिक्नुपर्छ । सो चुनावमा गठबन्धनले आफू र मतदातालाई ‘मूर्ख अर्थतन्त्र नै सबैथोक हो’ भन्ने भाष्य सम्झाउनुपर्छ । यो भाष्यअनुसार मुलुकको वास्तविक अवस्था अर्थतन्त्रले चित्रण गर्छ भन्ने देखाउँछ । चुनावका वेला ‘अच्छे दिन कहाँ गयो ? प्रत्येक वर्ष दुई करोड रोजगारी सिर्जना गर्ने वाचा कहाँ गयो ? ‘सबैको साथ सबैको विकास’ कहाँ गयो ? सबका खल्ती र बैंक खातामा ठूलो मात्रामा पैसा जम्मा गर्ने वाचा कहाँ गयो ? लगायत प्रश्न गरिनुपर्छ । यो चुनाव हिन्दूत्वको भाष्यविरुद्ध भारतीय जनताको आर्थिक अवस्था के छ भन्ने एजेन्डामा केन्द्रित हुनुपर्छ । इन्डिया गठबन्धनले यही एजेन्डामा रहेर चुनावी प्रश्न गर्नुपर्छ ।  

(थरुर भारतीय राष्ट्रिय कंग्रेसका नेता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट