Skip This
नेपालको सुदृढ लोकतन्त्रका पक्षमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
सुधीन्द्र भदोरिया
२o८१ चैत ३१ आइतबार o८:४६:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालको सुदृढ लोकतन्त्रका पक्षमा

Read Time : > 4 मिनेट
सुधीन्द्र भदोरिया
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार o८:४६:oo

नेपालमा राजसंस्था फर्किने विषय सम्भव नभएकाले यसबारे धेरै ध्यान दिन र टाउको दुखाउन आवश्यक छैन

नेपाल र भारतबिच राजनीतिक सम्बन्धको इतिहासक्रम रोचक छ । भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताको संलग्नतादेखि नेपालका आन्दोलनमा भारतीय नेता र जनताको सहयोग, समर्थन र शुभेच्छाको विवरण लामो छ । यसलाई ऐतिहासिक परिप्रेक्ष्यमा हेर्नुपर्छ । हाम्रो स्वतन्त्रता आन्दोलनमा वनारसमा रहेर नेपालका शीर्ष नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजीले ठुलो योगदान दिनुभयो । उहाँहरूले जयप्रकाश नारायण, राममनोहर लोहियाजस्ता शीर्ष नेतालाई मानेर स्वतन्त्रता आन्दोलनमा सहयोग गर्नुभयो । भारत स्वतन्त्र भयो, संविधान पनि बन्यो । त्यसलगत्तै नेपालमा पनि प्रजातन्त्र बहाली भयो, संविधान निर्माण गर्ने जनताको चाहना पूरा भएन । त्यसपछि राजाले सत्ता लिएपछि आन्दोलन सुरु भयो । सन् १९९० को जनआन्दोलनमा सहयोग गर्न चन्द्रशेखरजीलगायत हामी चाक्सीबारी, काठमाडौँ आयौँ । पूरै भरिएको आँगनमा हामीले प्रजातान्त्रिक आन्दोलनको समर्थन गर्‍यौँ । प्रजातन्त्रप्रति नेपाली जनताको उत्साह र हाम्रो सहकार्यको त्यो क्षण सम्झिरहेको छु । गणेशमान सिंह, किसुनजी, गिरिजाबाबुलगायत नेताहरू सम्झनामा हुनुहुन्छ र उहाँहरू रहुन्जेल हाम्रो सम्बन्ध सधैँ प्रगाढ र सुमधुर रह्यो ।

आजको दुनियाँ त्योभन्दा निकै अघि बढिसकेको छ । यसमा स्वतन्त्रता, लोकतन्त्र, संविधान, समतामूलक समानता छ । यही जगमा नेपालले बनाएको समावेशी संविधान महत्वपूर्ण छ । यही विरासत र उपलब्धिमा टेकेर अघि बढ्ने नेपाली जनताको सपनामा हामी समर्थन गर्छौँ । अब फेरि नेपाल पुरानो सामन्ती अँध्यारो युगमा फर्किन सम्भव छैन । नेपालका जनता समस्या समाधान हुनुपर्छ भन्ने चाहन्छन् । नयाँ आशा र उमंगसाथ संविधान बन्छ, लोकतन्त्र स्थापित हुन्छ । नौजवानहरू जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र औद्योगिक वातावरण चाहन्छन् । विगत चार दशकयता नेपालमा धेरै क्षेत्रमा विकास भएको छ । नेपालमा लोकतान्त्रिक संविधान छ । त्यसमा टेकेर ठुलो आकांक्षा बोकेका जनता र नयाँ पुस्तालाई सम्बोधन गर्नुपर्छ । यो आकांक्षी वर्गको चाहना जायज हुन्छ । त्यस आधारमा नेपालले आफ्नो भविष्य तय गर्नेछ । 

यहाँका मूर्धन्य नेता र लाखौँ जनताको त्याग र योगदानले नेपालको लोकतन्त्र सिञ्चित भएको छ । यसमा नेपाली कांग्रेस र वामपन्थी धारका दलहरूको सामूहिक योगदान छ । ठुलो राजनीतिक परिवर्तनपछि मानिसको आकांक्षामा निकै वृद्धि हुन्छ र त्यो पूरा हुन समय लाग्छ । त्यसक्रममा असन्तोष पैदा हुन्छ । दुनियाँमा असन्तोष कहाँ छैन ? अमेरिका, रुस, चीन, भारत, जापान, युरोप सबैतिर मानिसका असन्तुष्टि र आकांक्षा छन् । यो चलिरहन्छ र सरकारले संवाद पनि गरिरहन्छ । यसलाई अघि बढ्ने गरी सम्बोधन गर्नुपर्छ । नेपाल आधुनिक लोकतान्त्रिक मुलुक भएको हुनाले यही आधारमा नेपाली जनताका आकांक्षा सम्बोधन हुनुपर्छ । नेपाल पछि फर्किन्छ भन्ने मलाई लाग्दैन, नेपाली जनताको चेतना त्यस्तो छ जस्तो पनि लाग्दैन ।

नेपालमा राजसंस्थाबारे जे चर्चा छ, जे सन्दर्भ छ, भारतमा पनि सयौँ राजारजौटा छन् । राजनीतिक महत्वाकांक्षा भएका राजाले लोकतान्त्रिक प्रक्रियामा भाग लिएका छन् र भारतीय लोकतान्त्रिक प्रणालीका हिस्सा बनेका छन् । उनीहरूका लागि संवैधानिक र कानुनी ‘स्पेस’ छ । संविधानमा अन्य जनता या नेतालाई जति नै उनीहरूलाई पनि अधिकार छ । नेपालका राजाको अरू के इच्छा छ, मलाई जानकारी छैन । यो प्रणालीअन्तर्गत उनका केही विषय छन् भने नेपालको संसद् र सरकारले त्यसलाई सम्बोधन गर्ला । तर, राजसंस्था फर्किने विषय सम्भव छैन । दुनियाँमा एक समय राजाहरूले शासन गर्थे । मानिलिनुस्, ती सबैका सन्तति फेरि पनि राजगद्दीमा बस्न चाहन्छन् । के यो दुनियाँमा सम्भव छ ? त्यसकारण यस विषयमा धेरै ध्यान दिन र टाउको दुखाउन आवश्यक छैन ।

भविष्यमा के हुन्छ, यहाँको सामाजिक, आर्थिक र ऐतिहासिक परिप्रेक्ष्यले तय गर्ला । अन्तद्र्वन्द्व सबै देश र जनतामा हुन्छ । यो द्वन्द्वभित्र लोकतन्त्रको प्रभावकारी तरिकाले सबै विषयको समाधान गर्न सकिन्छ । भारतमा पनि त कति धेरै आन्दोलन भएका छन्, सरकारले सम्बोधन गर्छ । एउटा सरकारले पूरा गर्छ, फेरि अर्को सरकारले पूरा गर्छ । नेपाल पनि दुनियाँको लोकतन्त्रको हिस्सा हो । नेपाल विकास हुन्छ, संविधान रहन्छ र आधुनिक, समृद्ध र प्रगतिशील नयाँ नेपाल पनि लोकतान्त्रिक प्रक्रियाभित्रै हुन्छ । यसको विकल्प देखिँदैन ।

नेपाल स्वतन्त्र मुलुक हो । नेपालको राजनीतिक प्रक्रियावाहक यहाँका जनता र राजनीतिक दल हुन् । हरेक देशको हकमा यही हुन्छ । नेपालका पछिल्ला घटनाक्रमका विषयमा भारतमा वा बाहिर कसले के भन्छ भन्नेमा सरोकार राखिरहनु आवश्यक छैन । नेपाल आफ्नो बाटोमा हिँडिरहेको छ, अगाडि बढ्नेछ । जनताको इच्छा यहाँको लोकतन्त्र थप सुदृढ गर्नका लागि हुनेछ । सगरमाथाको शिखर जानुपर्छ, कुन बाटोमा तपाईंहरू हिँड्नुहुन्छ, यो तपार्र्ईंहरूको इच्छाको विषय हो । मेरो बुझाइमा नेपालको सगरमाथारूपी भविष्यमा पुग्ने बाटो लोकतन्त्रको हो । अहिलेको संविधान र लोकतान्त्रिक प्रणालीले यो बाटो देखाएको छ । 

भारतमा हरेक सरकार लोकतान्त्रिक प्रक्रियाबाट बनेका छन् । उत्तर प्रदेशका योगी आदित्यनाथदेखि सबै लोकतान्त्रिक संवैधानिक बाटोबाटै आएका हुन् । भारतमा भाजपा मात्र नभई प्रान्तहरूमा अन्य दलका पनि सरकार छन्, लोकतान्त्रिक विधि र प्रक्रियाबाट उनीहरू सञ्चालनमा छन् । नेपालले रोजेको बाटो र अहिले अभ्यास भइरहेको पद्धति पनि यही हो । नेपालको लोकतन्त्रप्रति भारतमा सबै पक्षको शुभेच्छा छ । सबै राजनीतिक दल, सबै लोकतान्त्रिक संस्था तथा समानता र सबैको सार्वभौमिकताको सम्मान गर्ने सबै जनताको नेपालमा लोकतन्त्रका लागि समर्थन छ । हामी गणेशमान सिंह प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्न आउने क्रममा भाजपाका नेता भगतसिंह कोस्यारीले पनि लोकतन्त्रको भविष्यका लागि शुभकामना पठाउनुभएको थियो । यसकारण नेपालमा लोकतन्त्रका पक्षमा भारतमा कुनै सन्देह छैन । हामी स्पष्ट रूपमा देखिरहेका छौँ कि नेपालको लोकतन्त्र थप मजबुत हुन्छ । 

आज विज्ञान, प्रविधि र सञ्चार प्रणालीले समाजलाई नयाँ तरिकाले तरंगित बनाएको छ । यसभन्दा पछाडि कोही पनि जान सक्दैन । थप प्रगति र समृद्धिका लागि यी चिजको उपयोग हुन्छ । दुनियाँ पछाडि जानेवाला छैन । यो नेपाल, भारत सबैका लागि हो । मैले नेपालका शीर्ष नेताहरू सबैसँग भेटेर शुभेच्छा व्यक्त गरेँ र उहाँहरूको पनि कुरा सुनेँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रेमभावसाथ चियावार्ता भयो । उहाँ हाम्रा पुराना मित्र हुनुहुन्छ । उहाँले भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीदेखि नेपालका पूर्वराष्ट्रपति रामवरण यादवजीबारे कुरा भयो । हामीले शैलजा आचार्यदेखि प्रदीप गिरिका बारेमा कुराकानी गर्‍यौँ । शेरबहादुर देउवासँग मेरो ४० वर्षदेखिको मित्रताका हिसाबले कुराकानी गर्‍यौँ । पूर्वप्रधानमन्त्री प्रचण्डसँग पनि चियावार्ता भयो । प्रकाशमान सिंहदेखि प्रकाशशरण महत, सुजाता कोइराला, प्रकाश कोइराला, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायत पुराना मित्रसँग कुराकानी भयो । नेपालको लोकतन्त्रबारे नेताहरूको चिन्ता छ । उहाँहरू यसका लागि काम गरिरहनुभएको छ । मलाई विश्वास छ, उहाँहरू सबैले मिलेर नेपालको लोकतन्त्र सुदृढ बनाउनुहुनेछ । 

नेपाल र भारतका जनताको सम्बन्धले लोकतन्त्र सुदृढीकरणमा पारस्परिकता बढाएको छ । हाम्रो सम्बन्ध सांस्कृतिक जगमा उभिएको छ । नेपालको हिमालयबाट भारततर्फ बगिरहेका नदीले भारतलाई लालनपालन र भरणपोषण गरिरहेका छन् । हजारौँ वर्षदेखि भारतको मैदानी इलाकाले हिमालयबाट लाभ लिइरहेको छ । हामी महात्मा बुद्धको न्याय अभियानमा एकैसाथमा छौँ । नेपालमा जन्मेका बुद्धले सारा विश्वलाई सिकाएको न्यायको पाठबाट नेपाल, भारतसहित सारा विश्वले लाभ लिएको छ । 

कुनै पनि लामो यात्रामा सानातिना समस्या आउँछन् र त्यो समाधान गरेर यात्रीहरू अघि बढ्छन् । नेपाल–भारत सम्बन्धको यात्रामा पनि यो हुन्छ । समस्या छन्, समाधान हुन्छन् र हामी अघि बढ्छौँ । दुवै देशका नेताबिच नियमित संवाद र छलफल हुँदै आएको छ र हुनु पनि पर्छ । नेपाल र भारतबिचको सम्बन्ध जनस्तरमा कहिल्यै बिग्रेको छैन । सरकारी तहमा समस्या भइरहन्छन्, हल पनि हुन्छ । नेपालले भारतको सुरक्षा चासो सम्बोधन गर्नुपर्छ र नेपालको भूपरिवेष्टित संवेदनशीलतालाई भारतले सम्बोधन गर्नुपर्छ । अहिले दुवै देशमा लोकतान्त्रिक पद्धतिबाट निर्वाचित सरकार छन् । दुवैले बसेर दुई देशका तमाम समस्या समाधान गर्नुपर्छ । 

नेपालका नयाँ पिँढी र सबैले विकसित नेपालको भविष्य देखेका छन् । नेपालमा प्रविधि, सञ्चार, आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा व्यापक परिवर्तन आएको छ । यो परिवर्तनको प्रक्रिया निकै तीव्र छ र यसले भविष्यमा नेपाललाई प्रगतिको मार्गमा हिँडाउनेछ । नेपालले आफ्नो लोकतन्त्रको बाटो तय गरिसकेको हुनाले अब यहाँको भाग्य र भविष्यको फैसला गर्ने न्यायमूर्ति नेपाली जनता मात्रै हुन् भन्ने भुल्नु हुँदैन । मेरो चार दशकभन्दा लामो नेपालबारेको बुझाइले भन्छ कि नेपालको लोकतन्त्र बलियो जगमा उभिएको छ र यसको भविष्य सुन्दर र उज्ज्वल छ । 

कतिपयले सोध्छन्, पूर्वराजा ज्ञानेन्द्रजीबारे बोल्नुस् । मेरो उहाँसँग परिचय छैन । म के सुझाव दिऊँ । नेपाल जसरी अघि बढेको छ, यो लोकतान्त्रिक प्रक्रियामा पूर्वराजा ज्ञानेन्द्र पनि सामेल हुनुहोस् भन्ने व्यक्तिगत शुभेच्छाबाहेक केही दिन सक्दिनँ । नेपालमा कोही होचो–अग्लो छैन, यो बराबरीको जमानामा पूर्वराजाले पनि त्यही सोच्नुपर्छ । अहिले एक भोटको तागत बराबरी छ । जन्मका आधारमा कोही पनि ठुलो या सानो हुने होइन । जन्मका आधारमा होइन, कर्मका आधारमा व्यक्तिको उचाइ तय हुन्छ । लोकतान्त्रीकरणको यस प्रक्रियामा नागरिकलाई जस्तै पुराना राजाहरूलाई पनि बराबरीको स्थान छ । नेपालको संविधान भारतको भन्दा समावेशी छ । यो अन्तको भन्दा राम्रो छ । म यति भन्छु, मौजुदा व्यवस्था प्रगतिशील र अग्रगामी छ, जसले नेपालको सुदूर भविष्यको सम्भावनाको सपना साकार पार्न सक्छ । 

नेपाली जनता यो संविधानका माध्यमबाट समृद्धिको बाटोमा अघि बढ्न चाहन्छन् । नेपालले शान्ति र विकासको आफ्नै बाटो तय गरेको छ । यसैले नेपालको समृद्ध भविष्यको बाटो तय गरेको छ । नेपालको लोकतन्त्रको भविष्य पनि यिनै परिवर्तनहरूको जगमा उभिएर तय हुनेछ ।

(नेपाल–भारत सम्बन्धका जानकार भदोरिया भारतका समाजवादी चिन्तक हुन्)
 

छुटाउनुभयो की ?