
कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका सांसद, एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सडक हेर्दा यहाँ नेता नभएको टिप्पणी गरेका छन् । उनी कर्णाली राजमार्ग सुर्खेत, दैलेख, कालीकोट हुँदै स्थलमार्गबाट (कर्णाली राजमार्ग) जुम्ला पुगेका हुन् । उनले भने, ‘सडक हेर्दा यहाँ विकासप्रेमी नेता नभएको अनुभूति भएको छ ।’
यो के सडक हो । विकासको मेरुदण्ड भनेकै सडक हो । यही सडक राम्रो नभएपछि यहाँको नागरिकको कसरी समृद्धि हुन्छ । सडक सञ्चालनमा आएको दशकौँ हुँदा पनि सुधार स्तरवृद्धि नहुनु दुःखद पक्ष हो । यहाँको नेताको कार्यसम्पादन चित्तबुझ्दो नभएको उनले बताए । उनले भने, ‘भ्रमण गर्न हवाईजहाजबाट आउँदा पनि हुन्थ्यो । तर, माथिल्लो कर्णालीका नागरिकको जनजीवन र यहाँको अवस्था बुझ्नकै लागि भए पनि स्थलमार्ग भएर आएको हुँ ।’
नेपालकै विशाल पर्यटकीय क्षेत्र मुगुको राराताल पुगेर फर्किने योजना रहेको पूर्वसञ्चारमन्त्री बाँस्कोटाले बताए । उनले भने, ‘कर्णालीमा समृद्धिको थुप्रै सम्भावनाहरू देखिए । तर, काम हुन नसकेको स्थलगत भ्रमणका क्रममा अनुभूति भयो । यहाँका नेताहरूले सक्रिय रूपमा काम गर्न सक्नुपर्दछ ।’