१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १ सोमबार o७:२७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्षमा ४७ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

०८० को चैत मसान्तमा सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रुपैयाँ थियो ०८१ को चैत मसान्तमा आइतबार सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ पुगेको छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार o७:२७:oo

वर्ष ०८१ मा सुनको मूल्य तोलामै ४७ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार ०८० को चैत मसान्तमा सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रुपैयाँ थियो । ०८१ को चैत मसान्तमा आइतबार सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

चालू आवको बजेटले सुनको आयातमा भन्सार दर बढाएर २० प्रतिशत पुर्‍याएको थियो । सो करको दर नघटाएको भए सुनको मूल्य थप उच्च हुने थियो । ०८० चैतमा सुनको आयातमा लाग्ने भन्सार दर १५ प्रतिशत थियो । १५ जेठमा बजेटमार्फत त्यो बढाएर २० प्रतिशत पुर्‍याइएको थियो । तर, भारतमा भने सुनको आयात गर्दा लाग्ने भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित राखिएको थियो । 

फलस्वरूप नेपालमा भन्दा भारतमा सुनको मूल्य कम पर्न गएको थियो, त्यसले भारतबाट अवैध रूपमा नेपालमा सुन भित्रिने गरेको थियो । त्यसपछि नेपाल सरकारले ९ मंसिरमा सुनको आयातमा लाग्ने भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा सीमित गरेको थियो । त्यसले सुनको मूल्य उच्च मात्रामा कम गराएको थियो । २० प्रतिशत नै भन्सार दर कायम भएको भए अहिले नेपालमा सुनको मूल्य प्रतितोला दुई लाखभन्दा माथि हुने थियो । 

यसबिचमा विश्वका विभिन्न मुलुकबिच युद्ध भयो । त्यसले विश्व अर्थतन्त्र प्रभावित हुने भएपछि अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी बढाएका थिए । त्यसले पनि सुनको मूल्य बढाएको थियो । पछिल्लोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाहेकका राष्ट्रहरूमा लगाएको भन्सार कर ९० दिनका लागि निलम्बन गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको विश्लेषकको भनाइ छ ।

 चार दिनमा १० हजार ६ सयले भाउ वृद्धि
पछिल्लो चार दिनमा मात्रै सुनको भाउ प्रतितोला १० हजार ६ सयले बढिसकेको छ । गत साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८५ हजारमा किनबेच भएको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो । बुधबार तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ७५ हजार चार सयमा किनबेच भएको सुनको मूल्य बिहीबार पाँच हजार सात सय रुपैयाँ बढेर एक लाख ८१ हजार एक सय रुपैयाँ पुग्यो भने शुक्रबार फेरि तीन हजार नौ सय रुपैयाँले बढेर एक लाख ८५ हजारमा किनबेच भएको हो ।

चाँदीको भाउ २१० रुपैयाँले बढ्यो 
वर्ष ०८१ मा चाँदीको मूल्य तोलामा दुई सय १० रुपैयाँले बढेको छ । ०८१ चैत मसान्तमा चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ थियो । ०८१ चैत मसान्तसम्म आउँदा त्यो बढेर १९ सय ६० पुगेको छ ।