Skip This
शेखर, गगन र विश्वप्रकाशको सरकारसँग असन्तुष्टि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ३१ आइतबार o६:२७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शेखर, गगन र विश्वप्रकाशको सरकारसँग असन्तुष्टि

प्रधानमन्त्रीको कार्यशैली एवं प्राथमिकता चयनका साथै सरकारको समग्र कार्यसम्पादनमाथि प्रश्न

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार o६:२७:oo

कांग्रेसइतर समूहका नेता डा. शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको प्रदर्शनप्रति असन्तुष्ट देखिएका छन् । शनिबार अलग–अलग कार्यक्रमलाई सम्बोधन गरेका उनीहरूले सरकारको कार्यसम्पादन र प्रधानमन्त्रीको कार्यशैली एवं प्राथमिकता चयनमाथि प्रश्न उठाएका छन् । 

सभापति शेरबहादुर देउवासँग पछिल्लो समय नजिक रहेका महामन्त्री थापाले शनिबार धनकुटामा आयोजित कार्यक्रममा नाम नलिई ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरे । राजधानीमा आयोजित अर्को कार्यक्रममा नेता कोइरालाले कांग्रेस सत्तामा रहेको, तर सरकारमा नरहेको टिप्पणी गरेका छन् । 

महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने सरकारी निर्णयको विरोध गरे । ‘केही दिनअघि सरकारले एउटा कर्मचारीबारे, जुन निर्णय गर्नुपर्ने थिएन, त्यो निर्णयका कारण साथीहरूले उत्तर दिँदै हिँड्नुपरेको छ । त्यो अनावश्यक निर्णय गरेको कारणले हो,’ थापाले भने, ‘हाम्रा साथीहरूले अनावश्यक रूपमा सामाजिक सञ्जालमा मात्र नभएर टोलमा हप्की खानुपरेको छ ।’ 

महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई गर्नुपर्ने काम मात्रै गर्न सुझाव दिए । ‘तिमीहरूले गरेको राम्रो कामको प्रचार गर्न पाऊँ न । नगर्नुपर्ने काम नगर, गर्नुपर्ने काम मात्रै गर न,’ आक्रोशित थापाले भने । 

यस्तै, महामन्त्री शर्माले प्रधानमन्त्री केपी ओलीले कामको प्राथमिकता छुट्याउन नसकेको भन्दै आलोचना गरेका छन् । कांग्रेस बाँकेको नेपालगन्जमा शनिबार भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन एवं प्रदर्शन सुधार गर्नतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ । प्रधानमन्त्रीज्यू, सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्नतर्फ लाग्नुस्,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपथ्र्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नुभो ।’

कांग्रेस नेता कोइरालाले प्रतिस्पर्धी एमालेसँग सरकारमा रहेको भन्दै असन्तुष्टि जनाए । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औँ साधारणसभामा शनिबार उनले भने, ‘यो कांग्रेस सम्मिलित सरकार हो । तर, हामी सत्तामा छौँ, सरकारमा छैनौँ ।’ उनले हरेक ठाउँमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने कांग्रेस सरकारमा सँगै रहेकोमा असन्तोष व्यक्त गरेका थिए । 

डा. कोइरालाले एमालेसँगको सहकार्यमा खबरदारी आवश्यक रहेको पनि बताए । ‘कहीँकतै यो सरकारले गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ । यदि खबरदारी भएन भने यसले कांग्रेसलाई भविष्यमा अप्ठेरो पर्न सक्छ,’ उनले भने, ‘त्यसैले हामी सत्तामा छौँ, सरकारमा छैनौँ भनेको हुँ ।’

सरकारमा मन्त्री भएकाहरूले एमालेसँग सहकार्य गरेर जानुपर्ने र सुशासनका लागि काम गर्नुपर्ने उनको भनाइ थियो । उनले संविधान संशोधन र सुशासनमा पनि जोड दिए । ‘संविधान पुनरावलोकन÷संशोधन गर्ने कुरामा अब ढिलाइ नगरौँ,’ कोइरालाले भने, ‘यसमा जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ ।’ उनले भ्रष्टाचार नरहेको, तर सुशासन कायम गर्नुपर्ने पनि बताए । 

सभापति देउवा रक्षात्मक
शनिबार डा. शेखर कोइरालाले सरकारबारे असन्तुष्टि पोखरिहँदा सभापति शेरबहादुर देउवा रक्षात्मक देखिए । देउवाले सरकारको नाममा अहिले ठुलो बदनामी भइरहेको पनि बताए । ‘डा. शेखर कोइरालाजीले भनिसक्नुभो । सरकारको नाममा धेरै ठुलो बदनामी भइरहेको छ । उहाँले यो नहोस् भनिसक्नुभयो,’ उनले कोइरालाले बोलेको विषयमा थपे । 

उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे यसअघि बोलेको विषय स्पष्ट पार्न चाहेको बताए । यसअघि देउवाले मुख्यमन्त्री आदित्यनाथले नेपाली राजदूतावसमा गएर नेपालका राजावादीलाई सहयोग नभएको प्रस्ट पारेको बताएका थिए । 

शनिबार देउवाले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले लखनउमा योगी आदित्यनाथलाई भेटेको बताए । ‘मैले भारत उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । उहाँ दिल्लीको नेपाली राजदूतावासमा आउनुभएको होइन । बरु, दिल्लीमा रहेका नेपाली राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो,’ देउवाले भने, ‘उहाँले हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको थियो ।’
 

छुटाउनुभयो की ?