मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Thursday, 19 December, 2024
सुधीन्द्र भदोरिया
२o७९ भदौ ८ बुधबार o६:४८:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिमालयजस्ता सहनशील, गंगाजस्ता गतिशील प्रदीपजी

लोकतान्त्रिक समाजवादीका रूपमा दृढ पहिचान भए पनि नेपालको राजनीतिक इन्द्रेणीमा प्रदीप गिरि हरेक रङका समूहबीच सम्मानित थिए

Read Time : > 5 मिनेट
सुधीन्द्र भदोरिया
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार o६:४८:oo

प्रदीप गिरि समाजवादी चिन्तक, नेपालको लोकतान्त्रिक क्रान्तिका महत्वपूर्ण नायक, भारत–नेपाल मित्रताका स्तम्भ, नेपालको संसद् तथा संविधानसभाका वरिष्ठ सदस्य थिए । नेपाली कांग्रेसका शिखर नेता प्रदीपजीको २० अगस्टमा काठमाडौंमा निधन भएकोमा भारतका समाजवादी र उनका सहकर्मीमाझ अपूरणीय क्षति भएको छ । उनको साढे सात दशक लामो जीवन नेपालमा प्रजातन्त्र स्थापना गर्ने ठूलो सपनाका लागि पूर्ण समर्पण, रोमाञ्चक संघर्ष र सबै प्रकारका बाधाविरुद्ध सफलताको अद्भूत कथा हो । उहाँसँग करिब ६ दशक लामो मित्रताका आधारमा भन्न सक्छु– प्रदीपजीसँग हिमालयको जस्तो सहनशीलता र गंगाको जस्तो गतिशीलता थियो । प्रदीपजीको मनमोहक व्यक्तित्व थियो । प्रदीपजीमा विद्वान् र कर्मयोगीको मात्र होइन, विचारक र नायक, साहस र बुद्धि, विद्रोह र अनुशासन, कविता र क्रान्ति, सपना र यथार्थको असाधारण संयोजन थियो । 

नेपालको समृद्ध एवं जग्गाजमिन प्रशस्त भएको परिवारमा जन्मेर विराटनगर, काठमाडौं, वनारस र दिल्लीमा पढेका, नेपालको कठोर शासनमा युवावस्थामा राजबन्दी बनेका प्रदीप गिरिजी आफैँमा प्रेरणाका स्रोत थिए । मेरा लागि मात्र नभई उनी नेपाल र भारतका समाजवादीका लागि उत्साहको अपार स्रोत थिए । मेरा विद्यार्थीकालदेखिका परम मित्र प्रदीपजीमा सानैदेखि ज्ञान र अनुभवको दायरा फराकिलो थियो । विद्यार्थी जीवनदेखि उनी साथी बनाउनमा असाध्यै अब्बल थिए । लोकतान्त्रिक समाजवादीका रूपमा आफ्नो दृढ पहिचान भए पनि नेपालको राजनीतिक इन्द्रेणीमा उनलाई हरेक रङका समूहमा सम्मान गरिएको थियो । यो चानचुने विषय होइन । प्रदीपजी भारतीय राजनीतिक वृत्तभित्र भारतीय राष्ट्रिय कंग्रेसदेखि राष्ट्रिय जनता दल र जनता दल (युनाइटेड) सम्मको नेतृत्वसँग उनी परिचित थिए । उनको सबै खाले राजनीतिक वृत्तमा मैत्रीपूर्ण सम्बन्ध थियो । उनी हामीमाझ प्रिय र सम्मानित दुवै थिए । 

कांग्रेस परिवारमा प्रदीपजीले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई बेग्लै व्यक्तित्वका रूपमा सम्मान गरेका थिए । भारतीय राजनीतिका एक नक्षत्र राम मनोहर लोहियाका प्रिय पात्र थिए प्रदीपजी । प्रदीपजीको पहिलो गिरफ्तारी पनि लोहियासँगको पत्राचारका कारण भएको थियो । महात्मा गान्धी, जवाहरलाल नेहरू, जयप्रकाश नारायण, नंबुदिरिपाद, जर्ज फर्नान्डिसदेखि किशन पटनायकसम्मका सोचको राम्रो ज्ञान थियो प्रदीपजीमा । 

मलाई राम्रोसँग याद छ, आफ्नो असहमतिका बाबजुद प्रदीपजीले नेपाली राजनीतिका मूर्धन्य नेता आदरणीय बिपी कोइरालाका कृतिहरूको संकलन र सम्पादन गरेका थिए, जसले नेपालको बौद्धिक प्रवचनको आधारभूत कार्य पूरा गरेको थियो । जे होस्, नेपाली राजनीतिमा उनी ‘वैचारिक साहस’मा अनुपम नायकका रूपमा चिनिएका थिए । माओवादी र कांग्रेसबीच सहकार्यको जग बसाल्न उनको महत्वपूर्ण भूमिका थियो ।  

प्रदीपजीसँग मेरो परिचय सन् १९६७ मा कासी हिन्दू विश्वविद्यालयमा समाजवादी युवा सभाको पहिलो गोष्ठीमा भएको थियो । त्यस समयका समाजवादी विद्यार्थी नेता डी. मजुमदारले आयोजना गरेको गोष्ठीमा उनी र म सँगै थियौँ । मद्रास क्याफेमा टेबुलवरपर पाँच युवालाई राखेर भर्खरै नेपालको कारागारबाट बाहिर निस्केका प्रदीपजीले एक घन्टा समाजवादी विचार प्रवाहको कखरासहित व्याख्या गरेका थिए । त्यसवेला विभिन्न विषयमा उत्पन्न शंका पनि समाधान गरेका थिए । उनले माक्र्स–एंगेल्सको कम्युनिस्ट घोषणापत्र, नरेन्द्र देवको राष्ट्रिय र लोहियाको इतिहास चक्र पढ्न सुझाब दिए । यसरी एउटा नेपाली टर्चले वनारसमा समाजवादी विचारको दीपावली सजाउन थाल्यो । 

त्यसयता उनको घाँटीको क्यान्सरको उपचारका लागि बम्बईको अस्पतालमा भर्ना भएदेखि यही जुलाईसम्म हामी सम्पर्कमा रह्यौँ । प्रदीपजीसँगको संगतका क्रममा करिब ६ दशक बित्यो । वनारस–दिल्ली–काठमाडौंमा प्रदीपजीसँग भएका अनगिन्ती भेटमा उनीसँगको सम्बन्ध उस्तै रह्यो कुनै रङ, टोन, चिन्ता, सहकार्यमा कमी आएन । प्रदीपजी सधैँ केही ठूला योजनाका लागि चिन्तित थिए । कहिले आशावादी थिए । उनीसँग कहिले केही प्रश्न हुन्थे । कहिले धेरै सुझाब हुन्थे । कहिले व्यस्तताका कारण छोटो फोन र कहिले फुर्सदमा चियाका कपमा हामी रम्दै आएका थियौँ । उनको स्वभाव ‘रमता जोगी, बगेको पानी’ जस्तो थियो, जसले हिजो, आज र भोलिबीच कुनै क्रम बनाउन सक्दैन । त्यसैले उनीसँग मैले व्यतीत गरेको ‘आज र अहिले’को महत्व बढी थियो । 

प्रदीपजीमा विद्वान् र कर्मयोगीको मात्र होइन, विचारक र नायक, साहस र बुद्धि, विद्रोह र अनुशासन, कविता र क्रान्ति, सपना र यथार्थको असाधारण संयोजन थियो

नेपाली राजनीतिको संसदीय लहरमा छलाङ मारिसकेपछि संवादका महत्व थप बढेर गयो । तर, हामीबीच खास तत्वका विषयमा कम कुरा भयो, तात्कालिकता हाम्रो प्राथमिकतामा रह्यो । हाम्रो कुराकानीपछि भेटको अन्तिममा प्रदीपजीले भनेको मेरो कानमा गुञ्जिरहेको छ– हेर्नुस्, कति जरुरी कुराकानी गर्ने सोच बनाएर आएका थियौँ । तर, कामको कुराकानी केही भएन । अब काठमाडौंमा एकदम उलटपलटको माहोल छ, त्यसकारण जान्छु । अर्कोपटक हामी व्यवस्थिति चर्चा गरौँला । तर, अब यसो भन्नका लागि प्रदीपजी आउनेछैनन् । 

प्रदीपजी आजीवन नेपाली लोकतान्त्रिक नवनिर्माणका लागि प्रतिबद्ध रहे । उनको मनमा नेपाललाई सामन्तवादको बन्द गल्लीबाट मुक्ति दिलाउने र नेपालमा लोतन्त्रको घामरूपी ऊर्जाले समाजवादी नवनिर्माणलाई सजाउने सपना थियो । यो सपना उनको बन्दी जीवनकालमा फुलेको थियो । यो उनको सौभाग्य थियो कि उनको युवावस्थाको सपना मध्यम उमेरमा साकार भयो ।  

मैले नेपालका शीर्ष नेताहरू बिपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायत नेतासँग निकट सम्बन्धमा रहेर काम गरेको छु । कांग्रेसका शीर्ष नेता बिपी, गणेशमानलाई म नजिकबाट चिन्थेँ मात्र होइन, उहाँहरूबाट मैले राजनीतिक प्रेरणा पनि लिने गरेको थिएँ । नेपालको लोकतान्त्रीकरणका लागि यी दुई महारथीलाई बिर्सन मिल्दैन । उहाँहरू मेरा राजनीतिक गुरु हुनुहुन्थ्यो । कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवाजी मेरा पुराना परम मित्र हुनुहुन्छ । प्रचण्डजी, माधव नेपालजी, केपी ओलीजी, बाबुराम भट्टराईजीसँग पनि मेरो अटुट मित्रता छ । ओलीजी उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री हुँदा मैले धेरैपटक नेपाल–भारत सम्बन्धबारे कुराकानी गरेको छु ।

उहाँसँग पनि मेरो गहिरो सम्बन्ध छ । लोकतन्त्रको लडाइँ नेपालले लडिरहँदा हामी साथमै थियौँ । त्यसवेला प्रदीपसँग मेरो निरन्तर सहकार्य भयो । गिरिजाबाबु, प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालजीसँग हामीले सहकार्य गर्‍यौँ । प्रदीपको देहान्त भएका वेला म सबै नेतासँगको सहकार्य र सम्बन्धबारे सम्झना गरिरहेको छु । 
नेपाल र भारत यस्ता छिमेकी हुन्, जहाँ मित्रता दुवैका लागि आवश्यक र अपरिहार्य छ । यो दोहोर्‍याउनु आवश्यक छैन, दक्षिण एसियाका अन्य मुलुकबीचको द्विपक्षीय सम्बन्धको तुलनामा नेपाल र भारतबीचको सम्बन्धको महत्व उच्च छ ।

सांस्कृतिक रूपमा त हामी जोडिएकै छौँ, हिमालयदेखि अरब सागरसम्म भौगोलिक रूपमा पनि हामी जोडिएका छौँ । व्यापार, पर्यावरण, सामरिक सबै हिसाबले हाम्रो सम्बन्ध महत्वपूर्ण छ । दुई देशका जनताको सम्बन्ध पनि हामीले वर्णन गरेर साध्य छैन । ०६२/६३ मा नेपालमा प्रजातान्त्रिक आन्दोलनका वेला भारत सरकार र नेपाली राजनीतिक दलबीच हामीले समन्वय गरेका थियौँ । नेपाली जनताको आन्दोलनप्रति हामीले ऐक्यबद्धता जनायौँ । तत्कालीन सांसद डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरीसहित हामीले नेपाली नेतृत्वसँग सहकार्य गर्‍यौँ । यस सन्दर्भमा प्रदीपजीसँग हाम्रो विशेष सहकार्य र समन्वय थियो । प्रजातन्त्र, मानवअधिकार र विश्वभरका दलितका लागि अनवरत जीवन व्यतीत गरेका नेपालका यी महान् लडाकुलाई भारतीय लोकतान्त्रिक र कट्टरपन्थी मानवतावादीले सदा स्मरण गरिरहनेछन् । 

मैले लामो समयदेखि नेपालको राजनीतिक जीवन अध्ययन गरिरहेको छु । नेपालको पछिल्लोपटक संविधान निर्माणअघि र पछिको चरणको अध्ययन र विश्लेषण गरेको छु । नेपालले इतिहासमा पहिलोपटक प्रगतिशील संविधान जारी गरेको छ, जसमा जनजाति, दलित, महिला सबैलाई उचित स्थान छ । नेपाली मात्र होइन, भारतको राजनीतिक प्रणाली, कर्मचारीतन्त्र, राजनीतिक दल नेपालको लोकतन्त्रबाट प्रभावित छन् भन्दा म गर्व गर्छु । मेरो र भारतका राजनीतिक वृत्तको चाहना छ कि नेपाली जनता र लोकतन्त्रको स्वास्थ्य राम्रो होस्, लोकतन्त्र सुदृढ होस् । 

राजतन्त्र हुँदा भन्दा अहिले नेपालमा उन्नत राजनीतिक प्रक्रिया अघि बढेको छ । अंग्रेज हुँदा भारतको आर्थिक स्थिति राम्रो थिएन । बेलायतले भारतबाट खर्बौं रुपैयाँ लग्यो र उसको हामीमाथि ठूलो शोषण रह्यो । स्वतन्त्रतासँगै प्राप्त लोकतन्त्रले भारतलाई अहिले यो ठाउँसम्म पुर्‍याएको हो । नेपालमा पनि गिरिजाबाबुको नेतृत्वमा भएको आन्दोलनले राजतन्त्रको शोषणबाट मुलुकलाई अघि बढायो, फलस्वरूप २० वर्षयता नेपालले लोकतन्त्रमार्फत ठूलो राजनीतिक उपलब्धि हासिल गरेको छ । नेपालको लोकतन्त्र राष्ट्र निर्माणमा ऐतिहासिक फड्को हो भन्नेमा म स्पष्ट छु । म मान्छु कि नेपालका राजनीतिक दलहरूले राष्ट्रहितमा धेरै काम गर्न बाँकी छ, तर प्रजातान्त्रिक प्रक्रियामा यसले ठूलो फड्को मारेको छ । दुनियाँ लोकतन्त्रमा आधारित छ ।

मानव अधिकार र लोकतन्त्रका सन्दर्भमा नेपालले सही बाटो लिएको छ । नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध वा अन्य विषयमा लिने निर्णयका सवालमा भारतमा कुनै पनि प्रकारको फरक राय छैन र हुनु हुँदैन । यस सन्दर्भमा नेपाल सही बाटोमा छ । नेपालले स्वतन्त्र मुलुकका रूपमा आफ्ना निर्णय गरिरहेको छ । यसमा मेरा मित्र प्रदीपजीलगायत नेपाली लोकतन्त्रप्रेमीले ठूलो मिहिनेत गर्नुभएको छ । धेरै त्याग गर्नुभएको छ । महात्मा गौतम बुद्धले पनि हामीलाई जोडेका छन् । गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीले विश्वलाई शान्तिको सन्देश दिएको छ । हामी सबै बुद्धबाट प्रभावित छौँ । संस्कृति, विचारधारा, भावनामा हामीबीच गहिरो प्रभाव र अन्तरसम्बन्ध छ । 

इतिहास साक्षी छ, नेपालमा बिपी, किसुनजी, गणेशमानजी महत्वपूर्ण र सम्मानित नेता हुनुहुन्थ्यो । त्यही समयमा भारतमा जेपी, राममनोहर लोहिया, चन्द्रशेखरजी ठूला व्यक्तित्व हुनुहुन्थ्यो । दुवैतिर यो स्तरका नेताबीच अत्यन्तै निकट सम्बन्ध थियो । अहिले त्यो तहका नेता भारत र नेपाल दुवैतिर छैनन् । तर, जो–जो नेता छन् र हामी जो–जो बाँकी छौँ, हामी बसेर आपसी विश्वास र समझदारी बढाउनुपर्छ । समझका आधारमा विभिन्न समयमा आउने विवादको समाधान गर्नुपर्छ । ससाना स्वार्थमा दुवै देशका नेता प्रवेश गर्नु हुँदैन । यस सन्दर्भमा प्रदीपजीसँग भएका संवाद मेरो मस्तिष्कमा झल्झली घुमिरहेका छन् । आज प्रदीपजी हामीसँग छैनन्, तर उनले छाडेका विचार र प्रेरणाको जगमा हामी अघि बढ्नुपर्छ ।  
अलबिदा प्रदीपजी ! 

(भदोरिया भारतका समाजवादी चिन्तक एवं बहुजन समाज पार्टीका शीर्ष नेता हुन्)