मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ असोज ३ शुक्रबार o९:४३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा विवाद उत्कर्षमा- ‘होम म्याच’ भियतनाम पुर्‍याएकोमा पाँच पदाधिकारीको असहमति

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार o९:४३:oo
  • एसियन कप छनोटअन्तर्गत ‘होम एन्ड अवे’अनुसार आगामी ९ र १४ अक्टोबरमा दुवै लेगका खेल नेपालले भियतनाममै खेल्नेछ

एएफसी एसिया कप छनोटअन्तर्गत दशरथ रंगशालामा भियतनामविरुद्ध हुने भनिएको ‘होम म्याच’ विदेशी मैदानमा लगेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिका पाँच पदाधिकारीले सहमति जनाएका छन् । एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षहरू विराटजंग शाही र दीर्घबहादुर केसीसँगै सदस्यहरू रवीन्द्र चन्द र रूपेश अधिकारीले असन्तुष्टि जनाएका हुन् । 

एसियन कप छनोटअन्तर्गत होम एन्ड अवेअनुसार आगामी ९ र १४ अक्टोबरमा दुवै लेगका खेल नेपालले भियतनामै खेल्दै छ । एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अयोग्य घोषणा गरेका कारण दुई वर्षयता एएफसीका कुनै आधिकारिक प्रतियोगिता भएका छैनन् । यद्यपि, २१ भदौमा फिफाको मान्यता प्राप्त नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण खेल भने रंगशालामा भएको थियो । 

एन्फाका पाँच पदाधिकारीले बिहीबार अध्यक्ष पंकजविक्रम नेम्वाङलाई संयुक्त रूपमा असहमतिपत्र लेखेका हुन् । उनीहरूले राष्ट्रिय गौरवको भावना खोसिनु अन्यायपूर्ण भएको ठहर गर्दै खेलाडीको मनोबल र प्रदर्शनमा नकरात्मक असर गर्ने बताएका छन् । 

‘नेपाली खेलाडीले घरेलु मैदानमा पाउने आत्मविश्वास, दर्शकको साथ र राष्ट्रिय गौरवका भावना खोसिनु अन्यायपूर्ण मात्र नभई दीर्घकालीन रूपमा खेलाडीको मनोबल र प्रदर्शनमा नकारात्मक असर पर्नेछ,’ पत्रमा भनिएको छ । नेपालले छनोटअन्तर्गत १८ नोभेम्बरमा मलेसियाविरुद्ध हुने घरेलु खेल पनि मलेसियाकै मैदानमा हुने निर्णय भइसकेको छ । 

कार्यसमितिमा छलफल नै नभएको आरोप
असमति जनाएका पाँच पदाधिकारीले नेपालका घरेलु खेल विपक्षी वा विदेशी मैदानमा सार्ने क्रममा कार्यसमितिमा कुनै छलफलसमेत नगरिएको आरोप लगाएका छन् । ‘यस्तो संवेदनशील निर्णयमा न त कार्यसमितिसँग कुनै छलफल भएको छ, न त आधिकारिक सूचना नै दिइएको छ,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘वैकल्पिक खेल स्थल खोजिएको छ कि छैन भन्नेबारे पनि स्पष्टता दिइएको छैन ।’ एन्फाको एकतर्फी निर्णयले संस्थागत पारदर्शितामा प्रश्न उठेको उनले बताएका छन् । 

‘अझ गम्भीर र संवेदनशील विषयमा वैकल्पिक भेन्यु खोजिएको छ वा छैन भन्नेबारे पनि कुनै स्पष्टता दिन आवश्यक ठानिएको छैन । यस प्रकारको एकतर्फी निर्णयले मात्र नभई संस्थागत पारदर्शिता र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको छ,’ उनले भने । घरेलु खेललाई विपक्षी वा विदेशी मैदानमा सारेर नेपाली समर्थकलाई आफ्नै भूमिमा राष्ट्रिय टोलीको समर्थन गर्ने अवसरबाट वञ्चित गराउनु फुटबलप्रतिको उत्साह र जनआस्थामाथिको प्रहार भएकाले असहमति जनाएको पाँच सदस्यले जनाए ।

हामीलाई आधिकारिक सूचना नै दिइएन : वीरबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष, एन्फा 
एन्फाले यस्तो संवेदनशील निर्णयमा कार्यसमितिसँग कुनै छलफल गरेन । न त हामीलाई आधिकारिक सूचना दिइएको छ । अझ एएफसी एसिया कप छनोटअन्तर्गत घरेलु खेलको संवेदनशील विषयमा वैकल्पिक भेन्यु खोजिएको छ वा छैन भन्नेबारे पनि कुनै स्पष्टता दिन आवश्यक ठानिएन । यसप्रकारको एकतर्फी निर्णयले मात्र नभई संस्थागत पारदर्शिता र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठेको छ ।

फुटसल निर्देशक महर्जनको राजीनामा
एन्फाका फुटसल निर्देशक राज महर्जनले राजीनामा दिएका छन् । एएफसी फुटसल कप, २०२६ को छनोट प्रतियोगितामा नेपाल सहभागी नहुँदा एसियाली फुटबल महासंघ (एएफसी)ले गरेको कारबाही र त्यसको जिम्मेवार एन्फा सचिवालयलाई ठहर्‍याउँदै महर्जनले बिहीबार राजीनामा बुझाएका हुन् । छनोट प्रतियोगितामा तयारी नपुगेको भन्दै एन्फाले अन्तिम समयमा नाम झिक्दा एएफसीले नेपाललाई कारबाहीस्वरूप १० हजार अमेरिकी डलर जरिवाना तिराएको छ । 

निर्देशक महर्जनले एन्फा अध्यक्ष नेम्वाङलाई पत्र लेख्दै आफूलाई दिइएको जिम्मेवारी परित्याग गरेको जानकारी दिएका छन् । उनले एन्फा सचिवालयको लापरबाहीका कारण छनोट खेलमा नेपाल सहभागिता हुनबाट वञ्चित भएको आरोप लगाएका छन् । 

‘नेपालबाट छनोट खेलमा भाग नलिएको र कारबाहीमा परेको खबर मिडियामार्फत जानकारी पाउँदा मलाई एकदम ठुलो पीडा महसुस भएको छ । फुटसल विभाग प्रमुखका रूपमा यस प्रतियोगितासम्बन्धी सबै कामकारबाही समयमै सचिवालयमा बुझाएको थिएँ,’ महर्जनले भने, ‘सचिवालयले फुटसलका लागि कुनै पनि बजेट विनियोजन नगरेका कारण प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भएको जनकारी गराउन चाहन्छु ।’ महर्जनले गैरजिम्मेवार एन्फा सचिवालयअन्तर्गत पदमा रहेर काम गर्न नसकिने हुनाले २ असोजदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताए । 

एएफसीका अनुसार छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिनअगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । जसकारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो । एन्फाका महासचिव किरण राईले तयारी नपुग्दा छनोट खेलमा सहभागी नभएको बताएका छन् ।