मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजमा सहभागी हुने नेपाली खेलाडीलाई बिहीबार क्यानद्वारा बिदाइ गरिँदै । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज ३ शुक्रबार o९:३२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोस्रो नेपाल प्रिमियर लिग : पहिलो खेलको टिकट बिक्रीबाट उठेको सबै रकम प्रधानमन्त्री राहत कोषमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार o९:३२:oo

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलको टिकट बिक्रीबाट उठेको सबै रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बिहीबार युएई जाने नेपाली टोलीको बिदाइ गर्दै १ मंसिरमा हुने पहिलो खेलबाट उठ्ने रकम राहत कोषमा जम्मा गरिने जानकारी दिएका छन् । ‘प्रतियोगिताको पहिलो खेलबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ,’ क्यानका सचिव पारसले भने ।

क्यानको आयोजनामा १ देखि २७ मंसिरसम्म दोस्रो एनपिएल कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र विराटनगर किंग्सले प्रस्पिर्धा गर्नेछन् । आठ फ्रेन्चाइज टोली सहभागी हुने लिगको साबिक विजेता जनकपुर बोल्ट्स हो । अहिले मैदानको पुनर्निर्माण भइरहेको छ । यहाँ १० हजार क्षमताको सिट जडान भइसकेको छ । 

क्यानले यसपटकको एनपिएल डे–नाइटमा गराउने लक्ष्य राखेको छ । जेन–जी आन्दोलनका कारण फ्लड लाइटका केही सामग्री वीरगन्ज भन्सारमा अड्किएको छ । यद्यपि, ठेकेदार कम्पनीले मैदानमा चाँडै ६ वटा फ्लड लाइट जोडिने जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका सचिव पारसलगायतले अर्को साता वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज खेल्ने नेपाली टोलीको बिदाइ गरेका छन् । 

युएईको सारजहाँ रंगशालामा २७–३० सेप्टेम्बरसम्म नेपाल र वेस्ट इन्डिजबिच तीनवटा टी–२० आई सिरिज हुनेछ । जसको नाम युनिटी कप राखिएको छ । नेपाली टोली शनिबार युएई प्रस्थान गर्नेछ । त्रिवि मैदानमा क्यानले जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । जेन–जी आन्दोलनका कारण युएईले अस्थायी रूपमा नेपालीको भिसामा कडाइ गरेको छ । यसको प्रभाव नेपाली क्रिकेटरमाथि परेको छ । बुधबार रातिसम्म पनि उनीहरूको भिसा आएको थिएन । 

वेस्ट इन्डिजविरुद्धको सिरिज महत्वपूर्ण
नेपाली कप्तान रोहितकुमार पौडेलले आइसिसी टी–२० विश्वकप एसिया छनोटअघि वेस्ट इन्डिजसँगको सिरिज महत्वपूर्ण रहेको बताएका छन् । ‘वेस्ट इन्डिजसँगको सिरिज निकै महत्वपूर्ण छ,’ पौडेलले भने, ‘यस सिरिजले आइसिसी विश्वकप टी–२० अन्तर्गत एसियन छनोटमा सहयोग गर्ने विश्वास लिएको छु ।’ उनले सिरिज नेपाली टोलीका लागि ऐतिहासिक भएको बताए । नेपालले विश्वकप छनोटको अन्तिम तयारीका रूपमा वेस्ट इन्डिजसँगको सिरिजलाई लिएको छ । 

उनले गत अगस्टमा नेपाली टोलीले अस्ट्रेलियामा विभिन्न स्थानीय टोली तथा बंगलादेश र पाकिस्तानका ‘ए’ टोलीसँग प्रतिस्पर्धा गरेको थियो । कप्तान पौडेलले सबै खेलाडी राम्रो लयमा रहेको बताए । ‘अहिले खेलाडीहरू उत्कृष्ट फर्ममा छन्,’ उनले भने, ‘वेस्ट इन्डिज ‘ए’सँगको पछिल्लो ३–२ को नतिजाले पनि आत्मविश्वास बढाएको छ ।’ यो दुई वर्षभित्र टेस्ट राष्ट्रहरूसँग खेलेका अनुभवले खेलाडीमा आत्मविश्वास बढेको उनको भनाइ छ । 

खेलाडीलाई अवसर
नेपालका मुख्य प्रशिक्षक स्टुआर्ट ल अहिले लन्डनमा छन् । स्टुआर्ट लन्डनबाटै नेपाली टोलीसँग युएईमा जोडिनेछन् । यसबिच नेपाली टोलीलाई सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गराएका छन् । प्रशिक्षक मल्लले वेस्ट इन्डिजसँगको सिरिजलाई अवसरका रूपमा लिनुपर्ने बताएका छन् । ‘यो सिरिज नेपाली क्रिकेटका लागि अवसरका रूपमा छ । खेलाडीले पनि ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ,’ मल्लले भने, ‘टेस्ट राष्ट्रलाई हराउने अवसर र टेस्ट राष्ट्र बन्ने यात्रामा यो सिरिजले सहयोग पुग्ने विश्वास गरेको छु ।’ राखेपका सदस्यसचिव घिसिङले टेस्ट टोलीसँग खेल्ने अवसर विरलै प्राप्त हुने बताए । 

उत्साहित क्रिकेटर 
कप्तान पौडेलले ऐतिहासिक सिरिज खेल्न उत्साहित रहेको बताएका छन् । उनले सिरिजमा राम्रो प्रदर्शन गर्ने र विश्वकपमा छनोट पनि भएर फर्कने बताए । यो सिरिजपछि नेपालले ओमानमा विश्वकप छनोटका खेल खेल्नेछ । वेस्ट इन्डिजको टोलीमा अकिल होसेनले कप्तानी गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा आदिल अन्सारी, सन्दीप जोरा र ललितनारायण राजवंशीले पुनरामगन गरेका छन् ।