नेपालमा शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै लोकतन्त्र गतिशील भएको छ । नेपालको लोकतान्त्रिक बाटो नेपाली जनताको इच्छाबाट तय भएको हो । नेपाली जनता हमेसा लोकतन्त्र चाहन्छन् र निर्वाचनमार्फत उनीहरूले लोकतन्त्रलाई विजयी बनाएका छन् । राजनीतिक दलहरूको हारजित एउटा पक्ष हो, तर लोकतन्त्रको महायज्ञमा नेपाली जनताले जितेका छन्, यो महत्वपूर्ण छ । यो निर्वाचन नेपालमा ०७२ मा जारी नयाँ संविधानको पनि विजय हो । लामो समयदेखि लोकतन्त्रका लागि अनवरत सक्रिय तमाम राजनेताहरूको त्यागको परिणामस्वरूप नेपाल सही दिशामा अघि बढिरहेको छ ।
बिपी कोइराला, गणेशमानजी, किसुनजीलगायत मूर्धन्य नेता र लाखौँ जनताको त्याग र योगदानले नेपालको लोकतन्त्र सिञ्चित छ । राजतन्त्र अन्त्य भएसँगै नेपाली जनता सर्वश्रेष्ठ भएका छन् । र, यो पुनित कार्यमा नेपाली कांग्रेस मात्र नभई नेपालका वामपन्थी धाराहरूको पनि सामूहिक योगदान छ । भारतीय चस्माबाट हेर्दा नेपालको पछिल्लो निर्वाचन समतामूलक समाज निर्माण गर्ने नेपाली जनताको सामूहिक संकल्पको विजय हो । राष्ट्रवादी, वामपन्थी, लोकतन्त्रवादी र लिबरल नौजवान पुस्ता नेपालको समुन्नत भविष्यको रेखा कोर्न संसद्मा आएका छन् ।
नेपालको पुरानो पार्टी नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ । कांग्रेसको आकार मात्र नभई उत्तरदायित्व पनि ठूलो छ । कांग्रेसको संसदीय दलले अनुभवी नेता शेरबहादुर देउवाजीलाई चुनेको छ । संसदीय गणितका आधारमा नेपालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको छ । नेपाल–भारत सम्बन्धका परिचित एवं हाम्रा पुराना मित्र प्रचण्डजीको नेतृत्व र कार्यकालमा भारत र नेपालबीच रहँदै आएको सुदृढ मित्रता थप बलियो हुनेछ भन्नेमा हामी भारतवासी आशावादी छौँ । हामी प्रधानमन्त्री प्रचण्डजीलाई भारतमा स्वागत गर्न प्रतीक्षारत पनि छौँ ।
नेपालको संविधान समावेशिताको दृष्टिकोणले विश्वकै नमुना छ भन्न हामीले हिचकिचाउनु हुँदैन । विश्वकै आदर्शवादी संविधान हो यो, जहाँ सबैको भागिदारी छ । देश सानो भए पनि समावेशीकरण सुनिश्चित छ र मुलुक संघीय संरचनामा छ । यस सन्दर्भमा सानो देश भए पनि नेपालले विश्वमा समावेशिता कार्यान्वयन कसरी गर्ने भनेर विश्वलाई सिकाएको छ । नेपालले दुनियाँलाई नयाँ परिवर्तनको ज्योति दिएको छ ।
विश्वको अग्लो भूभाग सगरमाथाबाट नेपालले आफ्नो रोशनी विश्वभर फैलाएको छ । नेपालप्रति म र मजस्ता मानिसको प्रेम शब्दमा मात्र सीमित छैन । मसँग व्यक्त गर्ने शब्द छैन । मेरो निजी जीवनका तीन नेता भारततर्फ जयप्रकाश नारायणजी, राममनोहर लोहियाजी र चन्द्रशेखरजीले नेपालको लोकतन्त्रमा ठूलो योगदान दिनुभएको छ । उहाँका धेरै साथी नेपालमा थिए र छन् । नेपालतिर बिपी, गणेशमानजी, किसुनजीप्रति मेरो व्यक्तिगत घनिष्ठ सम्बन्धको प्रतिबिम्ब अहिले पनि छ ।
एक भेटमा मैले माओवादी अध्यक्ष प्रचण्डजीलाई भनेको थिएँ, ‘माओवादीको बलले नेपालमा बिपी, गणेशमानजी र किसुनजीको सपनालाई पनि पूरा गर्नुपर्छ । ख्याल गर्नुस् है !’ प्रचण्डजीले मेरो कुरामा सहमति जनाउनुभएको थियो । अब प्रधानमन्त्री प्रचण्डजी, केपी ओलीजी, शेरबहादर देउवाजी, बाबुरामजी, माधव नेपालजी सबै मिलेर नेपाललाई समृद्ध बनाउनुपर्छ । म महात्मा बुद्धको जन्मभूमि नेपालको भविष्य सुन्दर देखिरहेको छु ।
यतिवेला विश्व संकटमा छ । वैश्विक संकटको बाछिटा सबैतिर पुगेको छ । कोरोना महामारीले उत्पन्न गरेको आर्थिक संकटको घाउ पुरिएको छैन । यो वेला जलवायु परिवर्तनले ल्याएको ‘ग्लोबल वार्मिङ’को संकट उत्तिकै गम्भीर रूपमा आएको छ । पर्वत संकटमा छ । नेपाल पर्वतमालाको दक्षिणतर्फ छ । भारतमा पर्वतलाई देवता मान्ने गरिन्छ, यसकारण नेपालको अवस्थिति देवतुल्य छ । अर्थात् नेपाल एउटा देवभूमिका रूपमा विश्व मानचित्रमा अवस्थित छ । अन्य देशजस्तै देवभूमि नेपालमा पनि आर्थिक व्यवस्थापनको चुनौती छ । बेरोजगारी समस्या छ, विकासका लागि साधनस्रोतको अभाव छ । तर, नेपाली जनता धैर्यवान् छन् । नेपालले संकटको सामना गर्नेछ, यसका लागि उसको छिमेकी देशसहित अन्तर्राष्ट्रिय समुदायसँगको निकट सम्बन्धले नतिजा दिनेछ ।
नेपालमा नयाँ सरकारको नेतृत्व ‘टेस्टेड’ र परिपक्व नेता प्रचण्डले गर्नुभएको छ । उहाँको पालामा नेपाल–भारत सम्बन्धको जग अझ बलियो हुनेमा हामी विश्वस्त छौँ । नयाँ सरकारसँग काम गर्न भारत सरकार तयार छ ।
नेपालमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री प्रचण्डजी र प्रतिपक्षी कांग्रेसका नेताहरूको साझा अठोट नेपालको विहंगम विकासका लागि अपरिहार्य छ । कांग्रेसमा कोइराला परिवारका सदस्यहरू र गगन थापाको पुस्तालाई लिएर देउवाजीले कांग्रेसलाई गतिशीलता दिने दायित्व समयले सुम्पिएको छ । प्रतिपक्षमै रहेर पनि नेपाललाई स्थायित्वको मार्गमा लैजान कांग्रेसको महत्वपूर्ण भूमिका हुनेछ ।
हामी चाहन्छौँ, नेपालमा स्थिर सरकार होस् । यो भारतवासी र सरकार सबैको चाहना हो । कांग्रेसको नेतृत्वमा नेपालले स्थिरताको बाटो समातेको छ र प्रचण्डजीको नेतृत्वमा राजनीतिक स्थिरताले निरन्तरता पाउने अपेक्षा छ । नेपाल–भारत सम्बन्धका दृष्टिले हेर्दा नेपालमा नयाँ सरकारको नेतृत्व प्रमाणित (टेस्टेड) र परिपक्व प्रचण्डले गर्नुभएको छ । उहाँको पालामा नेपाल–भारत सम्बन्धको जग अझ बलियो हुनेछ भन्नेमा हामी पूर्णतः विश्वस्त छौँ । नयाँ सरकारसँग काम गर्न भारत सरकार तयार छ । मेरा मित्र एवं अनुभवी कूटनीतिज्ञ विदेशमन्त्री डा. एस जयशंकरजी पनि नेपालप्रति सकारात्मक हुनुहुन्छ ।
नेपाल महात्मा गौतम बुद्धको जन्मदेशका रूपमा विश्व मानचित्रमा सम्मानित छ । विश्वमा अहिले देखा परेका संकट वा द्वन्द्व समाधानका लागि नेपाल छलफल र संवादको अन्तर्राष्ट्रिय केन्द्र किन बन्न सक्दैन ? यसतर्फ हामी सबैले सोच्नु आवश्यक छ । यो सुन्दर र तटस्थ देशले यो भूमिका निर्वाह गर्न सक्छ ।
नेपाल आफैँमा सुन्दर मात्र छैन, परिवर्तनको मामिलामा पनि नेपाल ज्योति हो । नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधा र क्षमता भएका कारण द्वन्द्व समाधानका लागि विश्वस्तरको सम्मेलन नेपालले आयोजना गर्न सक्छ । भविष्यमा नेपाल विचार विमर्शको केन्द्र बन्न सक्छ र बन्नु पनि पर्छ । पहिलो र दोस्रो विश्वयुद्धमा स्विट्जरल्यान्डमा संवाद हुन सक्यो, त्यहीँबाट लिग अफ नेसन्स खडा हुन सक्यो भने नेपाल अहिले किन त्यो स्तरको केन्द्र बन्न सक्दैन ? नेपालमा यसका लागि केको कमी छ ? आज हामी आणविक युगमा छौँ । यो पृथ्वीमा नेपालजति सुन्दर छ, यो ब्रह्माण्ड पृथ्वी उत्तिकै सुन्दर छ । पृथ्वी नष्ट हुनबाट रोक्ने प्रयास यो सुन्दर नेपालबाट किन हुन सक्दैन ? पृथ्वीका हामी ताजा प्रजाति हौँ, जसका कारण पृथ्वी नष्ट हुन लाग्दा नेपालले सगरमाथाको उचाइबाट यसका लागि प्रयत्न गर्न सक्छ । अब नेपालले यसका लागि आगामी पाइला चाल्नु आवश्यक छ ।
यसका लागि सर्वप्रथम नेपाल र भारतबीच संवाद आवश्यक छ । मेरो संगतका आधारमा उल्लेख गर्नु सन्दर्भिक ठान्छु कि भारतमा विदेशमन्त्री डा. एस जयशंकर र विदेश सचिव विनयमोहन क्वात्रा नेपालबारे जानकार मात्र होइन, अत्यन्तै सकारात्मक हुनुहुन्छ । उहाँहरूसँग नेपालको सम्बन्धित निकायले संवाद गर्नुपर्छ । अर्को कुरा, भारतमा जोसुकै प्रधानमन्त्री बने पनि तिनले नेपालबारे चासो राख्छन् । नयाँ सरकार गठनसँगै नेपाल र भारतबीच संवाद हुनुपर्छ भन्नेमा म छु । नेपालको समृद्धिको चाहनामा भारतको नेतृत्व कहिल्यै पनि बाधक छैन भन्ने हाम्रो विश्वास हो ।
भारत र चीनबीच यतिवेला सम्बन्धमा कटुता रहँदै आएको छ । चीनले सन् १९६२ मा भारतविरुद्ध आक्रमण ग¥यो । चीनसँग हाम्रो सुरक्षा चासो रहँदै आएको छ । नेपालबाट सन् १९९९ मा भारतीय जहाज अपहरण भयो । नेपालले भारतको जायज सुरक्षा चासो सम्बोधन गर्नुपर्छ । नेपालले सम्बोधन गर्दै आएको पनि छ । यस सन्दर्भमा कुनै थप विषय भए दुई देशको विदेश मन्त्रालयबीच खुला र घनीभूत छलफल हुनुपर्छ । नेपाल र भारत दुवैका पुर्खाले हामीलाई शान्तिको पाठ सिकाएका छन् । नेपालमा जन्म लिएका महात्मा गौतम बुद्धले भारतको सारनाथबाट शान्ति र मोक्षको सन्देश दिएका छन् ।
विगतमा दई देशका उच्च नेताबीच सघन संवाद थियो । सन् १९९० को जनआन्दोलनताका चन्द्रशेखरजीसँग म नेपालमा चाक्सीबारीस्थित गणेशमानजीको घर गएको थिएँ । त्यहाँको बैठकले आन्दोलनका लागि एउटा माहोल सिर्जना गरेको थियो । नेपालको लोकतन्त्रका लागि हामीले काम गरेका थियौँ । दुई देशका नेताबीच अहिले पनि निजी तवरमा सम्बन्ध छ, तर सघनतामा भने कमी आएको छ । प्रचण्डजी, ओलीजी, देउवाजीको भारतका सबै तहका नेतासँग निजी तवरमा सम्बन्ध छ । अन्य नेताहरूको पनि उत्तिकै सम्बन्ध छ । नेपालका नेताहरू प्रकाशमान सिंहजी, विमलेन्द्र निधिजी, शेखर कोइरालाजी, बाबुरामजी, माधव नेपालजी सबैसँग भारतको राजनीतिक वृत्तमा निजी सम्बन्ध छ ।
नयाँ पिँढीका राजनीतिक नेताबीच पनि सम्बन्ध विकसित गर्नुपर्छ । यसका लागि नेपालका नेतालाई सहयोग गर्न हामी हमेसा तयार छौँ । पुरानो पुस्ताको सम्बन्धको घनिष्ठता नयाँ पुस्ताले सिक्नुपर्छ, ग्रहण गर्नुपर्छ । दुनियाँ अहिले विज्ञानबाट आर्टिफिसिएल इन्टेलिजेन्समा पुगेको छ । दुई देशका नेता र सबै पक्षबीच सम्बन्धको घनिष्ठताले दुवैलाई फाइदा हुन्छ । नेपाल गतिशील विकासका माध्यमबाट अघि बढोस् भन्ने हामी सबैको चाहना छ । पृथ्वीनारायण शाहले बनाएको आधुनिक नेपालको भौगोलिक स्थिति नेपालका लागि वरदान बनेको छ । शान्ति र लोकतन्त्र थप मजबुत बनाउने दायित्व अहिलेका नेताहरूको काँधमा छ ।
अहिलेको वैश्विक परिस्थितिमा ठूला देशहरूले हैसियतअनुसारको प्रभाव विस्तार गर्नु नयाँ होइन । नेपालमा पनि प्रभाव बढाउने होडबाजी सबैतिरबाट भएको छ । यो स्वाभाविक पनि हो । यस्तो होडबीच नेपालले सबैसँग समदूरी कायम राख्नुपर्छ । नेपालले सबै पक्षका सकारात्मक विषय ग्रहण गर्नुपर्छ र सबैसँग मित्रता कायम राख्नुपर्छ । नेपालले यो कार्य गर्दै आएको छ ।
अन्त्यमा, नेपालले आफ्नो बाटो सानदार ढंगले तय गरेको छ । नेपालको भाग्य र भविष्यको फैसला गर्ने न्यायमूर्ति नेपाली जनता नै हुन् । भारत नेपालको मित्र बन्नुको विकल्प छैन । नेपालमाथि कसैले पनि हस्तक्षेप गर्न सम्भव छैन किनभने नेपाल कमजोर जगमा उभिएको छैन । नेपालको लोकतन्त्र बलियो जगमा उभिएको छ । नेपालको लोकतन्त्रको भविष्य उज्ज्वल छ ।
(भारतीय समाजवादी चिन्तक भदोरिया बहुजन समाज पार्टीका राष्ट्रिय प्रवक्ता हुन्)