Skip This
सुम्निमा र पारुहाङको सालिक तोडफोडप्रति भर्त्सना
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
२o८१ चैत ३१ आइतबार o८:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुम्निमा र पारुहाङको सालिक तोडफोडप्रति भर्त्सना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार o८:४१:oo

दिप्रुङ चुइचुम्मा गाउँपालिक–६ छितापोखरीको मैस्याङटारस्थित सुम्निमा–पारुहाङ पार्क (उद्यान)मा रहेको सुम्निमा र पारुहाङको सालिक तोडफोड भएको घटनाप्रति गाउँपालिकाले भर्त्सना गरेको छ । गलत मनसायका साथ शुक्रबार राति अज्ञात समूहले सुम्निमा र पारुहाङको सालिक तोडफोड गरेकोे भन्दै गाउँपालिका प्रमुख लोकेन्द्र राईले विज्ञप्तिमार्फत भर्त्सना गरेका हुन् । 

गाउँपालिकाको मुख्य पर्यटकीय स्थलमध्येको रणनीतिक महत्वको क्षेत्रमा रहेको पार्कमा निर्मित सालिक तोडफोड भएको घटना निन्दनीय र निकृष्ट रहेको गाउँपालिका प्रमुख राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अक्षम्य आपराधिक घटनाको गम्भीर अनुसन्धान गरी चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कानुनबमोजिम कडाभन्दा कडा सजायको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । 

किराँती पुर्खाहरूको सालिक तोडफोड गर्नेलाई पक्राउ गर्न खोटाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी दिइसकेको समेत गाउँपालिका प्रमुख राईले बताए । पर्यटकीय स्थल मैस्याङटारमा आगामी १ वैशाखमा साकेला सिली प्रदर्शनी कार्यक्रम राखिएपछि सालिक तोडफोड भएको हुन सक्ने बताइएको छ । 

पर्यटकीय स्थल मैस्याङटार क्षेत्रलाई केन्द्रित गर्दै जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिका तथा प्रदेश सरकारले बजेटको समेत व्यवस्था गरिरहेको अवस्थामा उक्त घटना भएको विज्ञप्तिमा उल्लेख छ । छितापोखरीको मैस्याङटारमा दुई वर्षअघि कोशी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त ४० लाख लगानीमा सुम्निमा र पारुहाङको सालिक निर्माण गरिएको थियो । 

छुटाउनुभयो की ?