
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका बाबु रामदास थारूको २३ वर्षपछि मृत्यु संस्कार गर्न मान्छेहरू जम्मा हुँदा २८ वर्षीया अस्मिता कुस्माको आँखाभरि आँसु थियो । उनको घरमा २६ चैत बिहानैदेखि भिड थियो । उनी आफ्नो आँसु आमा सुगमती थारू र अन्यलाई देखाउन चाहन्न थिइन् । त्यही भएर घरको एक कुनामा बसेर बेपत्ता बुबालाई सम्झँदै अन्त्येष्टिका लागि फूलको माला उन्दै थिइन् । घरमा जम्मा भएका आफन्त र छिमेकीहरू कोही कुशको शव बनाउन व्यस्त थिए भने कोही शव बोक्न बाँसको डोला बनाउँदै थिए ।
२६ चैत ०५८ मा ३८ वर्षीय रामदासलाई इलाका हुलाक कार्यालय भुरीगाउँमा काम गरिरहेको अवस्थामा तत्कालीन शाही नेपाली सेनाले गाडीमा हालेर लगेको अस्मिता बताउँछिन् । ‘दाइ र म सानै थियौँ । बुबा हुलाकमा हल्काराको जागिरे गर्नुहुन्थ्यो, आमा गृहिणी । सशस्त्र द्वन्द्वकालमा बुबालाई माओवादी भएको आशंकामा राज्य पक्षले लिएर गयो । हामी सानै भएकाले त्यतिवेला सबै कुरा बुझेका थिएनौँ । परिवारले खोजी गरे पनि बुबा फेला पर्नुभएन,’ अस्मिता भन्छिन्, ‘बुबा बेपत्ता भएपछि आमाले निकै दुःख पाउनुभयो । मजदुरी गरेर हामी दाजुबहिनीलाई आत्मनिर्भर हुने गरी शिक्षादीक्षा दिनुभयो । तर, बुबाको अभावमा भने परिवारले सधैँ पीडा भोग्यो । बेपत्ता हुँदा बुबा आज आउनुहुन्छ कि भोलि आउनुहुन्छ कि भन्ने लाग्थ्यो ।’
आमा सुगमतीको अभिभाकत्व र प्रेरणाले यहाँसम्म पुगे पनि बुबाबारे सत्य थाहा नपाउँदा निकै कष्टकर भएको उनी बताउँछिन् । ‘सानोमा आमा रोएको देख्दा किन रुनुभएको होला भन्ने लाग्थ्यो । आमा रुनुको कारण बुझ्न सक्दिनथेँ । राज्यले बुबालाई बेपत्ता बनाएकाले आमा रुने गरेको अहिले आएर बुझेकी छु,’ उनले भनिन् ।
सशस्त्र द्वन्द्वकालमा सबैभन्दा पीडित भनेको बेपत्ता परिवार हो । परिवारको एकजना व्यक्ति बेपत्ता हँुदा पीडितले अनेक हन्डर र ठक्कर खानुपरेको छ ।
परिवारमा कमाउने मान्छे नहुँदा कतिपय परिवारको अवस्था निकै कष्टकर भएर बितेको छ । ‘राज्यले बुबाको अवस्था सार्वजनिक गरिदिन्छ कि भनेर दुई दशकभन्दा धेरै प्रतीक्षा गर्यौँ । तर, बुबाको अवस्था सार्वजनिक गरेन । गाउँघरमा पनि बुबाबारे धेरै प्रश्न उठ्न थालेपछि र धार्मिक कार्यमा समेत हाम्रो परिवारलाई फरक व्यवहार गरिन्थ्यो । नातागोता र समाजले बुबाको अन्त्येष्टि गर्न सुझाव दिए । सोही कारण हामीले बुबाको काजकिरिया गर्ने निर्णय लिएका हौँ,’ उनले भनिन् ।
चैतमा चारजनाको दाहसंस्कार
बर्दियामा पछिल्लो समय बेपत्ता परिवारले धमाधम दाहसंस्कार गर्न थालेका छन् । चैतमा मात्र बर्दियामा चारजना बेपत्ताको परिवारले दाहसंस्कार गरेका छन् । तत्कालीन राज्य पक्ष माओवादी भएको आशंका र विद्रोही पक्षले राज्यको सुराकी भएको भन्दै धेरै व्यक्तिलाई बेपत्ता पारेका थिए । बर्दियामा राज्य पक्ष र विद्रोहीले गरी २५० जनालाई बेपत्ता पारेको अभिलेख द्वन्द्वपीडित समितिसँग छ । सशस्त्र द्वन्द्वका क्रममा नेपालमै सबैभन्दा बढी बेपत्ता पारिएको जिल्लामा बर्दिया पर्छ । बारबर्दिया– ७ सोनपुरमा २४ साउन ०५९ मा दुई र २६ गते चार गरी ६ जनालाई तत्कालीन शाही नेपाली सेनाको टोलीले लगेको थियो । बेपत्तामध्ये टेट्राम थारूको २० चैत, जंगु थारूको १५ चैत र हरिप्रसाद थारूको १२ चैतमा थारू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो ।