
राजनीतिक रूपमा वर्ष २०८१ कस्तो रह्यो ?
वर्ष २०८१ मा गठबन्धन बन्ने र भत्किने क्रमले निरन्तरता पायो । दुई विपरीत विचारधारा बोकेका र संसद्का पहिलो र दोस्रो ठुला दलको गठबन्धनबाट सरकार बन्यो । यस अवधिमा स्थानीय तहको कामबाट आधारभूत रूपमा जनता सन्तुष्ट नै देखिए । यसबाट स्थानीय तहले आफ्नो औचित्य पुष्टि गरे भन्न सकिन्छ । तर, प्रदेश सरकारहरूले चाहिँ आफ्नो औचित्य प्रमाणित गर्न बाँकी नै देखियो । संघमा भएको राजनीतिक फेरबदलको छाया प्रदेशमा प¥यो । संघको प्रभावले गर्दा प्रदेशमा सरकार बनाउनै पनि सकस देखियो । ठुलो राजनीतिक उथलपुथल केही नदेखिए पनि वर्षको अन्त्यतिर राजावादीहरूको अराजकताले असामान्य परिस्थिति निम्त्यायो । तर, बिदा भइसकेका राजा फर्केर आउने सम्भावना भने देखिन्न । समग्रमा भन्नुपर्दा वर्ष २०८१ को राजनीति मिश्रित नै देखियो ।
राजनीतिक रूपमा वर्ष २०८१ का सबल र दुर्बल पक्ष केलाई मान्ने ?
स्थानीय तहको सकारात्मकता यस अवधिको सबल पक्ष हो । प्रदेशहरूले औचित्य प्रमाणित गर्न नसक्नु दुर्बल पक्ष हो । संघमा दुई ठुला दल मिलेर सरकार बनाएपछि राजनीति केही हदसम्म स्थिर देखिनु राम्रै हो । तर, उनीहरूले त्यसको औचित्यलाई व्यावहारिक रूपमा रूपमा कसरी प्रमाणित गर्छन्, त्योचाहिँ आउँदो वर्षमा देखिएला ।
वर्ष २०८२ बाट नेपाली राजनीतिले कस्तो अपेक्षा गर्नु ठिक होला ?
अहिले अमेरिकाको कारणले गर्दा विश्व राजनीतिक परिदृश्य फेरबदल भइरहेको छ । यस क्रममा हाम्रो विश्व सम्बन्धको परिदृश्य केही खस्केको छ । वैदेशिक सहयोग खुम्चेको छ । भारत र चीनको उदयले झट्ट हेर्दा सन्तुलित जस्तो देखिए पनि परिस्थिति सहज छैन । यहाँनिर हाम्रो सक्रियता र तदारुकताको खाँचो देखिन्छ । यसका लागि राजनीतिक सुझबुझ अपेक्षित छ ।