मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नवराज मैनाली काठमाडाैं
२o८२ भदौ २७ शुक्रबार o६:५६:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

यसकारण भयो बानेश्वरमा ठुलो हताहती

सरकारको असक्षमताको मारमा प्रहरी 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार o६:५६:oo
  • संसद् भवनको सुरक्षार्थ खटिएको कमान्डो टोलीसँग घातक हतियार मात्र हुन्छ । महत्वपूर्ण भवनको सुरक्षा नै उनीहरूको मुख्य जिम्मेवारी हो, भवन जोगाउन नसक्ने अवस्था आएमा गोली चलाउने आदेश हुन्छ, त्यहीअनुसार उनीहरूले फायरिङ गरेको बुझिएको छ ।

जेन–जीले गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सोमबार प्रहरीले घातक हतियार प्रयोग गरेको खुलेको छ । बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरीले घातक हतियार (एसएलआर)बाट गोली चलाउँदा ठुलो मानवीय क्षति भएको हो । जहाँ १७ जनाको मृत्यु भएको थियो भने सयभन्दा धेरै घाइते भएका थिए ।

आन्दोलनकारी संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरेपछि त्यहाँको सुरक्षामा खटिएका कमान्डो तालिम गरेको प्रहरी टोलीले गोली चलाएको हो । प्रहरी स्रोतका अनुसार उनीहरूले एसएलआरबाट समेत गोली प्रहार गरेका थिए । घातक हतियारबाट गोली प्रहार भएकाले कतिपय विद्यार्थी सडकमै ढलेको भिडियोहरूमा देखिन्छ ।

‘त्यहाँ खटिएको कमान्डो टोलीसँग घातक हतियार मात्र हुन्छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘महत्वपूर्ण भवनको सुरक्षा नै उनीहरूको मुख्य जिम्मेवारी हो, भवन जोगाउन नसक्ने अवस्था आएमा गोली चलाउने आदेश हुन्छ, त्यहीअनुसार उनीहरूले फायरिङ गरेको बुझिएको छ ।’ सुरुमा प्रहरी भिड नियन्त्रणमा चुक्दा उनीहरूले संसद् भवन घेरा हालेका थिए । त्यसपछि अवस्था प्रहरी नियन्त्रणबाहिर पुगेको थियो ।

भिड नियन्त्रणका लागि आवश्यक स्रोत–साधन नहुँदा पनि यसरी एकैपटक घातक हतियारबाट गोली चलाउनुपरेको प्रहरी अधिकारीको दु:खेसो छ । सो दिन प्रहरीले अश्रुग्यास तथा रबरको गोली पनि चलाएको थियो । तर, त्यससम्बन्धी सामग्री पर्याप्त नहुँदा भिड नियन्त्रण गर्न सकेन । जसरी पनि संसद् भवन जोगाउन प्रहरीलाई गृह मन्त्रालयको निर्देशन थियो । सोही कारण प्रहरीले घातक हतियारबाट समेत गोली चलाएको हो ।

सुशासन माग्न गएका कलिला युवामाथि यसरी गोली चलाएको भन्दै मंगलबार देशभर सर्वसाधारण आन्दोलनमा उत्रिए । उनीहरूले सार्वजनिक सम्पत्तिमा सबैभन्दा धेरै प्रहरी कार्यालयलाई निसाना बनाएका छन् । आन्दोलनकारीमाथि गोली हानेको प्रतिशोधमा यसरी प्रहरी कार्यालय निसानामा परेका थिए । सरकारको असक्षमताको मारमा आफूहरू परेको प्रहरी अधिकारी बताउँछन् । घटनापछि कतिपय प्रहरी अझै ड्युटीमा फर्कन डराइरहेका छन् ।

‘राज्यले प्रहरीलाई बलियो बनाउनतर्फ कहिल्यै ध्यान दिएन,’ एक पूर्वप्रहरी प्रमुख भन्छन्, ‘कतिसम्म भने भिड नियन्त्रणका सामान खरिदका लागि पनि हरेक वर्ष हारगुहार गर्नुपर्ने अवस्था छ, अहिलेको यो घटना त्यसैको परिणाम पनि हो,’ बिचौलियाको चलखेलका कारण पनि प्रहरीको भिड नियन्त्रण तथा हतियार खरिद सधैँ विवादित बनेर रद्द हुने गरेको छ ।

यो घटनापछि प्रहरी इतिहासकै कठिन मोडमा छ । एकातर्फ प्रहरीको मनोबल निकै खस्किएको छ । कतिपय प्रहरी जागिरमै फर्कन सकेका छैनन्, अर्काेतर्फ प्रहरी कार्यालय ध्वस्त भएकाले बस्ने ठाउँसमेत छैन भने स्रोतसाधन शून्यको अवस्थामा छ । ‘सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीको मनोबल यसरी खस्किएको थिएन,’ एक प्रहरी अधिकारी भन्छन्, ‘राज्यका सबै निकायबाट सहयोग भएन भने प्रहरीलाई माथि उठाउन धेरै गाह्रो छ ।’ मंगलबार प्रहरी कार्यालय मात्र होइन, कतिपय प्रहरीका व्यक्तिगत घरसमेत जलाइएका छन् ।

जलेको मन लिएर जलेका भवनमा फर्किँदै प्रहरी 
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म तीन प्रहरीले ज्यान गुमाएका छन् । कति प्रहरी कर्मचारी घाइते भए भन्ने विवरणसमेत प्रहरी प्रधान कार्यालयले संकलन गर्न सकेको छैन । किनकि अझै कतिपय प्रहरी सम्पर्कमा आएका छैनन् । 

प्रहरीका सयौँ कार्यालयमा आगजनी र तोडफोड भएका छन् । गाडीहरू पनि दर्जनौँ जलाइएका छन् । हतियार, सञ्चार सेट र पोसाकसमेत लुटिएका छन् । यस्तो अवस्था प्रहरी काम गर्न नसक्ने अवस्थामा छ । यद्यपि, अधिकांश प्रहरी भने नागरिकको सुरक्षामा फर्किसकेका छन् । 

प्रहरी प्रवक्ता विनोद घिमिरे स्थानीयकै साथ र सहयोगमा प्रहरीहरू नियमित काममा फर्कन थालेको बताउँछन् । कतिपय स्थानमा सर्वसाधारणले नै प्रहरी कार्यालय सरसफाइ गरी मर्मत थालेका छन् । ललितपुरमा कतै प्रहरीलाई स्थानीयले ट्र्याकसुट सहयोग गरेका छन् भने कतै फूल र खादा दिएर कार्यालयमा स्वागत गरेका छन् । भक्तपुरको एक बिटको सर्वसाधारणले मर्मत थालेका छन् । अन्यत्र पनि स्थानीयकै सहयोगमा प्रहरीहरू पुनस्र्थापनको प्रयासमा छन् । 

‘नागरिकमा प्रहरी आवश्यकताको महसुस र नागरिकको सुरक्षा दायित्वको मिलनविन्दुमा टेकेर हामी खटिँदै छौैँ,’ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दानबहादुर कार्कीले भने, ‘जलेको भवन जलेको मन लिएर नागरिकको सेवामा क्रमश: प्रहरी फर्किएका छन् ।’

साहसका साथ कठिन आइजिपीको निर्देशन 
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले कठिन अवस्थामा अझ उच्च मनोबल र साहसका लागि शान्ति सुरक्षाका लागि जुट्न निर्देशन दिएका छन् । बिहीबार भिडियो सन्देश जारी गरी उनले कठिन समयमै मानिसको पहिचान हुने भएकाले शान्ति सुरक्षामा खटिन निर्देशन दिएका हुन् । 

‘नेपाल प्रहरीको सदस्य भएको नाताले हाम्रो धर्म, कर्म, प्रतिज्ञा र हाम्रो समर्पण राष्ट्र र आमनागरिकको सेवा र सुरक्षा नै हो । यो जिम्मेवारी ज्यादै महत्वपूर्ण र संवेदनशील पनि छ । मानिसको पहिचान कठिन समयमै हुन्छ, यो कठिन समयमा हामीबाट प्रदर्शित व्यावसायिक निष्ठा र कर्तव्य परायणताले आमनागरिकमा शान्त र सुरक्षित तवरबाट जीवनयापन गर्न पाउने अवस्था र आफ्नो पेसा–व्यवसायमा फर्कन पाउने सुनिश्चितता सिर्जना हुनेछ भन्ने कुरामा हामी जानकार छौँ,’ उनले भनेका छन्, ‘मेरा प्रिय प्रहरी साथीहरू अहिले हाम्रा कैयन भौतिक संरचनाहरू क्षतविक्षत भएका छन्, तपाईंहरूका पोसाकहरू जलेका छन्, जीवनभरको कमाइ क्षणभरमा खरानी भएको छ, यद्यपि, यो पीडाको क्षणमा आफ्नो कर्तव्य सम्झेर बिग्रेका संरचनालाई अगाध आस्थाका साथ सम्हाल्दै गरेका तपाईंहरूका हातलाई प्रत्यक्ष देखेर म गर्वित भएको छु । यो युगीन जिम्मेवारीको घडीमा नियमित प्रहरी कार्यमा हिजोका दिनमा भन्दा पनि आज थप उच्च मनोबल र साहसका साथ जुट्नुहुन म सकलदर्ताका प्रहरी साथीहरूलाई विशेष आग्रह गर्दछु ।’ 

सबैलाई जिम्मेवार बन्न पूर्वसुरक्षा प्रमुखहरूको अनुरोध 
पूर्वसुरक्षाकर्मीहरूले कानुनी शासन पुनस्र्थापनाको राष्ट्रिय दायित्वमा एकाकार भई सुरक्षा निकायलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहितका अधिकारीले संयुक्त प्रेस वक्तव्य जारी गरी इतिहासको यो निर्णायक मोडमा जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् । 

राज्यका कामकारबाहीविरुद्ध उठेका आवाज सबै गलत छन् भन्ने सोच र सरकारी स्थायी संयन्त्रहरूले पनि अन्धभक्त भएर त्यसलाई अनुशरण गरिरहँदा गुम्सिन गएको जनआक्रोशले एकाएक विस्फोटक परिस्थिति सिर्जना गर्दाेरहेछ भन्ने यथार्थलाई पनि सबैले मनन गर्नुपर्ने महत्वपूर्ण पाठलाई भविष्यमा नबिर्सिन उनीहरूले आग्रह गरेका छन् ।