
शुक्रबार बिहानदेखि रूपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ। मुलुकमा शान्ति र एकता कायम गर्न भन्दै भैरहवामा सदभाव र्यालीसमेत निकालिएको थियो ।
विभिन्न १३ भन्दा बढी संघसंस्थाहरूको समन्वयमा आयोजित सदभाव र्यालीमा जेन–जीको प्रदर्शनबाट मुलुकमा सिर्जना भएको अन्याेल र अस्थिरताबाट समाजमा सकारात्मक भावना जागृत गराउने उद्देश्य थियो ।
नेपाल–भारत सीमा बेलहियाबाट सुरु भएको र्याली डण्डा, आँखा अस्पताल, देवकोटा चोक हुँदै बुद्धचोकमा आएर समापन भएको थियो । समापनका अवसरमा बोल्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकबहादुर पाण्डेले प्रदर्शनको घटनाबाट पाठ सिकेर समाजमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च मनोबल प्रदान गर्न आग्रह गरे ।
उनले लुटपाटमा संलग्नहरूको फोटो, भिडियो र फुटेज लिइएको जानकारी दिँदै अपराध कर्ममा संलग्न जोकोही भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । सुरक्षा निकायले तोडफोड, लुटपाट, आगजनीमा संलग्नहरूको फोटो, भिडियो संकलन गर्ने र अध्ययन गर्ने काम भइरहेको बताउँदै छिटो संलग्नहरूको पहिचान गरी नियन्त्रणमा लिई कानुनी कारबाही सुरु गर्ने प्रतिबद्धता जनाए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले अब शान्ति र स्थिरताका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने र देशले निकास पाउनुपर्ने बताए । जेन–जी प्रतिनिधि सागर न्यौपानेले प्रदर्शनमा घुसपैठबाट कल्पना नै नगरेका घटना घटेको उल्लेख गर्दै नयाँ नेपाल बनाउन सबै एकजुट भएर लाग्न आग्रह गरे ।