
काठमाडौं, चितवन तथा नवलपरासी कारागारबाट फरार भएका कैदीहरूमध्ये सातजना रुपन्देहीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनीपछि विभिन्न स्थानका कारागारमा रहेका कैदीबन्दीहरू भागेका थिए । ती भागेर हिँडेकामध्ये रुपन्देहीबाट सातजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार चितवन कारागारबाट भागेका चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत हरियाना प्रदेश थाना नागिना बस्ने २४ वर्षीय अब्बास खान रहेका छन्। उनी सवारी अंगभंग मुद्दाका कैदी हुन् । त्यस्तै, भारत उत्तर प्रदेश थाना बेहोजोई बस्ने ४८ वर्षीय अनिल गिरी, भारत उत्तर प्रदेश थाना केलादेवी बस्ने ४१ वर्षीय कैदी राजपाल सिंह, भारत उत्तर प्रदेश थाना बाह्रवंकी बस्ने ३८ वर्षीय मोनु कश्याव रहेका छन् ।
त्यस्तै, नवलपरासी कारागारबाट भागेका रुपन्देही सैनामैना नगरपालिका– ७ बस्ने वर्ष ५२ की बहुविवाह मुद्दाकी कैदी करिश्मा राना पनि पक्राउ परेकी छिन् । रुपन्देही प्रहरीले केन्द्रीय कारागार काठमाडौंबाट भागेका दुईजनालाई पनि पक्राउ गरेको छ। लागुऔषध कोकिन मुद्दाका फरार कैदी दुईजना तान्जानियाली नागरिक पनि पक्राउ परेका छन् । जसमा ५३ वर्षका रामाधानी सिम्बा म्याबुम्बा र ४७ वर्षका त्वलिब किपेभु पसुवा रहेका छन्।