
संविधान रक्षाको माग अघि सार्दै कञ्चनपुरका पत्रकार र कानुन व्यवसायीले मौन प्रदर्शन गरेका छन्। शुक्रबार महेन्द्रनगरमा नेपाल पत्रकार महासंघ तथा उच्च र जिल्ला बार एसोसिएसनको आयोजनामा जिल्लाका पत्रकार र कानुन व्यवसायीले मौन प्रदर्शन गरेका हुन्।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीले अहिले मुलुकको विषम अवस्थामा संविधानको रक्षाका लागि मौन प्रदर्शन गरिएको बताए।
अध्यक्ष धामीले संविधानको रक्षा गर्दै लोकतन्त्र र राष्ट्र बचाउने काम सबै नागरिकको दायित्व भएको बताए। उच्च बार एसोसिएसन महेन्द्रनगरका अध्यक्ष भूपेन्द्र विष्टले मुलुकमा विद्यमान परिस्थिति समाधानका लागि सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
जेन–जी आन्दोलनपछि कञ्चनपुरसहित देशका विभिन्न स्थानमा संविधान रक्षाका पक्षमा प्रदर्शन भइरहेका छन्।