मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २७ शुक्रबार १२:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले विभागहरूको अपिल– संविधानको परिधिबाटै राष्ट्रिय सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १२:५९:oo

नेकपा एमालेका विभिन्न केन्द्रीय विभागहरूले हालको राजनीतिक अन्योल अन्त्य गर्न संविधानको परिधिभित्र रही तत्काल राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन्।

विभागीय सचिवहरूको भर्चुअल बैठकपछि शुक्रबार जारी अपिलमा ‘यथाशीघ्र निकासका लागि शीतलनिवासबाट सम्माननीय राष्ट्रपतिज्यूले सबै कामको अग्रसरता र नेतृत्व गर्न विशेष अनुरोध गर्दछौँ’ भनेर उल्लेख गरिएको छ।

अपिलमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरिएको छ। आन्दोलनमा अराजक तत्त्वको संलग्नताले सार्वजनिक, निजी सम्पत्तिमा भएको क्षति र नेताहरूको घरमा भएको आक्रमणबारे तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ।

पार्टी कार्यकर्तालाई धम्क्याउने, राजीनामा गर्न बाध्य पार्ने कार्यलाई निन्दनीय बताउँदै यस्ता गतिविधि रोक्न स्थानीय समुदाय र सुरक्षा निकायबिच सहकार्य आवश्यक रहेको अपिलमा भनिएको छ। त्यस्तै, कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई कदम चाल्न आग्रह गरिएको छ।

अपिलमा भनिएको छ, ‘एमाले जेन–जी पुस्ताको चाहनाअनुसारको पार्टी बन्ने र मुलुकका समस्या समाधानमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्दछ ।’

अपिलको पूर्ण पाठ 
नेकपा एमाले केन्द्रीय विभागहरूको तर्फबाट सार्वजनिक
अपिल
२०८२ भदाै २७ गते

 यही भदाै २३ र २४ गते मुलुकमा उत्पन्न असामान्य परिस्थिति र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे हाम्रो पार्टी नेकपा एमालेको सचिवालयले स्पष्ट धारणा सार्वजनिक गरिसकेकै छ। यस विषम परिवेशलाई मध्यनजर गर्दै नेकपा एमालेका विभिन्न केन्द्रीय विभागका सचिवहरूको भर्चुअल बैठकमा छलफल भएबमोजिम सबै विभागको तर्फबाट निम्न अपिल गर्न चाहन्छौँ।

१. जेन–जी (Gen Z) आन्दोलनका क्रममा ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था होस् भन्ने माग गर्दछौँ।

२. जेन–जी युवाहरूको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनीतिक अन्याेलको अन्त्य गरियोस्। यथाशीघ्र निकासका लागि शीतलनिवासबाट सम्माननीय राष्ट्रपतिज्यूले सबै कामको अग्रसरता र नेतृत्वका लागि विशेष अनुरोध गर्दछौँ।

३. आन्दोलनका क्रममा अराजक भिडले सरकारी तथा सार्वजनिक एवं निजी घर–सम्पतिमा तोडफोड र आगजनीका कारण मुलुकमा अपूरणीय क्षति पुगेको छ। आन्दोलनमा भएको गलत तत्त्वको घुसपैठले राज्यविहीनताको स्थितिमा पुर्‍याएको छ। प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्ताको घर वासस्थान खोजी–खोजी जलाउने र धम्क्याउने काम भएका छन् । यो सबै घटनाको सत्यतथ्य छानबिन गर्न तल्काल उच्चस्तरीय छानबिन समिति गठन गरी सोको प्रतिवेदनअनुसार दोषीलाई कडा कारबाहीका लागि अनुरोध गर्दछौँ।

४. नेकपा एमालेका कार्यकर्तालाई घरघरमा पुगी धम्क्याउने र पदबाट राजीनामा गर्न बाध्य बनाउनेजस्ता कार्यहरू निन्दनीय छन्। सबै टोलटोलमा अवान्छित क्रियाकलाप रोक्न स्थानीय समुदाय र सुरक्षा निकायको सहकार्यको वातावरण मिलाउन हामी सम्पूर्ण देशभक्त नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध गर्न चाहन्छौँ ।

५. वर्तमान परिस्थितिको फाइदा उठाउँदै बजारमूल्य वृद्धि गरी कालोबजारी गर्ने तथा चोरी गर्नेसमेत प्रवृत्ति बढेको हुँदा कालोबजारी रोक्न र बजारलाई सहज बनाउन हामी सबैलाई अपिल गर्दछौँ ।

६. एमालेलाई हालको जेन–जी युवा पुस्ताको चाहनाबमोजिमको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौँ।