मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
जुम्लाको चन्दननाथ नगरपालिका– ५, राजासिमस्थित रंगशाला ।
२o८२ भदौ २७ शुक्रबार ११:५o:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पूर्वाधार निर्माण अधुरो हुँदा खेलाडीलाई प्रशिक्षणमा समस्या 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार ११:५o:oo
  • फुटबल, भलिबल, तेक्वान्दो र हाई अल्टिच्युड रंगशाला निर्माण कार्यले पूर्णता नपाउँदा जुम्लामा खेलाडीले प्रशिक्षणमा समस्या भोग्दै आएका छन् 

जुम्लामा एथलेटिक्स र तेक्वान्दोका खेलाडीले नियमित प्रशिक्षण गर्दै आएका छन् । नियमित प्रशिक्षण गर्ने एथलेटिक्सका ३५ र तेक्वान्दोका ४५ खेलाडी छन् । उनीहरू खेलकुदका पूर्वाधार नहुँदा सडक पेटी, चौर, भिरपाखामा प्रशिक्षण गर्न बाध्य छन् । खेलमैदान नहुँदा दैनिक प्रशिक्षणमा खेलाडीहरूले समस्या भोग्दै आइरहेका छन् । जुम्लामा खेलकुदका पूर्वाधार निर्माण सम्पन्न नभएर अधुरै अवस्थामा रहेका छन् । समुद्री सतहदेखि २,८५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका– ३ लोडचौरस्थित हाई अल्टिच्युड रंगशाला, जिल्ला खेलकुद विकास समितिको प्रांगणमा रहेको प्यारापिट र चन्दननाथ नगरपालिका– ५ राजासिमस्थित रंगशालाका काम अधुरै छन् । 

राजासिम रंगशाला निर्माण ढिलाइ
चन्दननाथ नगरपालिका– ५ राजासिमस्थित रंगशाला निर्माणमा ढिलासुस्ती भइरहेको छ । एथलेटिक्स खेलाडीको अभ्यासका लागि ट्र्याकसहितको फुटबल रंगशाला निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको हो । सहरी तथा भवन निर्माण आयोजनामार्फत १३ करोड लागतमा रंगशालासहित अन्य पूर्वाधार निर्माण गर्ने कवीन्द्र निर्माण सेवाले सम्झौता गरेको हो । तर, सम्झौता मिति सकिनै लाग्दासमेत काम अधुरै छ ।

आयोजनाका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रंगशाला निर्माणको भौतिक प्रगति ७० प्रतिशत छ । गत १९ भदौमा निर्माण कम्पनीको सम्झौता समय सकिएको थियो । कम्पनीले अहिले समय थप्ने करसत गरिरहेको छ । रंगशालाको बजेट करिब १३ करोड रहेको छ । रंगशालाको ३० प्रतिशत काम अझै बाँकी रहेकाले आयोजना अलपत्र पर्ने देखिएको छ । हालसम्म प्यारापिट निर्माण, मैदान सम्याउनेदेखि रङरोगन गर्न बाँकी छ । 

भलिबलको प्यारापिट पूरा भएन
जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको प्रांगणमा ६ वर्षदेखि भलिबलको प्यारापिट अलपत्र परेको छ । आर्थिक वर्ष ०७६/७७ देखि निर्माण सुरु भएको प्यारापिट निर्माणको काम बजेट अभावले अहिले अलपत्र परेको हो । प्यारापिटका पिल्लर खिया लाग्न सुरु भइसकेको छ । गत आवबाट बजेट आउन छोडेपछि आयोजना नै अलपत्र परेको समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताए । ‘प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमातहतमा प्यारापिट निर्माण सुरु भएको हो । विभिन्न समयमा प्रदेश सरकारसँग बजेट माग गरिएको थियो,’ उनले भने । प्यारापिट निर्माणको बजेट एक करोड ९० लाख रुपैयाँ रहेको छ । बजेट व्यवस्थापन भए प्यारापिट निर्माण अघि बढाउने खेलकुल विकास समिति जुम्लाको तयारी छ ।

हाई अल्टिच्युड रंगशाला
हाई अल्टिच्युड रंगशाला निर्माण थालिएको सात वर्षसम्म पनि पूरा भएको छैन । मैदान सम्याउन तीन करोड बजेट खर्च भएको छ । मालिका माध्यमिक विद्यालयको मैदान र स्थानीयका जग्गामा बहुउद्देश्यीय खेल प्रशिक्षण रंगशाला निर्माण सुरु गरिएको हो । स्थानीय र स्कुलको जग्गा प्राप्त नभएको, जनप्रतिनिधिबिच राय नमिल्दा र विनियोजित बजेट निकासा नहुँदा सात वर्षअघि निर्माण कार्य सुरु भएको रंगशालाले पूर्णता नपाएको हो । जिल्ला खेलकुद विकास समिति जुम्लाले ३२ करोड तीन लाख बजेटको डिपिआर तयार गरेको थियो । ३ पुस ०७४ पुसमा तत्कालीन खेलकुद मन्त्रालयका सचिव महेश दाहालको नेतृत्वमा प्रशिक्षण सेन्टरको सम्भाव्यता अध्ययनसमेत गरेको थियो । 

हाई अल्टिच्युड मैदानमा भलिबल, फुटबल, कराँते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढीका खेलमैदान निर्माण गरिने डिपिआरमा उल्लेख छ । स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने उल्लेख छ । हाई अल्टिच्युड टे«निङ रंगशालामा गत आर्थिक वर्ष ०८१/८२ मा विनियोजन भएको पाँच करोड ६६ लाख ५० हजार रुपैयाँ फ्रिज भएको छ । बजेट फ्रिज हुँदा हाई अल्टिच्युड रंगशालाको निर्माण कार्य अन्योलमा परेको छ । 

रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले दुई करोड २९ लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्ले चार करोड बजेट विनियोजन गरेका थिए । परिषद्ले निकासा गरेको रकममध्ये ६३ लाख रुपैयाँको मात्र काम भएको छ । राखेपले निकासा गरेको तीन करोड ३७ लाख रुपैयाँको काम नहुँदा बजेट फ्रिज भएको हो । जग्गा विवादका कारण काम नै हुन नसक्दा गत आर्थिक वर्षमा आएको बजेट फिर्ता भएको आयोजना जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । 

राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्मका खेलाडी
प्रशिक्षण गर्ने मैदान अभाव भए पनि जुम्लाका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरेका उदाहरण छन् । अन्तर्राष्ट्रियस्तरका धावक हरिबहादुर रोकाया जिल्ला खेलकुद विकास समितिका पूर्वप्रशिक्षक हुन् । रोकायाले कर्णाली खेलकुद क्लब जुम्लाको माध्यमबाट ३५ जना खेलाडीलाई प्रशिक्षण गराउँदै आएका छन् । उनले प्रशिक्षण गराएका धेरै खेलाडीले अन्तर्राष्ट्रियस्तरमा स्वर्णदेखि कांस्य पदक जितेका छन् । रोकायाकै प्रशिक्षार्थी सुनमाया बुढा चर्चित एथलेटिक्स धावक हुन् । सुनमायाले २०२२ जुलाईसम्ममा समग्रमा ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा रेसमा प्रतिस्पर्धा गरेकी छिन् । 

२०२१ मार्चमा विश्वकै चर्चित ब्रान्ड ‘द नर्थ फेस’ले सुनमायालाई ‘द नर्थ फेस एडभेन्चर टिममा आबद्ध गरेको थियो । यसले अल्ट्राधावक सुनमायाको करिअरलाई थप उचाइमा पुर्‍याउन सहयोग गरेको थियो । सिँजा गाउँपालिका– ६ रुघागाउँका लालबहादुर रोकाया तेक्वान्दोका प्रशिक्षक हुन् । तेक्वान्दोमा पाँचौँ डान उनले ०७३ फागुनदेखि जिल्ला खेलकुद विकास समितिको चौरमा खेलाडीलाई मासिक पाँच सय रुपैयाँमा प्रशिक्षण गराइरहेका छन् । उनले लिने पाँच सय रुपैयाँ भर्ना शुल्क हो । यसबाहेक खेलाडीको अन्य खर्च लाग्दैन । 

जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरेर उनले दैनिक दुई घण्टा प्रशिक्षण दिँदै आइरहेका छन् । आठ वर्षमा उनले ११ सय खेलाडीलाई प्रशिक्षण दिइसकेका छन् । सन् २०१९ मा थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा उनकै खेलाडी ललित बुढाले स्वर्ण जितेका थिए । आठौँ राष्ट्रिय खेलकुदमा जुम्लाबाट नौमध्ये एकजनाले स्वर्ण र चारजनाले रजत पदक जितेका थिए । नवौँ राष्ट्रिय खेलकुदमा पनि जुम्लाले एक स्वर्ण तथा समान चार रजत र कांस्य हात पारे । अहिले तीनपटक मिति घोषणा भएर पनि स्थगित भएको १०औँ राष्ट्रिय खेलकुदका लागि रोकायाले धेरै खेलाडीलाई तयारीमा राखेका छन् । एथलेटिक्स र तेक्वान्दोबाहेक जुम्लामा भलिबल र फुटबललगायत खेलकुद प्रतियोगितामा प्रशिक्षण हुने गरेका छन् ।