
आगामी फिफा विश्वकप फुटबल प्रतियोगिता क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दै छन् । ३८ राष्ट्रको सहभागिता रहने २०२६ को विश्वकप ११ जुनदेखि १९ जुलाईसम्म तीनवटै राष्ट्रमा हुनेछन् । एक अर्थमा विश्वकप आउन १० महिना बाँकी छ । फिफाले विश्वकप भइरहँदा तुवाँलोबाट खेल प्रभावित हुन सक्ने जनाएको छ । फिफाले तुवाँलोका कारण खेलमा समस्या आउन नदिन तीनवटै विश्वकप आयोजकलाई यसबारे अध्ययन गर्न भनेको छ ।
फिफाले विश्वकपको सहआयोजक क्यानडामा जुन र जुलाईको मौसम फरक हुने र त्यहाँ वायूप्रदूषण अत्यधिक रहेको जनाएको छ । क्यानडाले १३ खेल आयोजना गर्नेछ । सात खेल भानकुभर र ६ खेल टोरन्टोमा हुनेछ । एक अध्ययनअनुसार टोरन्टोको वायुप्रदूषण मापन विश्वकै खराब छ । विश्वकप आयोजक समितिले क्यानडामा तुवाँलोबाट प्रभावित हुन सक्ने खेलका लागि वायु गुणस्तरको अध्ययन गर्नुपर्ने जनाएको छ । तर, समितिले यसबारे योजना सार्वजनिक नगर्दा फिफाले चिन्ता जनाएको छ ।
गत जुन–जुलाईमा टोरन्टोको वायु गुणस्तर मापन भएको थियो । बिहान र दिउँसो वायु गुणस्तर मापनमा खराब रिपोर्ट पाइएको थियो । बिहान मापन भएको स्वास्थ्य सूचकांक १० भन्दा माथि रहेको थियो । यसैगरी दिउँसोको वायु मापन हुँदा सूचकांक आठ प्रतिशत देखियो । क्यानडा सरकारको तथ्यांकअनुसार टोरोन्टोमा इतिहासकै खराब वायुप्रदूषण भएको जनाएको छ । क्यानडाको प्राकृतिक स्रोत मन्त्रालयका अनुसार सन् २०२३ सबैभन्दा विनाशकारी आगोको मौसम थियो । जहाँ ६ हजारभन्दा बढी आगलागीका घटना हुँदा १५ मिलियन हेक्टर जमिन जलेको थियो ।
विश्वकपको तयारीका लागि टोरन्टोको सार्वजनिक स्वास्थ्यले वायु गुणस्तरसम्बन्धी नवीनतम प्रमाण र उत्तम प्रथाहरू पुनरावलोकन गर्नुपर्ने टोरन्टो एसोसिएटका स्वास्थ्य अधिकारी डा. हावर्ड सापिरोले उल्लेख गरेका छन् । ‘टोरन्टो सार्वजनिक स्वास्थ्यले चरम मौसम र तुवाँलोजस्ता स्वास्थ्य जोखिमसँग सम्बन्धित सल्लाह दिन सक्छ । त्यसमा विश्वकपको समयमा यहाँ बासिन्दा, आगन्तुक र सहभागी राष्ट्रका खेलाडीको स्वास्थ्य र सुरक्षाका लागि आकस्मिक योजना पनि समावेश छ,’ डा. हावर्डले भने ।
खेलाडीलाई असर गर्न सक्ने
विशेषज्ञहरूले विश्वकपमा सहभागी खेलाडीले वायुप्रदूषणको सामना गर्नुपर्ने बताएका छन् । लामो बसाइका क्रममा वायुप्रदूषणले खेलाडीको स्वास्थ्यमा दीर्घकालीन समस्या आउन सक्ने ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक माइकल ब्राउरले चेतावनी दिएका छन् । ‘क्यानडामा विभिन्न राष्ट्रका खेलाडी प्रतिस्पर्धा गर्न आउनेछन् । उनीहरू फरक–फरक वातावरणमा बसेका हुन्छन् । एकैपटक चिसो मौसम र वायुप्रदूषण भएको सहर टोरन्टो आउँदा खेलाडीको स्वास्थ्यमा खराबी आउन सक्छ,’ प्रोफेसर माइकलले भने, ‘खराब वायुप्रदूषणले खेलाडीको स्वास्थ्यमा असर मात्र गर्दैन । उनीहरूको प्रदर्शनमा प्रभाव र चोट पनि सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।’ प्रोफेसर माइकलको अध्ययनले वायुप्रदूषणका कारण खेलाडीको क्षमता प्रभावित बन्ने देखिएको छ । ‘खेलमैदानमा उनीहरूमा चोटको जोखिम पनि बढाउँछ । सानो गल्तीले पनि खेलाडीको करिअरमा खतरा पुर्याउन सक्छ,’ माइकलले भने ।
वायुप्रदूषणको निश्चित मापदण्ड छैन
ब्रिटिस कोलम्बिया विश्वविद्यालयका श्वासप्रश्वास चिकित्सा विभागका प्रमुख डा. क्रिस्टोफर काल्स्र्टेनले वायुप्रदूषणको निश्चित मापदण्ड नभएको बताएका छन् । क्रिस्टोफरले कुन विन्दुमा पुग्दा विश्वकपका खेल रद्द गर्नुपर्ने भन्ने निश्चित मापदण्ड नभएको बताए । ‘हामीसँग खेल रद्द गर्ने निश्चित मापदण्ड छैन । वायुप्रदूषण कुन विन्दुमा पुग्दा खेल रद्द गर्नुपर्छ भन्ने मापदण्ड छैन,’ उनले भने, ‘यो प्रत्येक परिस्थितिमा भिन्न हुन सक्छ । यसमा दर्शकको उमेर, वायु गुणस्तरजस्ता कारकले प्रभाव पार्छ ।’ क्रिस्टिफोरले खराब वायु गुणस्तरले खेलाडीमा पार्ने प्रभाव बहसको विषय भनेका छन् ।