मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
अदिस अबाबा
२o८२ भदौ २७ शुक्रबार ११:२८:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इथियोपियाले गर्‍यो अफ्रिकाको सबैभन्दा ठुलो बाँधको उद्घाटन

Read Time : > 1 मिनेट
अदिस अबाबा
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार ११:२८:oo

इथियोपियाले पाँच अर्ब डलरमा बनेको अफ्रिकाको सबैभन्दा ठुलो जलविद्युत् परियोजना उद्घाटन गरेको छ । परियोजनाको निर्माण सुरु भएदेखि नै तल्लो तटीय देश सुडान र इजिप्टले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रधानमन्त्री अबी अहमदले ‘ग्रान्ड इथियोपियन रेनसाँ ड्याम (जिइआरडी अथवा गर्ड) लाई यस क्षेत्रका लागि ‘साझा अवसर’को संज्ञा दिए । परियोजनाबाट पाँच हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन हुन्छ । इथियोपियाले आफूलाई धेरै हुने बिजुली निर्यात गर्ने बताएको छ ।

मंगलबारको उद्घाटन समारोहमा केन्याका राष्ट्रपति विलियम रुटो र सोमालियाका राष्ट्रपति हसन सेख मोहमुदलगायत क्षेत्रीय नेता व्यक्तिगत रूपमा उपस्थित भएका थिए । तर, नाइलको तल्लो भेगमा रहेका सुडान र इजिप्टका नेता भने कार्यक्रममा सहभागी थिएनन् । नाइल नदीको पानीमा अत्यधिक निर्भर दुई मुलुक बाँधले उनीहरूको सुरक्षालाई खतरा पार्ने डर व्यक्त गर्छन् । त्यस्तै बाँध निर्माणका क्रममा अन्तर्राष्ट्रिय कानुनको पनि उल्लंघन भएको उनीहरूको भनाइ छ । 

नाइलका दुई प्रमुख सहायक नदीमध्ये एक ‘ब्लु नाइल’ उत्तरमा सुडान र त्यसपछि इजिप्ट हुँदै बग्छ । यो बाँध सुडान–इथियोपिया सीमाको १४ किलोमिटर पूर्वमा अवस्थित छ । बाँध १.८ किलोमिटर चौडा र १४५ मिटर अग्लो छ । 

सन् २०११ मा निर्माण सुरु भएदेखि गर्ड क्षेत्रीय तनावको कारण बनेको छ । यसका कारण इथियोपिया, सुडान र इजिप्टबिच वर्षौंदेखि कूटनीतिक तनावको स्थिति छ । बाँध उद्घाटनको एक हप्ताअघि पनि सुडान र इजिप्टले एक संयुक्त विज्ञप्ति जारी गर्दै इथियोपियाको बाँध ‘स्थिरताका लागि निरन्तर खतरा’ भएको बताएका थिए । 

गर्डबाट लगभग ११० किलोमिटर तल सुडानमा ‘रोजेइर्स बाँध’ रहेको छ । इथियोपियाले समन्वयविना ठुलो पानी छाडेमा भविष्यमा सो बाँध भत्किने डरसमेत सुडानको छ । तर, गर्डले नदीको वार्षिक प्रवाहलाई नियमन गर्ने र नाइल नदीको किनारमा रहेका गाउँमा सम्भावित बाढी कम गर्ने जस्ता फाइदा पनि प्रदान गर्न सक्छ ।