
महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेस कनेक्ट’द्वारा ग्राहककेन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । निरन्तर ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराएको तथा सुरक्षित र अत्याधुनिक डिजिटल सुविधा उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो । यो सम्मानले ग्राहक सेवा प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने बैंकले प्रतिबद्धता जनाएको छ ।
साथै, वित्तीय पहुँचबाट बाहिर रहेका नागरिकलाई समेत बैंकिङ प्रणालीभित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बिजनेस कनेक्ट म्यागजिनले व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचार तथा प्रभावशाली व्यावसायिक व्यक्ति तथा संस्थाको कथालाई प्राथमिकताका साथ प्रकाशन गर्दै आइरहेको छ ।