
दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले अधिकारको दुरुपयोग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दमक बहुमुखी क्याम्पसमा आफूनिकट पार्टीका कार्यकर्तालाई भर्ना गरेको पाइएको छ । उनीहरूले नगरपालिकाको बजेट दुरुपयोग गर्दै पार्टीका कार्यकर्तालाई स्ववियु निर्वाचनका लागि क्याम्पसमा भर्ना गरेका हुन् ।
क्याम्पसमा भर्ना सिफारिस गरिएका कार्यकर्तामध्ये अधिकांश नगरबाहिरका छन् । दमकमा रहेका पनि विपन्न नभई जागिरे कार्यकर्ता हुन् । नगर प्रमुख र उपप्रमुखले सिफारिस गरेकामध्ये अधिकांश स्ववियुमा उम्मेदवार बनेका थिए । यद्यपि, स्ववियु निर्वाचन सकिएपछि भने उनीहरूलाई सिफारिस गरिएको भए पनि भुक्तानी नहुने भन्दै नगरपालिकाले क्याम्पसलाई पत्र पठाएको छ ।
नगर प्रमुख थापा राप्रपाबाट विजयी भएका हुन् । सिफारिसमा पर्नेमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका नेता थिए । स्ववियु निर्वाचनका लागि थापाले राप्रविसंघ झापाका अध्यक्ष सुनील धिमाल, राप्रविसंघ जिल्ला सदस्य तथा दमक क्याम्पस संयोजक रविन ढकाल, राप्रविसंघबाट सचिवका उम्मेदवार राजेश थापा र अस्मिता दाहाललाई नगरपालिकाले पैसा दिने गरी क्याम्पसलाई भर्ना सिफारिस गरेका थिए । राप्रविसंघ झापा अध्यक्ष धिमाल स्ववियु निर्वाचनमा भोट हाल्ने प्रयोजनका लागि मात्र बिबिएस पहिलो वर्षमा भर्ना भएका हुन् । पूर्वस्ववियु कोषाध्यक्षसमेत उनले दमक बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरिसकेका छन् । उनी दमकमा रहेको किओच बाल अस्पतालमा अधिकृत तहको जागिरे हुन् ।
यस्तै, ढकाल गौरादह– ४ का स्थायी बासिन्दा हुन् । उनको ठेगाना दमक–८ बनाएर भर्ना सिफारिस गरिएको थियो । नगर प्रमुखको आदेशमा धिमाल, ढकाल र दाहालको भुक्तानी रोक्ने पत्र नगरपालिकाले क्याम्पसलाई लेखे पनि स्ववियु सचिवका उम्मेदवार थापाको भने भुक्तानी नदिने पत्रमा नाम छैन । कांग्रेसबाट उपप्रमुख निर्वाचित भट्टराईको अबन्डा कोषबाट पनि क्याम्पसमा भर्नाका लागि दिएको सिफारिसमा अधिकांश दमकबाहिरका नेविसंघका नेता छन् ।
उपप्रमुखले नेविसंघ नेता तथा दमक क्याम्पसमा स्ववियु सभापति निर्वाचित भूपेन्द्र बस्नेत, नेविसंघ नेता तथा सभापतिका बागी उम्मेदवार दीपक लिम्बू, स्ववियु पूर्वसदस्य पवन भण्डारी, नेविसंघ गौरादहका अध्यक्ष रामकृष्ण कोइराला र नेविसंघ दमक क्याम्पस उपाध्यक्ष तथा पूर्वस्ववियु सदस्य सविन गौतमको नाम भर्नाका लागि सिफारिस गरेकी थिइन् । उनीहरूमध्ये अधिकांश दमकबाहिरका हुन् । स्ववियु सभापति बस्नेत र पूर्वसदस्य गौतम शिवसताक्षी नगरपालिकाका हुन् । भण्डारी र कोइराला गौरादहका हुन् । यीमध्ये अधिकांश भर्ना मात्र भएको र उनीहरू क्याम्पसमा पढ्ने विद्यार्थी नभएको क्याम्पस प्रमुख यज्ञराज गिरीले बताए । ‘नगरपालिकाबाट पत्र आएपछि विद्यार्थीलाई भन्दा कतिपयले हामी त नपढ्ने हो, स्ववियुका लागि मात्र भर्ना गरेको भनेका छन्,’ उनले भने, ‘नगरपालिकाले पैसा नदिए विद्यार्थीबाट उठाउँछौँ ।’
दमक नगर प्रमुख र उपप्रमुखले अबन्डा कोष दुरुपयोग गरेको सूचना प्राप्त भएपछि नयाँ पत्रिका दैनिकले सूचनाको हकसम्बन्धी ऐन, ०६४ अनुसार सूचना माग गरेको थियो । २७ फागुनमै सूचना मागका लागि निवेदन दिए पनि नगरपालिकाका सूचना अधिकारी समीप चुडालले ऐनअनुसार १५ दिनको म्याद गुजारेका थिए । स्रोतका अनुसार उनलाई नगर प्रमुख थापाले स्ववियु चुनावअघि सूचना नदिन निर्देशन दिएका थिए । सूचना अधिकारीले १५ दिनमा सूचना नदिएपछि कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई १४ चैतमा उजुरीसहित सूचना मागको निवेदन दिएको थियो । नगरपालिकाले २० चैतमा मात्र सूचना उपलब्ध गराएको थियो ।
यसैबिचमा नगर प्रमुख र उपप्रमुखले १५ चैतमै दमक क्याम्पसलाई भुक्तानी रोक्ने पत्र काटेका थिए । नगर प्रमुख रामकुमार थापाले गल्तीले विद्यार्थी नेताको सिफारिस भएको भन्दै भुक्तानी नगर्ने निर्णय गरेर गल्ती सच्याएको बताए । ‘गल्तीले सिफारिस हुन पुगेछ । गल्ती सच्याएका छौँ,’ उनले भने, ‘अब क्याम्पसलाई ती विद्यार्थीले नै पैसा तिर्छन् ।’ सूचना माग गरेपछि मेयर थापानिकट व्यक्तिहरूले राप्रविसंघ जिल्ला अध्यक्ष सुनील धिमालको नाममा समाचार नलेखिदिन भन्दै पटक–पटक नयाँ पत्रिकाकर्मीलाई आग्रह गरेका थिए । दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरीले भने नगरपालिकाबाट भुक्तानी रोक्ने पत्र आए पनि क्याम्पसले दर्ता नगरेको बताए ।
निरन्तर अबन्डा कोषको दुरुपयोग
दमक नगरपालिकामा विगतदेखि नै मेयर कोष र उपमेयर कोषको नाममा राखिएको अबन्डा कोष दुरुपयोग हुँदै आएको छ । चालू आर्थिक वर्षमा मेयर र उपमेयर कोषमा ५०–५० लाख बजेट राखिएको छ । चालू आर्थिक वर्षबाट भने दमकमा वडाध्यक्ष कोष नामको अबन्डा कोषसमेत थपिएको छ । यसरी अबन्डा कोष राख्नु आर्थिक सुशासन र पारदर्शिताविपरीत हुने पूर्वमहालेखा नियन्त्रक सुरेश प्रधान बताउँछन् ।