मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
२o८१ चैत २५ सोमबार o६:५८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : हैदराबादलाई हराउँदै दोस्रो स्थानमा उक्लियो गुजरात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o६:५८:oo

गुजरात टाइटन्सले आइतबार १८औँ इन्डियन प्रिमियर लिगमा सनराजर्स हैदराबादलाई सात विकेटले हराएको छ । जितसँगै गुजरात ६ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । हैदराबाद चार हारका साथ अंकतालिकाको पुछारमा छ । हैदराबादले पाँच खेलमा एक जित मात्र निकालेको छ । गुजरातले चार खेलमा तीन जित र एक हारको सामना गरेको छ । 

पहिलो ब्याटिङ गरेको हैदराबादले घरेलु मैदानमा आठ विकेट गुमाएर १५२ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा गुजरातले १६.४ ओभरमा तीन विकेटको क्षतिमा १५३ रन बनायो । गुजरातको जितमा सुभमन गिलले ४३ बलमा ६१ रनको अर्धशतकीय योगदान दिएका थिए । उनले नौ चौका प्रहार गरे । यसैगरी, सेर्फाने रुथफोर्डले १६ बलमा एक छक्का र ६ चौका प्रहार गरी ३५ रन जोडे । 

गिल र रुथफोर्डले चौथो विकेटका लागि २१ बलमा ४७ रनको साझेदारी गरेका थिए । यसअघि गिलले वासिङटन सुन्दरसँग तेस्रो विकेटका लागि ९० रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । वासिङटनले २९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । बलिङमा हैदराबादका लागि मोहमद सामीले २८ रन खर्चेर दुई विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको हैदराबादविरुद्ध मोहमद सिराजले कसिलो बलिङ गरेका थिए । उनले चार ओभरमा १७ रन खर्चेर महत्वपूर्ण चार विकेट लिएका थिए । उनले हैदराबादका ओपनर टेभिस हेड, अभिषेक शर्मा, अंकित शर्मा र सिमर्जित सिंहको विकेट लिए । यसैगरी प्रसिद्ध कृष्ण र साई किशोरेले समान दुई विकेट हात पारे । इशान्त शर्मा सबैभन्दा खर्चिलो बलर बने । उनले चार ओभरमा ५३ रन खर्चे पनि विकेट लिन सकेनन् । हैदराबादको ब्याटिङमा ओपनर अभिषेक शर्माले १६ बलमा १८ रन बनाए । मध्यक्रमका नीतीशकुमार रेडीले ३४ बलमा ३१ तथा हेन्रिक क्लासेनले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरी २७ रनको योगदान दिएका थिए । अंकितले १४ बलमा १८ रन तथा कप्तान प्याट कमिन्सले नौ बलमा तीन चौका र एक छक्का प्रहार गरी महत्वपूर्ण २२ रनको योगदान दिए । 

बुमराहले बेंग्लोरविरुद्ध खेल्ने
मुम्बई इन्डियन्सका फास्टबलर जसप्रीत बुमराहले सोमबार रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्धको महत्वपूर्ण खेल खेल्ने भएका छन् । अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर ट्रफीमा बुमराह चोटग्रस्त भएका थिए । चोटबाट मुक्त नहुँदा उनले आइसिसी च्याम्पियन्स ट्रफी गुमाएका थिए । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले बुमराहलाई बेंग्लोरसँगको खेलमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ । 

मुम्बईका प्रशिक्षक महेला जयबर्द्धनेले आफ्ना प्रमुख बलर जसप्रीतले खेल्ने पक्का भएको बताएका छन् । ‘बुमराह फर्कनु हाम्रो लागि सुखद हो,’ जयबर्द्धनेले भने, ‘नेसनल क्रिकेट एकेडेमीमा लगातार अभ्यास खेलेका बुमराह मुम्बईको प्रशिक्षणमा आबद्ध भएका छन् ।’