
सुक्खा र डढेलोका कारण काठमाडौं उपत्यका डेढ सातादेखि वायुप्रदूषणको चपेटामा रहेका वेला बुधबार दिउँसो वर्षा भएको छ। २७ दिनपछि वर्षा हुँदा अब वायुप्रदूषण क्रमशः हट्दै जाने आकलन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार दिउँसो काठमाडौंमा हल्का पानी परेको र साँझ पनि पानी पर्ने सम्भावना रहेको बताए। ‘आजभन्दा भोलि बिहान र दिउँसो धेरै पानी पर्ने देखिन्छ, आजको पानीले केही राहत दिन्छ, भोलिको पानीले प्रदूषण हट्ला कि भन्ने छ,’ उनले भने।
पछिल्लो ३ घण्टामा उपत्यकाको साँखुमा २०.२ मिलिमिटर पानी परेको छ। उपत्यकाका सहरी क्षेत्रमा पनि हल्का पानी परेको छ। अहिले काठमाडौं उपत्यका, झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायत विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ।
मंगलबार मध्य र पूर्वीनेपालका केही जिल्लामा पानी परेको थियो। हाल पश्चिमी वायु तथा स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षा भइरहेको हो। यो प्रणाली शुक्रबारसम्म कायम रहने आकलन गरिएको छ।
२४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीमा वर्षाको सम्भावना छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो केही मात्रामा कम हुने देखिन्छ। सोमबारसम्म वायुको गुणस्तरको मात्रा (एक्युआई) २०० माथि रहँदै आएकामा मंगलबार केही घटेको थियो। बुधबार १८६ मा झरेको छ, यो वायुको अवस्था अस्वस्थकर नै रहे पनि अघिल्लो साताको तुलनामा कम हो।
यसअघि काठमाडौंमा १३ र १४ मार्चपछि वर्षा भएको थियाे। १४ मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वर्षा मापन केन्द्रमा १.५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। त्यसपछि २२ र २३ मार्चमा उपत्यकाका केही ठाउँमा पानीको छिटासम्म परेको थियो।