मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
सौरभ यादव राजविराज
२o८१ चैत २५ सोमबार o९:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संघअन्तर्गतकै मधेशका अस्पतालमा पाइँदैन बिमाअनुसारको नि:शुल्क औषधि

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o९:४२:oo

संघअन्तर्गत रहेका मधेश प्रदेशका अस्पतालमै स्वास्थ्य बिमा गरेका बिरामीले नि:शुल्क औषधि पाउन छाडेका छन् । चिकित्सकले लेखिदिएअनुसारका औषधि माग्दा अस्पतालका फार्मेसीमा काम गर्ने कर्मचारीले आफूसँग नभएको र बाहिरबाट लिन भन्ने गरेका छन् । 

बिमितले सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र वीरगन्जको नारायणी अस्पतालका फार्मेसीले स्वास्थ्य बिमाअनुसार पाउनुपर्ने नि:शुल्क औषधि नदिएको गुनासो गरेका छन् । ती फार्मेसीमा स्लाइनदेखि एन्टिबायोटिक औषधिसमेत पाउन छाडेको उनीहरूको भनाइ छ । 

सप्तरीको रूपनी गाउँपालिका– २ हैरवाका ७२ वर्षीय जगदीश इसर आइतबार छोरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुगेका थिए । छोरी वन्दना इसरको कान दुखेपछि उपचारका लागि उनी अस्पताल गएका थिए । डाक्टरसँग भेटेर औषधि लिन अस्पतालको फार्मेसी पुग्दा उनले त्यहाँ कुनै पनि औषधि पाएनन् । ‘डाक्टरले लेखेको कुनै पनि औषधि फार्मेसीमा थिएन । फार्मेसीका कर्मचारीले बाहिरको मेडिकल स्टोरबाट किन्न सल्लाह दिए,’ जगदीशले भने । आफूले स्वास्थ्य बिमा गरेको र औषधि पाउनुपर्ने बताए पनि कर्मचारीले बेवास्ता गरेको उनको भनाइ छ । 

राजविराज नगरपालिका– ४ की अन्जिरादेवी वैसको भोगाइ पनि जगदीशको भन्दा फरक छैन । ज्वरोले थलिएकी अन्जिरा उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् । डाक्टरलाई देखाएपछि उन पनि औषधि लिन फार्मेसी गइन् । तर, फार्मेसीमा कुनै पनि औषधि नपाएपछि निराश बनेको बताइन् । उनले पनि फार्मेसीका कर्मचारीले भनेअनुसार बाहिरबाटै औषधि किनेर घर फर्किएको बताइन् । अन्जिराले भनिन्, ‘ज्वरोले निकै सताएको थियो । बिमा गरेकाले अस्पतालमा गएपछि औषधि पनि नि:शुल्क पाइन्छ होला भन्ने सोचेकी थिएँ, तर त्यहाँ त एउटै औषधि रहेनछ ।’

गजेन्द्रनारायण सिंह अस्पतालमा जस्तै समस्या नारायणी अस्पताल वीरगन्जमा पनि रहेको बारा प्रसौनी गाउँपालिकाकी ७४ वर्षीया चम्पवा तेलिनले बताइन् । उनका अनुसार स्वास्थ्य बिमा गराएकाले फार्मेसीमा औषधि खरिद गर्न जाँदा पर्याप्त औषधि पाइँदैन । नारायणी अस्पतालका चिकित्सकले नौ प्रकारको औषधि लेख्दा सातवटा मात्र पाएको उनले बताइन् । स्वास्थ्य बिमा हुदाँहुँदै पनि बाहिरको फार्मेसीबाट औषधि खरिद गर्नुपर्ने बाध्यता रहेकोमा तेलिनले दुःखेसो गरिन् । तेलिनले जस्तै विन्दवासिनी गाउँपालिका– ५ हसवानिवासी ७३ वर्षीय रामलाल उपाध्यायले पनि चिकित्सकले लेखेअनुसारको औषधि नपाएको गुनासो गरे । डाक्टरले चारवटा औषधि लेखिदिएको, तर दुईवटा मात्र पाएको उनले बताए । 

अस्पतालले भुक्तानी नगर्दा औषधि आएन
गजेन्द्रनारायण सिंह अस्पतालमा केही समयदेखि औषधि अभाव रहेको अस्पतालका मेसु प्रकाश प्रसादले बताए । इमर्जेन्सीका लागि चाहिने स्टासेफ, मेटरोन, डिएनएस स्लाइन तथा मेट्रोन औषधि अभाव छ । उनले औषधिका लागि टेन्डर भइसकेको, तर भुक्तानी नभएकाले औषधि अभाव भएको बताए ।