
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २६ चैतमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारी पूरा भएको छ । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि मंगलबार काठमाडौंमा प्रदर्शन र जनसभा गर्न लागेको हो ।
भृकुटीमण्डपमा आयोजना हुने जनसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सभाअघि सुन्धाराबाट एनएसी, रत्नपार्क हुँदै जुलुस निस्कने र उक्त जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने उनको भनाइ छ ।
१५ चैतमा दुर्गा प्रसाईं नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक बनेका कारण राप्रपाले मंगलबारको प्रदर्शनलाई अहिंसात्मक र शान्तिपूर्ण बनाउने तयारी गरेको छ ।
‘१५ चैतको प्रदर्शनमा व्यापक घुसपैठ भएकाले हिंसात्मक भएको छताछुल्ल भइसकेकै छ । अबको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण र अहिंसात्मक हुनेछ,’ श्रेष्ठले भने । यसैबिच राप्रापाको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले समर्थन जनाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले राप्रपाको आन्दोलनमा सक्रिय सहभागी हुन सबैलाई अपिल गरेका हुन् ।