
प्रधानमन्त्री केपी ओलीले तीनकुने घटनामा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनामा तत्कालीन राजा शाहले पनि उन्मुक्ति नपाउने बताएका हुन् ।
प्रधानमन्त्रीले प्रारम्भिक अध्ययनमा चैत १५ गते भएका सबै घटनाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लंघन गरेको भन्दै नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार–व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनकी आमालाई प्रयोग गरिरहेको नारायणहिटी दरबारपरिसरको भवन प्रयोग गर्न दिने सहमति भएको बताए ।
‘हाल राष्ट्रिय सभाका माननीय सदस्य एवं तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गर्नुभएको थियो,’ प्रधानमन्त्रीले भने, ‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न ।’ उनले ज्ञानेन्द्रले फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? भनेर प्रश्नसमेत गरे ।
‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’ प्रधानमन्त्रीको प्रश्न छ ।
प्रधानमन्त्रीले सबै घटनाको मूल जिम्मेवार ज्ञानेन्द्र नै भएको र जिम्मासमेत लिनुपर्ने बताए । ‘गत चैत १५ गते दुईवटा राजनीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध–आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुन सक्ने अवाञ्छित घटनाप्रति आयोजकहरूलाई सचेत गराएको थियो,’ प्रधानमन्त्रीले सुनाए ।
प्रधानमन्त्रीले सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनीमार्गमा भव्य सभा गरेर आफ्नो धारणा सार्वजनिक गरेको बताए । मोर्चाको कार्यक्रम शालीन जुलुससहित भएको भन्दै प्रधानमन्त्रीले त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गरे । ‘हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु,’ प्रधानमन्त्रीको भनाइ छ ।
उनले भने, ‘काठमाडौंको तीनकुनेमा अर्को सभाका लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधासमेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजकमध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।’
तर, तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराएअनुसार सभा नगरेको र उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भिड सलबलाउन थालेको बताए ।
‘सभा वा मन्तव्य हाेइन, प्रदर्शनको कथित ‘जनकमान्डर’ आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भिड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुन्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरियो,’ प्रधानमन्त्रीको भनाइ छ ।
हुँदाहुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चारगृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्ट स्टोरहरू लुटपाट गर्नेजस्ता आपराधिक घटना सुरु गरिएको भन्दै प्रधानमन्त्रीले निजी व्यक्तिको घरमा आगजनी मात्रै नगरेर मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भएको बताए ।
‘अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतंककारी कामसमेत भयो । प्रहरीका सवारीसाधन मात्रै हाेइन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो,’ प्रधानमन्त्रीले भने, ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नुहुनेछ । ’
घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसका योजनाकार को हुन् र को–को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको बताए ।
प्रधानमन्त्रीले तीनकुने घटनाको पृष्ठभूमिमा करिब एक वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको भन्दै सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्त्व त्यसै वेलादेखि क्रियाशील भएको र मौका खोजिरहेको बताए ।
‘धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सदभाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक तथा वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो,’ प्रधानमन्त्रीले भने, ‘यसैबिच तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो ।’