
प्रधानमन्त्री केपी ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए ।
यही चैत १९ गतेबाट थाइल्यान्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदै छ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकीबाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’ को रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैँमा महत्त्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबिच ६ समझदारीपत्रमा हस्ताक्षर हुनेछ । उनले थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते सम्बाेधन गर्नेछन् र सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नेछन् ।
भोलि आफूसहित भ्रमण टोली बैंककतर्फ जाने उनले संसद्लाई जानकारी दिए। थाइल्यान्डका राजासँग २० गते औपचारिक भेटवार्ता हुने उनको भनाइ छ। त्यसैगरी, त्यहाँका प्रधानमन्त्रीसँग पनि कुरा हुने उनले बताए । ‘दुईवटा समझदारीमा हस्ताक्षर हुन्छ। दुईपक्षीय वार्तापछि संयुक्त प्रेस मिटमा सहभागी हुन्छु,’ उनले भने ।