
ग्रिनल्यान्ड कब्जामा लिन खोज्ने ट्रम्प पहिलो राष्ट्रपति होइनन्, अमेरिकाले लामो समयदेखि ग्रिनल्यान्डमा चासो राख्दै आएको छ
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले डेनमार्कको अर्धस्वायत्त क्षेत्र ग्रिनल्यान्डको भ्रमण गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सो भूमि जसरी पनि प्राप्त गर्ने आफ्नो महत्वाकांक्षा दोहोर्याए । ‘हामीलाई अन्तर्राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका लागि ग्रिनल्यान्ड चाहिन्छ, हामीले यसलाई लिनैपर्छ,’ ट्रम्पले बुधबार एक अन्तर्वार्तामा भने । पछि ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘ग्रिनल्यान्ड हामीलाई चाहिन्छ । डेनमार्कसहित ग्रिनल्यान्ड हाम्रो हुँदा विश्वलाई पनि भलाइ हुनेछ ।’ ट्रम्पले यो भूमि हासिल गर्न अमेरिका जुनसुकै हदसम्म जाने बताए । ट्रम्पको यस टिप्पणीले ग्रिनल्यान्डलाई भने आक्रोशित बनाएको छ । लामो समयदेखि डेनमार्कबाट पूर्ण स्वतन्त्रताका लागि आह्वान गरिरहेका ग्रिनल्यान्डवासी, जो सम्पूर्ण आर्कटिक क्षेत्रको जनसंख्याको ८५ प्रतिशत हुन आउँछन्, पुन अर्को देशको शासनअन्तर्गत रहन चाहँदैनन् ।
ग्रिनल्यान्डप्रतिको ट्रम्पको महत्वाकांक्षाप्रति अन्य देशले समेत प्रतिक्रिया दिन थालेका छन् । बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको ग्रिनल्यान्ड लिने विषयमा प्रतिक्रिया जनाए । पुटिनले ग्रिनल्यान्डप्रति ट्रम्पको रुचि नयाँ र अनौठो नभएर इतिहाससँग जोडिएको बताए । पुटिनका अनुसार अमेरिकाले लामो समयदेखि खनिजले धनी यस आर्कटिक भूमिमा आँखा लगाउँदै आएको छ ।
अमेरिकी अडानप्रति रुस कति चिन्तित ?
आर्कटिक वृत्तभित्रको सबैभन्दा ठुलो सहर मानिने रुसी सहर मुर्मन्स्कमा हालै ‘अन्तर्राष्ट्रिय आर्कटिक फोरम’को बैठक सम्पन्न भयो । बैठकमा पुटिनले पनि सम्बोधन गरेका थिए । सम्बोधनमा उनले ट्रम्प ग्रिनल्यान्ड लिने विषयमा गम्भीर रहेको बताए । अमेरिकाले आर्कटिक क्षेत्रमा आफ्नो भूरणनीतिक, सैन्य–राजनीतिक र आर्थिक हितलाई व्यवस्थित रूपमा अगाडि बढाउने पुटिनले दाबी गरे । पुटिनले मञ्चमा सम्बोधन गर्ने क्रममा आफ्ना दुई छिमेकी फिनल्यान्ड र स्विडेन नेटोमा सहभागी भएकोमा चिन्ता व्यक्त गरे । फिनल्यान्ड सन् २०२३ मा नेटोमा सामेल भएको थियो भने स्विडेन गत वर्ष मात्र सो समूहमा जोडियो ।
आफ्नो उत्तरी भेग जोडिएको आर्कटिकलाई रुसले आफ्नो प्रभाव क्षेत्र मान्छ । यस भेगनजिकको भूमिमा अमेरिकाको चासोलाई उसले नजिकबाट हेरिरहेको छ । ‘रुसले आर्कटिक क्षेत्रमा कहिल्यै कसैलाई धम्की दिएको छैन । तर, हामी त्यस भेगमा भएको विकासक्रमलाई नजिकबाट पछ्याउनेछौँ । हाम्रो सैन्य क्षमतामा वृद्धि र र सैन्य पूर्वाधारलाई आधुनिकीकरण गरेर उपयुक्त प्रतिक्रिया दिनेछौँ,’ पुटिनले भने । उनले रुस आर्कटिक क्षेत्रमा विदेशी साझेदारसँग सहकार्य गर्न ‘तयार’ रहेको पनि बताए । ‘हामी आफ्नो स्थिति जति बलियो बनाउँछौँ, परिणाम त्यति नै उल्लेखनीय हुनेछ । हामीसँग आर्कटिक क्षेत्रमा अन्तर्राष्ट्रिय परियोजना सुरु गर्ने फराकिलो अवसर हुनेछ । यसमा हामी मित्रवत् देश र सम्भवतः संयुक्त काममा रुचि देखाउने पश्चिमी देशको सहकार्य गर्नेछौँ,’ पुटिनले थपे ।
भान्सको भ्रमणप्रति डेनमार्क र ग्रिनल्यान्ड असन्तुष्ट
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स शुक्रबार ग्रिनल्यान्ड पुगेका थिए । उनीहरूसँगै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र अमेरिकी ऊर्जामन्त्री क्रिस राइट थिए । उनीहरू ग्रिनल्यान्डको उत्तरपश्चिम भागमा अमेरिकाको स्वामित्वमा रहेको ‘पिटुफिक अन्तरिक्ष बेस’मा उत्रिए । आर्कटिक सुरक्षा मुद्दाबारे जानकारी प्राप्त गर्न र त्यहाँ तैनाथ अमेरिकी सैन्य दलका सदस्यसँग भेट्न भान्स नेतृत्वको टोली गएको भान्सको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भान्सको भ्रमणलाई लिएर डेनमार्क र ग्रिनल्यान्ड असन्तुष्ट छन् । ग्रिनल्यान्डका कार्यवाहक सरकार प्रमुख म्युट एगेडले सोमबार एक पोस्टमा भान्सलाई ग्रिनल्यान्ड भ्रमणको कुनै आधिकारिक वा निजी निम्तो नदिइएको बताए । ‘वर्तमान सरकार निर्वाचनपछि नयाँ सत्ता गठबन्धनको गठन नभइन्जेलको कामचलाउ सरकार मात्र हो । हामीले सबै देशलाई यो प्रक्रियाको सम्मान गर्न अनुरोध गरेका छौँ,’ म्युटले लेखेका छन् । विरोधबिच भान्स दम्पतीको यात्रा कार्यक्रम केही परिवर्तन गरिएको थियो । उषा भान्स सुरुमा सिसिमियटमा हुने एक कुकुर दौडमा सहभागी हुने भनिएको थियो । तर, पछि यो जोडीको भ्रमण अमेरिकी सैन्य आधारमा मात्र सीमित भयो ।
भ्रमण तालिकामा भएको यस सामान्य परिवर्तनलाई डेनिस विदेशमन्त्री लार्स लोक रास्सुसेनले स्वागत गरेकी थिइन् । डेनिस सरकारी रेडियो डिआरसँग बोल्ने क्रममा रास्सुसेनले भनिन्, ‘अमेरिकी पदाधिकारीले ग्रिनल्यान्डिक समाजको भ्रमण रद्द गर्नु सकारात्मक कुरा हो । उनीहरूले आफ्नै आधार मात्र भ्रमण गर्नेछन् । हामीलाई त्यसप्रति त्यति गुनासो छैन ।’ तर, भान्सको यात्राअघि ट्रम्पको जसरी पनि ग्रिनल्यान्ड लिइछाड्ने टिप्पणीले डेनमार्क र ग्रिनल्यान्ड दुवैलाई चिढ्यायो । डेनमार्ककी प्रधानमन्त्री मेट्ट फ्रेडरेक्सनले मंगलबार डेनिस टिभीसँग बोल्ने क्रममा ग्रिनल्यान्ड र डेनमार्कमाथि दबाब दिइनु अस्वीकार्य भएको बताइन् । यस दबाबलाई प्रतिरोध गर्ने उनले जनाइन् ।
अमेरिकाका लागि रणनीतिक रूपमा महत्वपूर्ण
जनवरी २० मा दोस्रो कार्यकालका लागि शपथ लिएपछि ट्रम्पले बारम्बार ग्रिनल्यान्ड लिइछाड्ने बताउँदै आएका छन् । सो टापु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण रहेको ट्रम्पको जोड छ । ग्रिनल्यान्ड आर्कटिक महासागर र उत्तरी आन्द्र महासागरको बिचमा अवस्थित अर्ध–स्वायत्त डेनिस क्षेत्र हो । विगतमा डेनमार्कको उपनिवेश यो भूमिले १७ वर्षअघि स्वशासनको अधिकार पाएको हो ।
उत्तर अमेरिकाबाट युरोपसम्मको सबैभन्दा छोटो मार्ग यसै टापुनाजिक पर्ने भएकाले यो अमेरिकाका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ । यो टापु अमेरिकाको कब्जामा आए अमेरिकी सेना र यसको ब्यालिस्टिक मिसाइल पूर्वचेतावनी प्रणालीलाई धेरै लाभ पुग्नेछ । अमेरिका ग्रिनल्यान्ड, आइसल्यान्ड र बेलायतबिचको समुद्रमा ‘राडार’ राख्न पनि इच्छुक छ । यो क्षेत्र रुसी र चिनियाँ जहाजको प्रवेशद्वार हो । अमेरिका तिनलाई ट्र्याक गर्न चाहन्छ । ग्रिनल्यान्ड प्राकृतिक स्रोतमा पनि धनी छ । त्यहाँ प्रविधि निर्माणका लागि प्रयोग हुने दुर्लभ खनिज छन् । सन् २०२३ को एक सर्वेक्षणअनुसार युरोपेली आयोगले ‘महत्वपूर्ण कच्चा पदार्थ’ मानेका ३४ मध्ये २५ खनिज ग्रिनल्यान्डमा पाउन सकिन्छ ।
तथापि, आदिवासीको वाहुल्यता र ५६ हजार जनसंख्या रहेको यो टापुका मानिसले तेल र ग्यासको खानी उत्खननको विरोध गर्दै आएका छन् । ट्रम्प ग्रिनल्यान्ड कब्जामा लिन खोज्ने पहिलो अमेरिकी नेता होइनन् । अमेरिकाले लामो समयदेखि ग्रिनल्यान्डमा चासो व्यक्त गर्दै आएको छ । सन् १८६७ मा अमेरिकाका तत्कालीन विदेशमन्त्री विलियम एच सेवार्डले रुसबाट अलास्का किनेपछि ग्रिनल्यान्ड किन्ने प्रयास गरेका थिए । तथापि, यो प्रयास सफल भएन । ग्रिनल्यान्ड डेनमार्कको उपनिवेश रहँदा सन् १९४६ मा अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमनले फेरि टापु किन्न प्रस्ताव गरेका थिए । त्यति वेला पनि डेनमार्कले प्रस्ताव अस्वीकार गर्यो ।
आर्कटिक क्षेत्र नियन्त्रणको प्रयासको हिस्सा
जलवायु परिवर्तनका कारण पृथ्वी न्यानो हुँदै जाँदा आर्कटिकको हालसम्म प्रयोग नभएका विशाल स्रोतमाथि पहुँच बढ्दै गइरहेको छ । यी स्रोतमाथि अमेरिका, क्यानडा, चीन र रुसजस्ता देशको नजर छ । डिसेम्बर २०२४ मा क्यानडाले आर्कटिक क्षेत्रमा आफ्नो सैन्य र कूटनीतिक उपस्थिति बढाउने नीतिगत दस्ताबेज नै जारी गर्यो । उता रुसले यस क्षेत्रमा सैन्य प्रतिष्ठान र ऊर्जा संयन्त्र निर्माण गरिरहेको छ । यसैबिच, बरफ पग्लिन थालेसँगै रुस र चीनले संयुक्त रूपमा आर्कटिक क्षेत्रबाट ढुवानी मार्ग विकासमा काम गरिरहेका छन् । यो भार्ग मस्को र बेइजिङ दुवैका लागि फाइदाजनक छ । पश्चिमी प्रतिबन्धका कारण रुसले यसै मार्गबाट चीनलाई थप तेल र ग्यास पुर्याउन खोजिरहेको छ । त्यस्तै, मलाक्का जलडमरुमाथिको आफ्नो निर्भरता कम गर्न बेइजिङ यसलाई अन्य विभिन्न वैकल्पिक ढुवानी मार्गमध्ये एक मान्छ ।
नर्दन सी रुट (एनएसआर) आर्कटिक महासागरमा रहेको समुद्री मार्ग हो । पहिले बरफले ढाकिने यो क्षेत्र अहिले यात्राका लागि सहज बन्दै गइरहेको छ । एनएसआरले समुद्री ढुवानी समयलाई उल्लेखनीय रूपमा घटाउन सक्छ । पश्चिमी प्रतिबन्धका कारण रुसले युरोपसँग गर्दै आएको व्यापारलाई एसियातर्फ मोड्नका लागि यही मार्ग उपयोगी हुने आशा गरिरहेको छ । गत वर्ष नर्दन सी रुटमार्फत रुसबाट चीनमा तेल ढुवानीको संख्या एकचौथाइले बढेको थियो । चीनले यस क्षेत्रको अनुसन्धानको काम पनि बढाएको छ । उसले आर्कटिकमा १० वैज्ञानिक अभियान पठाएको छ र रुसको उत्तरमा रहेको बरफिलो भागमा सर्वेक्षण गर्ने अनुसन्धान जहाज चलाइरहेको छ ।
– अल जजिराबाट