मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
आरोन मोत्सोआलेदी
२o८१ चैत १८ सोमबार ११:१४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महामारी र संक्रामक रोगविरुद्धको लडाइँमा एकजुट हुनुपर्छ विश्व

Read Time : > 2 मिनेट
आरोन मोत्सोआलेदी
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार ११:१४:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायतामाथि खर्च रोकेको निर्णयले अन्तर्राष्ट्रिय विकास समुदायका लागि एउटा महत्वपूर्ण चुनौती खडा गरेको छ । उनको कदमले रोग बढ्ने चेतावनी विज्ञले दिएका छन् । विश्वको सबैभन्दा ठुलो दाताको भविष्यको भूमिकाबारे अनिश्चितता बढिरहेका बेला विश्वव्यापी कोष (ग्लोबल फन्ड) आशाको किरणको रूपमा देखिएको छ । यस सहस्राब्दीको सुरुवातदेखि जेनेभास्थित बहुपक्षीय यस संस्था मानवताको सबैभन्दा पुरानो महामारी, संक्रामक रोगहरू, विशेषगरी मलेरिया, एचआइभी र क्षयरोगसँग लडिरहेको छ । लक्षित कोष र नवीन रणनीतिमार्फत विश्वव्यापी कोषले मलेरिया र एचआइभी उपचारमा महत्वपूर्ण सफलता हासिल गरेको छ । ग्लोबल फन्डले क्षयरोगमा आफ्नो ध्यान केन्द्रित गर्ने समय भइसकेको छ ।

ग्लोबल फन्डको २०२३ देखि २०२५ को बजेटको लगभग एकतिहाइ (जम्मा ४४.१७ बिलियन डलर) औलोविरुद्धको लडाइँमा छुट्याइएको छ । यी अनुदानले कीटनाशक औषधि प्रयोग भएको झुलको वितरण र द्रुत निदान परीक्षणका कार्यक्रमलाई सहयोग गरेका छन्, जसका कारण संक्रमण फैलावटमा उल्लेखनीय कमी आएको छ । फलस्वरूप रुवान्डा र जाम्बियाजस्ता देशमा औलोका केस र मृत्युमा उल्लेखनीय गिरावट आएको छ ।

एचआइभी उपचारका लागि ग्लोबल फन्डले ४६.४८ अर्ब डलर खर्च गरिरहेको छ, जुन यसको विनियोजनको लगभग आधा हो । विगत एक दशकमा कोषले लाखौँ मानिसका लागि एन्टिरेट्रोभाइरल थेरापीको पहुँचलाई सहज बनाएको छ, जसले एचआइभीलाई घातक रोगबाट व्यवस्थापनयोग्य दीर्घकालीन अवस्थामा रूपान्तरण गर्न मद्दत गरेको छ । विशेषगरी कमजोर समुदायमा शिक्षा र रोकथामलाई प्रवद्र्धन गरेर, कोषले मानिसहरूलाई आफ्नो स्वास्थ्यबारे सचेत बनाएको छ । साथै, यी प्रयासले अनगिन्ती जीवन बचाएका छन् र विश्वव्यापी स्वास्थ्य सुरक्षालाई सशक्त बनाएका छन् । तर, अब यसको कोष विनियोजनको पुनः मूल्यांकन गर्ने समय आएको छ । क्षयरोग रोकथाम र नियन्त्रणलाई २.४ अर्ब डलर वा ग्लोबल फन्डको बजेटको १८ प्रतिशत मात्र छुट्याइएको छ र ग्लोबल फन्ड स्थापना भएदेखि हरेक वर्ष एचआइभी वा मलेरिया उपचारका लागि भन्दा कम रकम छुट्याइएको छ ।

तर, आज क्षयरोगले एचआइभी र मलेरियाको संयुक्त मृत्युभन्दा धेरै मानिसको ज्यान गएको छ । यो विश्वको सबैभन्दा ठुलो घातक संक्रामक रोग हो । क्षयरोगले भन्दा मलेरिया र एचआइभीले ग्लोबल फन्डबाट धेरै स्रोतसाधन मात्र पाउँदैनन्, तिनीहरूले धेरै विश्वव्यापी प्रचार र मिडिया कभरेज पनि पाउँछन् । तुलनात्मक रूपमा क्षयरोग एक उपेक्षित, प्रायः बेवास्ता गरिएको र बिर्सिएको महामारी हो ।

किन यस्तो भयो भनेर बुझ्नका लागि हामीले क्षयरोगको इतिहास हेर्नु आवश्यक छ । आज धनी संसारका मानिसका लागि यो रोगले बितेको युगको धमिलो सम्झनाभन्दा अलि बढी अर्थ राख्छ । तर, एक समय थियो, जतिवेला क्षयरोग डरलाग्दो थियो । सन् १८०० को दशकमा क्षयरोगले मृत्युको सुनामी निम्त्यायो, युरोप र संयुक्त राज्य अमेरिकाभर प्रत्येक चारजनामा एकजनाको मृत्यु भयो । सन् १८०० को दशकको धेरैजसो समयका लागि न्युयोर्क सहरको क्षयरोगको मृत्युदर मात्र अहिलेकोभन्दा बढी थियो । त्यस वेला क्षयरोग कोभिड –१९ महामारीभन्दा घातक  थियो । विगत दुई शताब्दीमा क्षयरोगले एक अर्ब मानिसको ज्यान लिएको हुन सक्छ । तैपनि, एन्टिबायोटिक र बाल्यकालमा दिइने खोप, सुधारिएको जीवनस्तर, प्राथमिक जनस्वास्थ्य उपाय र त्यसपछिको उपचार सफलताले धनी देशमा यो रोग धेरै हदसम्म उन्मूलन भएको छ । फलस्वरूप, क्षयरोगले प्रायः धनी संसारको ध्यान गुमाएको छ । विश्वको गरिब आधा जनसंख्याका लागि त्यस्तो होइन, जहाँ क्षयरोगले अझै पनि प्रत्येक वर्ष लगभग १३ लाखको ज्यान लिन्छ । त्यो  संख्या एचआइभी÷एड्स (६ लाख ३० हजार) र मलेरिया (६ लाख १९ हजार) को संयुक्त मृत्युदर भन्दा बढी छ ।

आधा शताब्दीभन्दा बढी समयदेखि हामीलाई क्षयरोगको उपचार कसरी गर्ने भन्ने थाहा छ । तैपनि, यो विश्वका गरिब क्षेत्रमा कीर्तिमानी संख्यामा मानिसको मृत्युको कारक बनेको छ । जसका कारण मानिसहरूको वयस्क अवस्थामा मृत्यु हुने गर्छ । यो त्यतिवेला फैलिन्छ, जब मानिसहरू संक्रमितको नजिकै बस्छन् । यो आधारभूत स्वास्थ्य सेवा र कल्याणकारी सेवाबाट वञ्चित जनसंख्यामा बढी देखिने गर्छ । 

रोगलाई कसरी पराजित गर्ने भनेर हामीलाई राम्रै थाहा छ । त्यसो गर्न आश्चर्यजनक रूपमा थोरै स्रोतसाधन लाग्नेछ । कोपनहेगन कन्सेन्सस थिंक ट्यांकको अनुसन्धानले देखाउँछ कि वार्षिक ६.२ अर्ब डलरको अतिरिक्त खर्चले आगामी दशकमा प्रतिवर्ष लगभग १० लाख जीवन बचाउन सक्छ । रोग नियन्त्रणविरुद्धको अतिरिक्त लगानीले यसलाई सबैभन्दा राम्रो सम्भावित विकास नीतिमध्ये एक बनाउँछ ।

यो खर्चले थप संक्रमण रोक्न व्यापक निदानलाई सक्षम बनाउनेछ र धेरैजसो क्षयरोगका बिरामीलाई औषधि सेवन गरिरहन सुनिश्चित गर्नेछ, जसले गर्दा २०३० सम्ममा मृत्युदर ९० प्रतिशतले घट्नेछ । मृत्यु र क्षयरोगका बिरामीको संख्यामा आएको गिरावटसहितका फाइदा स्वास्थ्य सेवा र समय लागतभन्दा बढी छन् । विश्व उदार हुनु आवश्यक छ, किनभने ग्लोबल फन्डले विश्वव्यापी कल्याण प्रदान गर्ने यो सबैभन्दा राम्रो तरिकामध्ये एक हो भनेर देखाएको छ ।

मोत्सोआलेदी दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री हुन् ।