मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
एजेन्सी यांगुन
२o८१ चैत १८ सोमबार १o:५९:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भूकम्पमा ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो

Read Time : < 1 मिनेट
एजेन्सी, यांगुन
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १o:५९:oo

म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १७ सयभन्दा बढी पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ । मध्य म्यानमारको सागिङ सहरको उत्तर–पश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको परकम्प आएको थियो । भूकम्पले भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसको घरमा क्षति पुगेको थियो ।

म्यानमारमा कम्तीमा एक हजार ७०० जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना घाइते भएको म्यानमार सरकारले विज्ञप्तिमा जनाएको छ । भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध छ । मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ । विमानस्थल तथा सडक बन्द रहेकाले राहत तथा उद्धार सामग्री पु¥याउने काममा समेत समस्या भइरहेको जनाइएको छ । मध्य म्यान्मारको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुन सक्ने रेडक्रसका एक अधिकारीले बताए ।

शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो । भवनको भग्नावशेषबाट नौजनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको घटनास्थलमा रहेका रेडक्रसका एक प्रतिनिधिले बताए । उनले भने, ‘९० जनाभन्दा बढी मानिसभित्र हुन सक्छन् । हामी अझै पनि तथ्यांक संकलन गरिरहेका छौँ । हराएका परिवारका सदस्यको खोजी भइरहेको छ ।’ शुक्रबारको भूकम्प दशकौँपछिको देशको सबैभन्दा ठुलो हो । भूकम्पका कारण १७ लाखभन्दा बढी जनसंख्या भएको दोस्रो ठुलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ ।