
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमाको रकममा काउन्टरमा बसेका कर्मचारीले ‘रिफन्ड’ भन्दै ६० लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ । बिमाअन्तर्गत लिइने १० प्रतिशत रकम बिरामीबाट लिएर काउन्टरमा बस्ने कर्मचारीले रातिको समयमा सफ्टवेयरमा ‘रिफन्ड’ लेख्दै आफ्नै गोेजीमा राखेको छानबिनपछि फेला परेको हो । जसमा ६ जना कर्मचारी संलग्न रहेको अनुसन्धानमा खुलेको छ ।
बिरामीसँग लिएको रकम ‘रिफन्ड’ लेख्दै कर्मचारीले आफ्नो गोजीमा राखेको भन्ने गुनासो आएपछि अस्पताल प्रशासनले गत १० फागुनमा सिस्टममा हेर्दा बिमातर्फको काउन्टरबाट भएको ‘रिफन्ड’ डाटाको कारोबार अस्वाभाविक देखिएपछि छानबिनका लागि प्रतिष्ठानका शाखा अधिकृत सुशीलकुमार अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । छानबिनपछि ६ जना कर्मचारी दोषी देखिएका हुन् । उनीहरूमध्ये एकजनाले मात्रै ५१ लाख अनियमितता गरेको भेटिएको छ । अनियमिततामा संलग्न कर्मचारीको नाम भने सार्वजनिक गरिएको छैन ।
अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले दोषी कर्मचारीलाई जिम्मेवारीबाट हटाएर कानुनी कारबाही अघि बढाउने निर्णय भएको जानकारी दिए । उनीहरू सामाजिक सेवा इकाइको साझेदार संस्था आइएनएफबाट खटिएका सहजकर्ता हुन् । बिमामार्फत सेवा लिनेले आफूले लिएको सेवाको १० प्रतिशत नगद बुझाउनुपर्ने नियम छ ।
काउन्टरमा बस्नेले दिउँसोको समयमा बिरामीसँग लिएको रकम बिमाको सफ्टवेयरमा रातिराति ‘रिफन्ड’ गरेको भेटिएपछि अनुसन्धान गरिएको हो । बिरामीले तिरेको पैसा सेवा प्राप्त गर्न नसकेमा वा नगरेमा फिर्ता दिने चलन छ । फिर्ता गरिएको रकम बिमातर्फका कर्मचारीले सिस्टममा फिर्ता देखाएर आफ्नै गोजीमा राखेर अनियमितता गरेको भेटिएको हो ।