मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
२o८१ चैत १८ सोमबार o९:३१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाकाे बैठक चल्न नदिने विपक्षी दलकाे चेतावनी

सभामुखले बोलाए सर्वदलीय बैठक 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार o९:३१:oo

मंगलबार दिउँसो १ बजे बागमती प्रदेश सभाको बैठक बस्दै छ । तर, प्रमुख विपक्षी दलहरूले भने प्रदेश सभाको बैठक चल्न नदिने चेतावनी दिएका छन् । 

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पछिल्ला गतिविधिका विषयमा सरकारको स्पष्ट धारणा नआएसम्म बैठक चल्न नसक्ने चेतावनी दिएका छन् । उनले सरकारको गतिविधि र मन्त्रीहरूका कामका विषयमा सरकारले चित्तबुझ्दो जवाफ नदिए हाउस चल्न नसक्ने बताएका हुन् ।

प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका जम्कट्टेलले नयाँ पत्रिकासँग कुरा गर्दै विगतमा विपक्षी दलहरूसँग गरेका सहमति र प्रदेशका गरिबी निवारण तथा सहकारीमन्त्रीका स्वकीयको आत्महत्याका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । सरकारले मन्त्रीहरूलाई जवाफदेही र जिम्मेवार बनाउन नसक्दा सहकारी ठगिमा संलग्न हुने गरी अडियो रेकर्डहरू सार्वजनिक भएको उनको दाबी छ । 

सहकारी ठगी केसमा मन्त्रीको स्वकीय जोडिएको अडियो सार्वजनिक भएको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ । उक्त विषयमा सरकारले स्पष्ट जवाफ नदिएसम्म संसद् बैठक चल्न नसक्ने नेता जम्कट्टेलले बताए ।

‘सरकारको धारणाअनुसार संसद् सञ्चालनको निर्णय लिन्छौँ,’ उनले भने, ‘सरकार विपक्षीलाई बेवास्ता गर्दै अघि बढिरहेको छ । सरकारले हामीसँग कुनै पनि विषयमा समन्वय गरेको छैन । सरकार जवाफदेही नबन्दासम्म संसद् सञ्चालन हुन असम्भव छ ।’

बैठक चलाउन सहज वातावरण बनाउँछौँ  : मुख्यमन्त्री लामा 
यता प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसद् सञ्चालनका लागि खासै समस्या नरहेको उल्लेख गर्दै सहज वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूले पनि सहज वातावरण तयार गर्नुपर्ने बताए ।

उनले विपक्षी र सरकारबिचका राजनीतिक विषयलाई छलफलका माध्यमबाट समाधान गरेर जान सकिने स्पष्ट पार्दै त्यसका लागि सरकार तयार रहेको जानकारी दिए । ‘सरकारले विगतमा विपक्षीले उठाएका विषयहरू पनि क्रमशः सम्बोधन गर्दै अघि बढेको छ । केही विषयहरू समेट्ने चरणमा छौँ,’ उनले भने, ‘विपक्षीले पनि यो कुरा राम्रैसँग बुझेको छ । त्यसकारण संसद् बैठक सञ्चालनमा कुनै समस्या हुन्न ।’

सभामुखले बोलाए सर्वदलीय बैठक 
१९ चैतमा बस्ने बागमती प्रदेश सभाको बैठक सञ्चालनका लागि आज (सोमबार) सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न ४:३० बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सभा सञ्चालनको विषयहरू टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको सभामुख पाठकले बताए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाइ छ । उनका अनुसार सत्तापक्ष र विपक्षीबिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो ।

बैठकले प्रदेश सभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाइ छ । ‘१९ चैतमा बैठक बस्ने तय भएकाले छलफलको तयारी गरिएको हो । बैठकका लागि प्रदेश सभाका सातवटै दललाई पत्राचार गरिएको छ,’ उनले भने, ‘संसद् बैठकअघि केही असहमति, एजेन्डाका विषयमा छलफल गर्न उक्त सर्वदलीय बैठक महत्त्वपूर्ण हुने भएकाले आह्वान गरिएको हो । सत्तापक्ष र विपक्षीबिचका इस्युहरूलाई पनि समेट्ने गरी छलफल हुनेछ ।’

सभामुख पाठकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा दलहरूको धारणा बुझेर संसद्को कार्यसूची र सञ्चालनको विषय निर्धारण गरिने बताए । यद्यपि, हालसम्म संसद् बैठक सञ्चालनको लागि कुनै असहज अवस्था भने नभएको उनको भनाइ छ । ११० सदस्यीय बागमती प्रदेश सभामा सात दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुखसहित), राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी सात, नेमकिपा तीन र हाम्रो नेपाली पार्टीका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।