मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
२o८१ चैत १८ सोमबार o९:१३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवामा अन्तर्राष्ट्रिय उडान फेरि ठप्प

कात्तिकदेखि नियमित उडान गर्दै आइरहेका फ्लाई दुबई, थाई एयर एसिया र जजिरा एयरवेजले रोके भैरहवा उडान 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार o९:१३:oo

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । १ अप्रिलदेखि सुरु हुने समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडानको सेड्युल पेस नगरेपछि तत्काललाई अन्तर्राष्ट्रिय उडान ठप्प हुने भएको हो ।

भैरहवामा जजिरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । तर आइतबार (३० मार्च)देखि नै भैरहवामा तीनवटै वायुसेवाले आफ्नो उडान हटाएका हुन् । सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल चलिरहेको र छिट्टै टुंगो लगाएर नियमित उडानको प्रयास भइरहेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । तत्काललाई भने नियमित अन्तर्राष्ट्रिय उडान रोकिएको उनको भनाइ छ ।

भैरहवामा अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र फ्लाई दुबईले शनिबार अन्तिम उडान गरेका थिए । थाई एयर एसियाले ११ चैतसम्म उडान गरेको थियो । नेपाल वायुसेवा निगम (नेवानि)ले काठमाडौं–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ । निगमको जहाज भैरहवा अवतरण गरे पनि ढोका नै खोलिँदैन । कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरिसकेको छ । सबै वायुसेवा भैरहवा उडानका लागि तयार नभएपछि गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय कक्ष फेरि सुनसान हुने भएको हो । 

शनिबार कुवेतबाट भैरहवा आएको (अन्तिम उडान) जजिरा एयरवेजले एक सय ५६ यात्रु ल्याएको थियो भने भैरहवाबाट एक सय ६६ यात्रु कुवेत प्रस्थान गरेका थिए । जजिराले अन्तिम उडान फुल अकुपेन्सीमा गरेको थियो । दुबई–भैरहवा–काठमाडौं उडान गर्दै आएको फ्लाइ दुबईले शनिबार ४२ यात्रु भैरहवा झारेको थियो भने ३७ यात्रु भैरहवाबाटै दुबईका लागि प्रस्थान गरेका थिए । जहाजमा कुवेतबाट कुल एक सय सात यात्रु आएका थिए, अरू यात्रु काठमाडौं ओर्लिएका थिए । वायुसेवा कम्पनीले यात्रु अभावकै कारण उडान रोक्नुपर्ने स्थिति नरहेको बताइन्छ ।

‘भैरहवामा वायुयानले राम्रै यात्रुहरू पाइरहेका थिए, पर्यटनको सिजन पनि सुरु हुँदै छ, अहिले वायुसेवा कम्पनीले उडान रोक्नुपर्ने वेला थिएन,’ विमानस्थलका महाप्रबन्धक तिवारीले भने, ‘यात्रुलाई केही कठिनाइ छन्, त्यो पनि मिलाउन पहल गरिरहेका छौँ, सबै कुराको सहजीकरण गर्दै अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्नतर्फ प्रयास गर्नुपर्छ ।’ तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र सम्बन्धित वायुसेवा कम्पनीहरू बसेर छलफल गरी उपयुक्त कार्यनीति बनाई अगाडि बढ्नुपर्ने भैरहवाका व्यवसायीहरूको सुझाव छ ।

प्राधिकरणले २३ कात्तिकदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर स्तरोन्नतिको काम सुरु गरेपछि उडान कटौती भएका थिए । त्यसपछि नेपाल वायुसेवा निगम, फ्लाई दुबई, कतार एयरवेजलगायतले भैरहवा उडान सुरु गरेका थिए । त्रिभुवन विमानस्थलको धावनमार्गबाट ७५ मिटरभित्र पर्ने जोखिमपूर्ण क्षेत्रको काम सम्पन्न गरेर १९ चैतदेखि विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएपछि वायुसेवा कम्पनीले भैरहवा उडानका लागि चासो नराखेको बताइन्छ । भैरहवामा सीधा उडान गर्ने जजिरा (कुवेत–भैरहवा–कुवेत) र थाई एयर एसिया (बैंकक–भैरहवा–बैंकक)ले पनि उडान नियमित गर्न चासो देखाएका छैनन् । 

विन्टर सिजनमा थाई एयर एसियाले सातामा दुई, जजिराले सातामा तीन फ्लाई दुबईले दैनिक एउटा उडान गर्दै आएका थिए । तर, १ अप्रिलदेखि अक्टोबरसम्म कायम हुने समर सिजनको सेड्युलका लागि अनुमति नलिएको क्यानले जनाएको छ । भैरहवा उडान नियमित गर्नका लागि सरकारले पनि चासो नदेखाएको पर्यटन व्यवसायीहरूको गुनासो छ । अब फेरि उडान कहिले सुरु हुन्छ टुंगो छैन । विमानस्थलका महाप्रबन्धक तिवारीले वायुसेवा कम्पनी तयार भए चाँडै उडान सुरु गर्न सकिने बताए । त्यसका लागि पहलकदमी भइरहेको उनको भनाइ छ ।

सरकारले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय वायुेवा कम्पनीलाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन शुल्कमा पूर्ण छुट दिएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७४ प्रतिशत छुट दिइएको छ भने प्रतिकिलोलिटर हवाई इन्धनमा १०० अमेरिकी डलर सहुलियत उपलब्ध छ । अन्तर्राष्ट्रिय यात्रुको टिकटमै जोडेर उठाउँदै आएको प्रतियात्रु तीन हजार रुपैयाँ यात्रु सेवा शुल्क र प्रतियात्रु एक हजार रुपैयाँ पर्यटन शुल्क पनि भैरहवा र पोखराबाट यात्रा गर्ने यात्रुलाई पूर्ण रूपमा छुट दिइएको छ । तर, टिकटमा लगाउँदै आएको भ्याट छुट दिनका लागि भने अर्थ मन्त्रालयले अटेर गरेको छ ।

२ जेठ ०७९ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । उद्घाटनकै दिनदेखि भैरहवा उडान सुरु गरेको जजिरा एयरवेजले बिचमा उडान बन्द गरेको थियो । रुपन्देहीका उद्योगी–व्यवसायीले भैरहवामा अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलनदेखि काठमाडौंसम्म पुगेका थिए । सरकारले पनि विमानस्थल सञ्चालनका लागि विभिन्न सहुलियत घोषणा गर्दै आएको थियो ।

अन्तर्राष्ट्रिय उडान अनिश्चित भएसँगै रुपन्देहीको पर्यटन क्षेत्रमा ठुलो धक्का लागेको होटेल व्यवसायी महासंघका उपमहासचिव राजेश मल्होत्राले बताए । उनले भने, ‘भैरहवाको पर्यटन व्यवसायमा गरिएको अर्बौँ लगानी संकटमा पर्ने देखिएको छ, सरकारले तत्काल सम्बोधन गर्न आवश्यक छ ।’ 

सरकारले तत्काल विमानस्थल नियमित सञ्चालनका विषयमा सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए । विमानस्थल सञ्चालनमा विभिन्न किसिमबाट अवरोध पु¥याउनमा कर्मचारी र काठमाडौंका पर्यटन व्यवसायीहरू लागेको उनको आरोप छ । केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण सरकार र व्यवसायीको अर्बौँ लगानी डुब्ने अवस्था आएको उनको गुनासो छ ।

मंगलबारदेखि त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालन
१९ चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्र पर्ने जोखिमपूर्ण काम सम्पन्न गरेर बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला गर्न लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २३ कात्तिकदेखि दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) विमानस्थल बन्द गरेरै स्तरोन्नतिको काम गरिँदै आएको थियो । विमानस्थल १४ घण्टा मात्र सञ्चालन भइरहेको थियो । बिचमा दुई घण्टा थपेर दैनिक १६ घण्टा (बिहान ७ बजेदेखि राति ११ बजेसम्म) विमानस्थल सञ्चालन गरिँदै आएको छ । विमानस्थलमा ट्याक्सी वे, एप्रोन, ह्यांगरलगायत विस्तार गरिँदै छ ।