
बुटवल लुम्बिनी र झापा एफसीले तेस्रो नेपाल सुपर लिग (एनएसएल)को दोस्रो खेलमा गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा आइतबार दुवै टोलीले १४ सय दर्शकसामु निराश खेल खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धामा दर्शकले खुसियाली मनाउने मौका नै पाएनन् ।
झापाले केही आकर्षक गोलका अवसर सिर्जना गरे पनि बुटवल लुम्बिनीले एक अवसर मात्र बनाएको थियो । खेल प्रतिस्पर्धात्मक बनाउन दुवै टोलीले समान पाँच विदेशी खेलाडी उतारेका थिए । तर, उनीहरूले क्षमताअनुसार आफ्नो कौशल देखाउन सकेनन् ।
खेलको ७०औँ मिनेटमा बुटवलका कप्तान एरिक विष्टले रातो कार्ड पाए । त्यसपछि बुटवलले दश खेलाडीमा प्रतिस्पर्धा गरेको थियो । विपक्षीको एक खेलाडी कम भएको फाइदा झापाले उठाउन सकेन । झापाले अस्ट्रेलिया गएका ऋतिक खड्कालाई कमब्याक गरायो । एनएसएल अक्सनमा ‘ए’ श्रेणीका एक खेलाडी कम खरिद गरेपछि झापा विदेशमा रहेका नेपाली खेलाडी ल्याउन बाध्य भएको हो ।
बुटवलले पहिलो रोजाइका गोलरक्षक दीप कार्कीलाई प्लेइङ ११ मै समावेश गरेको थियो । दीपले खेल अवधिभरि नै उत्कृष्ट प्रदर्शन गरे । उनले झापाका राम्रो अवसरलाई विफल पारे । यसै प्रदर्शनका कारण उनी खेलकै प्लेअर अफ दी म्याच भए । झापाका प्रशिक्षक प्रवेश कटवालले १ अंकमा सन्तुष्टि हुन नसकेको बताए । ‘३ अंक आउने खेलमा गोल नै भएन, १ अंकले खुसी छैन,’ कटवालले भने, ‘यहाँ जित्नका लागि आएका थियौँ, अवसर पनि पाएका थियौँ ।’ उनका अनुसार बुटवलका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेका थिए । ‘विपक्षी दश खेलाडीमा सीमित हुँदाको फाइदा लिनुपर्ने थियो । हामी दोस्रो हाफमा चुक्यौँ,’ उनले भने । सोमबार एफसी चितवनले पोखराको सामना गर्नेछ ।
भुटानी प्रशिक्षक शर्माले सम्हाले नेपाली क्लब
बुटवलका प्रशिक्षक पुष्पलाल शर्माले नेपाली फुटबलमा व्यक्तिगत रेकर्ड बनाएका छन् । भुटानका नागरिक शर्माले पहिलोपटक नेपाली क्लबलाई सम्हालेका हुन् । प्रो लाइसेन्स प्राप्त शर्मालाई बुटवलले एनएसएलका लागि अनुबन्ध गरेको हो । नेपालको फुटबल इतिहासमा यसअघि कुनै पनि भुटानी प्रशिक्षकले क्लब हेरेका छैनन् । गत साउनमा उनकै प्रशिक्षणमा एफसी पारोले दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो ।
प्रशिक्षक शर्माले पहिलो खेल सोचेजस्तो नभएको बताए । ‘मेरा लागि नेपालमा पहिलो खेल थियो, खासै उत्साही भइनँ,’ उनले भने, ‘समग्र दक्षिण एसियाको फुटबल उस्तै छ, तर पहिलो खेलमा ३ अंक बटुल्ने योजना पूरा भएन ।’ नेपाली प्रशिक्षकसँग प्रो लाइसेन्स छैन । दक्षिण एसियामा भुटानको फुटबल संरचना कमजोर मानिन्छ । शर्माले गोलरक्षक दीपले उत्कृष्ट खेलेको बताए । ‘समग्रमा आजको खेलमा गोलरक्षक दीपले राम्रो प्रदर्शन गरे,’ उनले भने, ‘१ अंक प्राप्त गर्न गर्न उनको योगदान महत्वपूर्ण रह्यो ।’ तेस्रो संस्करणको सुपर लिगमा सातमध्ये बुटवलले मात्रै नेपाली गोलरक्षकलाई पहिलो रोजाइमा राखेको छ । बाँकी ६ टोलीले पहिलो रोजाइमा विदेशी गोलरक्षकलाई प्राथमिकतामा राखेका छन् ।
कप्तानले रातो कार्ड पाउँदा गाह्रो भयो : पुष्पलाल शर्मा, प्रशिक्षक, बुटवल लुम्बिनी
विदेशी सेन्टर ब्याक सुरुमै घाइते हुँदा समस्या भयो । उनलाई परिवर्तन गर्दा चार विदेशी खेलाडी मात्रै खेलायौँ । कप्तान विष्टले रातो कार्ड पाउँदा झनै गाह्रो भयो । एनएसएलको खेलतालिका गाह्रो छ । यसपछि बलियो धनगढीसँग खेल्नुपर्नेछ । यद्यपि, धनगढीसँगको खेल सहज हुन सक्छ । एनएसएलमा नेपाली गोलरक्षकलाई प्राथमिकतामा राखिएको पाइएन ।
१ अंकमा खुसी छैन : प्रवेश कटवाल, प्रशिक्षक, झापा एफसी
बुटवल लुम्बिनीविरुद्ध बराबरी खेल्दै १ अंक जोडेका छौँ । यो प्रदर्शनबाट खुसी छैन । हामी यहाँ जित्नका लागि आएका थियौँ । प्रतिस्पर्धामा अवसर पायौँ, तर विपक्षी गोलरक्षकले राम्रो खेले । दोस्रो हाफमा पनि सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ । प्रतियोगितामा सबै टिम उस्तै छन् । बुटवल १० खेलाडीमा हुँदा राम्रो खेल्न भनेको थियौँ । खेलाडीले आत्तिएर राम्रो खेलेनन् । ऋतिक खड्कालाई अस्ट्रेलियामा राम्रो खेलेपछि टिममा बोलाइएको हो ।