
त्रिविका उपकुलपतिले अचानक राजीनामा दिएको विषयलाई कसरी लिनुभएको छ ?
उहाँको राजीनामाको विषय अप्रत्यासित छ । मलाई त लाग्छ, उहाँले राजीनामा दिनुभएकै छैन । किनकि, त्रिविका उपकुलपतिले राजीनामा दिएको विषयबारे औपचारिक रूपमा शिक्षामन्त्रीलाई समेत थाहा छैन । रेक्टर र रजिस्ट्रारलाई पत्तो छैन । कम्तीमा उहाँले राजीनामा दिने नै भए त्यस अवस्थामा आइपुग्नुको कारण बताएर दिएको भए उत्तम हुन्थ्यो । उहाँले राजीनामा दिनुको विषय उहाँको आंकाक्षा र उद्देश्यसँग पनि निहित हुन सक्छ । उहाँ के अपेक्षा राखेर भिसी भएर आउनुभयो ? परिणाम के भयो ? काम गर्ने वातावरण कस्तो थियो ? पछिल्लो समय केके घटना भए ? यस्ता प्रश्नको उत्तर समय क्रममा खोजिनुपर्छ । त्रिवि उहाँले सोचेको, बुझेको र जानेको भन्दा फरक भएर पनि राजीनामा दिनुभएको हुन सक्छ । वा कुनै दबाब पनि हुन सक्छ ।
त्रिविजस्तो प्राज्ञिक क्षेत्रमा यसको असर कस्तो पर्न सक्छ ?
त्रिविको इतिहास हेर्दा आजसम्मका भिसीमध्ये धेरैजसोले बीचमै राजीनामा दिएको रेकर्ड छ । चारवर्र्षे पुरा कार्यकाल बसेको भिसी कमै हुनुहुन्छ । त्यसले पनि के देखाउँछ भने त्रिविमा भिसी टिक्ने वातावरण छैन । पूरा कार्यकालभरि काम गर्न कठिन छ । प्राडा. बरालले पनि आश्चर्य पार्नेगरी राजनीनामा दिनुभएको छ । पाँच लाख विद्यार्थी र १५ हजार कर्मचारी तथा प्राध्यापक भएको विश्वविद्यालयमा भिसीले यसरी सुटुक्क राजीनामा दिनु राम्रो होइन ।
त्रिविमा भिसी टिक्न नसक्नुको कारण के हो ?
राजनीतिक गोलचक्करका कारण त्रिविले क्षति व्यहोर्नु राम्रो होइन । भिसीलाई पूरा कार्यकाल काम गर्ने वातावरण दिनुपर्छ । भिसीमा स्वयंमा पनि जे परे पनि व्यहोर्न सक्छु भन्ने दृढता चाहिन्छ ।