
शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीहरूको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई तीन दिनसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । फरार रहेका प्रसाईं भने सामाजिक सञ्जालमा सक्रिय छन् । शुक्रबार आन्दोलनबाट निस्किएर ललितपुरको इमाडोल पुगेका प्रसाईं त्यहाँबाट भूमिगत भएका थिए ।
शुक्रबार साँझदेखि प्रहरीका विशेष टोलीहरू परिचालित भए पनि उनलाई पक्राउ गर्न सकेको छैन । सामाजिक सञ्जालमा सो घटनाको दोष सरकारलाई नै दिइरहेका छन् । आइतबार सामाजिक सञ्जाल फेबसुकमा भिडियो पोस्ट गर्दै उनले आफू काठमाडौंकै एक मन्दिरमा बसेको बताए । आफूलाई भेटेलगत्तै गोली हान्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएकाले सुरक्षाका लागि लुक्नुपरेको उनको दाबी छ ।
सामाजिक सञ्जालका आधारमा प्रहरीले उनलाई ‘ट्रयाक’ गर्न सकेको छैन । ‘फेसबुक ट्रयाक गर्न मेटा कम्पनीले नै सघाउनुपर्ने हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘तर, हाम्रो देशमा उनीहरूको कार्यालय नभएकाले उनीहरूले हत्तपत्त विवरण दिँदैनन्, त्यही कारण उनलाई पक्राउ गर्न गाह्रो भइरहेको छ ।’
आन्दोलतका दिनमा पनि उनले आफैँ गाडी चलाएर प्रहरीलाई समेत धकल्दै निषेधित क्षेत्र तोड्नुका साथै आन्दोलनकारीलाई उत्तेजित बनाएका थिए । उनले योजनाबद्ध रूपमा आन्दोलनलाई हिंसात्मक बनाएको प्रहरीको दाबी छ ।