मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
टेकराज थामी काठमाडाैं
२o८१ चैत १८ सोमबार o७:५o:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा नेता मिश्र र राणाविरुद्ध राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवमा अनुसन्धान हुँदै

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार o७:५o:oo
  • १५ चैतमा तीनकुनेमा भएको तोडफोड, व्यक्ति हत्या, लुटपाट र आगजनी गरेको अभियोगमा पक्राउ परेका मिश्र र राणालाई पाँच दिन हिरासतमै राख्न अदालतको अनुमति, कसुर प्रमाणित भए कम्तीमा साढे सात वर्ष कैद र ७५ हजारसम्म जरिवाना हुन सक्ने 

राजावादीहरूको आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र अराजकतापछि शुक्रबार राति पक्राउ परेका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनाविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कसुर प्रमाणित भए  मिश्र र राणालाई कम्तीमा साढे सात वर्ष कैद र ७५ हजारसम्म जरिवाना हुन सक्नेछ । 

अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ । मंगलबारसम्म उनीहरू हिरासतमै रहनेछन् । गत १५ चैतमा तीनकुनेमा भएको तोडफोड, व्यक्ति हत्या, लुटपाट र आगजनी गरेको अभियोगमा मिश्र र राणा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार ११ जनाविरुद्ध राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा म्याद थप भएको हो । ‘मिश्र र राणासहित ११ जनाविरुद्ध राज्यविरुद्धको अपराध र संगठित गरी दुई कसुरमा म्याद थप भएको छ । उनीलाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको छ,’ उनले भने । 

मुलुकी अपराध संहिता ऐन, ०७४  भाग २ को फौजदारी कसुर परिच्छेद १ मा राज्यविरुद्धको कसुरलाई व्याख्या गरिएको छ । उक्त ऐनको दफा ४९ मको उपदफा ४ मा सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा प्रादेशिक अखण्डता, राष्ट्रिय वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा संघीय इकाइबिचको सुसम्बन्ध खलल पारिए राज्यविरुद्धको अपराध ठहरिन्छ । उक्त ऐनमा भनिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा संघीय इकाइबिचको सुसम्बन्ध खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षड्यन्त्र गर्न वा विभिन्न जात वा सम्प्रदायबिचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन ।’ यदि कसैले ऐन उल्लंघन गरे कसुरदारलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ । 

मिश्र र राणासहित ११ जनाले ऐनमा व्यवस्था भएकामध्ये घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने खालका गतिविधि गरेको प्रहरीको दाबी छ । यदि उक्त कसुरमा प्रमाणित भए मिश्र र राणासहित ११ जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनेछ । उनीहरूविरुद्ध संगठित अपराध पनि लगाइएको हुँदा उक्त दफामा व्यवस्था गरिएकोबाहेक आधा सजाय थप हुनेछ । 

त्यसो हुँदा कसुर प्रमाणित भए उनीहरूविरुद्ध कम्तीमा साढे सात वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना हुनेछ ।  

मिश्र र राणासहित ११ लाई आपराधिक उपद्रव अपराधको कसुरमा अनुसन्धान अघि बढेको छ । पक्राउ परेकाहरूविरुद्धको कसुर प्रमाणित भए कसुरदारविरुद्ध ५ वर्षदेखि जन्मकैदसम्म हुन सक्नेछ । मुलुकी फौजदारी संहिता ऐन, ०७४ दफा २८५ मा उपदफा ३ (क) मा सिक्का टकमारी गर्ने टक्सार, कारखाना, बैंक नोट छाप्ने वा थुपार्ने नेपाल राष्ट्र बैंकको गोदाममा आगो लगाए आपराधिक उपद्रव गरेको ठहर हुनेछ । त्यस्ता गर्नेविरुद्ध जन्मकैद र बिगोबमोजिमको जरिवाना हुनेछ । सोही उपदफाको (घ)मा कसैको घर, कार्यालय वा कुनै सम्पत्तिमा आगो लगाए पनि  आपराधिक उपद्रव मनिनेछ । त्यस्तो कसुरदारविरुद्ध २ देखि ५ वर्ष कैद र २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । 

प्रहरीका अनुसार पक्राउमध्ये ४१ जनाले सरकारी भवन तथा कारखानामा आगजनी गरेका छन् । निजी घरमा तोडफोडसहित आगो लगाएका छन् । उनीहरूविरुद्ध संगठित कसुरमा पनि मुद्दा लगाइएको हुँदा कसुर प्रमाणित भए दफामा व्यवस्था भएको सजायबाहेक आधा सजाय थप हुनेछ । त्यसो हुँदा उनीहरूविरुद्ध कम्तीमा ५ वर्षदेखि जन्मकैदसम्मको सजाय हुनेछ । 

पक्राउ परेकामध्ये ३० विरुद्ध भने आपराधिक उपद्रव र संगठित अपराधको कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढेको छ । उनीहरूविरुद्ध क्रमशः ४ र ५ दिनको म्याद थप भएको छ । कसुर प्रमाणित भए उनीहरूविरुद्ध पनि कम्तीमा ५ वर्षदेखि जन्मकैदसम्मको सजाय हुनेछ । राप्रपाले आफ्ना नेता पक्राउको विरुद्ध आइतबार साँझ देशव्यापी रूपमा मसाल जुलुस निकालेको छ ।

कोविरुद्ध कुन कसुर ? 

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध : रवीन्द्र मिश्र, धवलशमशेर राणा, पुष्कर खतिवडा, गोपाल मल्ल, मनिन्द्र राजभण्डारी, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली 

आपराधिक उपद्रव र संगठित अपराधको कसुर : देवबहादुर थापामगर, राज ठाकुर, प्रसिद्ध मल्ल, विकास ओली, सुदर्शन थापा, कुमार राई, भगवती रोक्का, नवीन ढकाल, आलोक पराजुली, इरफान खान, गणेशबहादुर गुरुङ, विवेक खनाल, उपेन्द्र साह, कृष्णकुमार बस्नेत, जीवन पुरी, गणेश प्याकुरेल, सरुना थापा, श्रवण लामा, स्टन लामा, सशिला कुमाल, निर्मला कार्की, एलिसा राई, भवीन्द्र बिसी, आशिष तामाङ, लीला राणा, चित्रमाया बस्नेत, सस्मिता बराल, निराजन गिरी, प्रेम बहादुर, मनीषकुमार शाही

राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व गुरुङले गर्ने 
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व हेरफेर भएको छ । संयोजक नवराज सुवेदीले नेतृत्व हेरफेर भएको जनाउँदै आइतबारबाट कार्यवाहक संयोजकका रूपमा संस्कृतिविद् जगमान गुरुङले नेतृत्व गर्ने जानकारी गराएका छन् । आफू निवासमै नजरबन्दमा परेकाले राजसंस्था पुनर्स्थापनाका लागि सञ्चालित आन्दोलनको संयोजक फेर्नुपरेको उनले विज्ञप्तिमार्फत जनाएका छन् । उनले आन्दोलन जारी राख्न सबैलाई आह्वानसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय दुर्गा प्रसाईं किन परेनन् पक्राउ ? 
शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीहरूको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई तीन दिनसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । फरार रहेका प्रसाईं भने सामाजिक सञ्जालमा सक्रिय छन् । शुक्रबार आन्दोलनबाट निस्किएर ललितपुरको इमाडोल पुगेका प्रसाईं त्यहाँबाट भूमिगत भएका थिए ।

शुक्रबार साँझदेखि प्रहरीका विशेष टोलीहरू परिचालित भए पनि उनलाई पक्राउ गर्न सकेको छैन । सामाजिक सञ्जालमा सो घटनाको दोष सरकारलाई नै दिइरहेका छन् । आइतबार सामाजिक सञ्जाल फेबसुकमा भिडियो पोस्ट गर्दै उनले आफू काठमाडौंकै एक मन्दिरमा बसेको बताए । आफूलाई भेटेलगत्तै गोली हान्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएकाले सुरक्षाका लागि लुक्नुपरेको उनको दाबी छ । 

सामाजिक सञ्जालका आधारमा प्रहरीले उनलाई ‘ट्रयाक’ गर्न सकेको छैन । ‘फेसबुक ट्रयाक गर्न मेटा कम्पनीले नै सघाउनुपर्ने हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘तर, हाम्रो देशमा उनीहरूको कार्यालय नभएकाले उनीहरूले हत्तपत्त विवरण दिँदैनन्, त्यही कारण उनलाई पक्राउ गर्न गाह्रो भइरहेको छ ।’

आन्दोलतका दिनमा पनि उनले आफैँ गाडी चलाएर प्रहरीलाई समेत धकल्दै निषेधित क्षेत्र तोड्नुका साथै आन्दोलनकारीलाई उत्तेजित बनाएका थिए । उनले योजनाबद्ध रूपमा आन्दोलनलाई हिंसात्मक बनाएको प्रहरीको दाबी छ ।